देउवाकाे गुनासाेः ‘राणाकी छोरीले तपाईहरुलाई पो थपि थपि खुवाउँछिन्, म त पूरै कन्ट्रालमा छु’
उनी जवाफ फर्काउथेः देशको नेता तिमीहरु बन, म सुदुरपश्चिमकै मात्र भएँ, के गर्नु ?
विपक्षी दलले अवरोध नगरे नेपालका ४० औं प्रधानमन्त्री आज बन्ने कांग्रेसका सभापति शेरबहादुर देउवाका रमाइला किस्साहरु यस्ता छन् ।
काँग्रेस महाधिवेशनको पूर्वसन्ध्यामा सभापतिका प्रत्याशी शेरबहादुर देउवाले देशका केही नामी सम्पादकलाई मद्यपानका लागि निमन्त्रणा गरे । निर्वाचनको मुखैमा बोलाइएका सम्पादकलाई लाग्योः देउवाले सहयोगका लागि याचना गर्नेछन् । तर, देउवाले त्यसो गरेनन् । बरु, निर्वाचनको बारेमा केही कुरा नगर्ने र जानिफकार जगतसँग टुच्च लगाएर मुड मात्र फ्रेस गर्न चाहेको बताए । मनोविज्ञानमा विद्याबारिधी श्रीमती आरजुले उनलाई साथ दिइरहेकी थिइन् । मिठो मुस्कानसहित उनी आमन्त्रित पत्रकारलाई प्याक सप्लाइ गर्दै थिइन् । थपुवाका लागि उनी आफैं भित्र जान्थिन् । बुढानिलकण्ठ दरबारमा आरजु सामान्य गृहणीझैं खटिएकी थिइन् ।
आरजुभित्र गएको मौका छोपी देउवाले छेवैमा बसेका पत्रकारको प्याक ताने र तन्तनी पिइदिए । धेरै चकित भए । अस्वभाविक कदमबारे देउवाले आफ्नो बाध्यता सुनाएः राणाकी छोरीले तपाईहरुलाई पो थपि थपि खुवाउँछे, मलाई त पूरै कन्ट्राले गरेकी छे ।
देउवाको सहज र सर्वसाधरणको जस्तो प्रस्तुतिले पत्रकारलाई थप रोमाञ्चित बनायो । चुनावको मुखमा बोलाएर चुनावको कुरै नगरी देउवाले पत्रकारको बसाइ टुंग्याइदिए । तर, अपनत्वको महशुश गराए ।
देउवा लामो गफ गर्दैनन् । उनलाई फ्याट्ट आफ्नो कुरा राख्न मन पर्छ । तर्कसर्क उनका लागि बेकारका गफ हुन् । यसबारे थरुहटका लागि आन्दोलन गर्ने थारु नेताहरु भुक्तभोगि छन् । रामजनम चौधरी, गोपाल दहितका नेताहरु कैलालीलाई थारुहरुको उल्लेख्य संख्या रहेको बर्दिया, बाँकेसहितको प्रदेशमा राख्नुपर्ने तर्कसहित देउवालाई भेट्ने गर्दथे । उनीहरु कैलाली किन थारुहरुका लागि महत्वपूर्ण छ र आफ्नो दाबी किन बैज्ञानिक छ भन्नेबारेमा अनेकौं तथ्य प्रस्तुत गर्दथे । इतिहासको अभिलेखदेखि वर्तमानको गणितसम्म औंल्याउँथे ।
थारु अगुवाहरुको अनुसन्धानात्मक विश्लेषणलाई देउवाले एकै वाक्यमा जवाफ दिन्थेः अरु सबै माग, दिनसक्छु, कैलाली सक्दिन । मलाई सुदुरपश्चिमकाले मार्छन । उनी किन कैलाली सुदुरपश्चिममा राख्नुपर्छ भन्ने बारेमा भीम रावलको शैलीमा तर्कसहित प्रस्तुत हुँदैनथे । देउवाको इमान्दारिताले थारु नेताहरुलाई हसाउँथ्यो । तैपनि उनीहरु भन्थेः तपाई देशकै नेता, सुदुरपश्चिमको मात्र सोच्नुभएन । देउवा जवाफ फर्काउथेः देशको नेता तिमीहरु बन, म सुदुरपश्चिमकै मात्र भएँ, के गर्नु ?
देउवा राजनीतिमा लिन र दिन जानेका पात्र हुन् । उनले आफैंले टाउकाको मूल्य तोकेका र आतंककारी दर्ज गरेका प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा काँध थापे । प्रचण्डकै काँधमा बसेर उनी प्रधानमन्त्री हुँदैछन् । उनलाई तिनै थारु नेताहरुले प्रधानमन्त्री बनाउँदैछन्, जसलाई राम्रोसँग थाहा छ कैलालीलाई थारु बहुल क्षेत्रबाट अलग गर्ने मुख्य पात्र देउवा हुन् । देउवा राजनीतिलाई राम्रोसँग बुझेका र राजनीतिलाई मोलमोलाइ गर्न माहिर पात्र हुन् । यो बुझ्नका लागि एउटा सन्दर्भ काफी छ ।
माओवादी शान्ति प्रक्रियामा आएसँगै सरकारमा जाँदै थियो । प्रचण्ड बाबुराम देश कसरी बनाउने बन्नेमा नेताहरुसँग विमर्श गर्थे । उनीहरुसँग कुरा गर्दा काँग्रेस, एमालेका नेताहरु समय गएको पत्तोसमेत पाउँदैनथे । तर, देउवासँगको संवाद प्रचण्ड र बाबुरामका लागि रोचक र नयाँ थियो । प्रचण्डले देशको आमुल परिवर्तनका लागि एजेण्डा पेश गर्न के थालेका थिए, देउवाले फ्याट्टै भनिदिए ‘यी एजेण्डा सेजेण्डा छोडिदिनु, कुन कुन मन्त्रालय खोज्नु भएको हो त्यो भन्नु ।’ प्रचण्ड कुम हल्लाउने गरी मस्किए । चियर्स गर्ने दुबैको बानीले संवाद खुल्न समय लागेन । शुरु शुरुका सर्बदलीय बैठकमा प्रचण्डसँग आफूलाई लागेको कुरा सिधा राख्ने नेता देउवामात्र रहेको जानकारहरु बताउँछन् ।
देउवा मनोविज्ञान बुझ्न सिपालु मानिन्छन् । व्यक्तिलाई चाहिएको दिएर प्रभावमा पार्ने उनको स्वभाव छ । उनीसँग टिम बन्नुको मुख्य कारण उनको खुलापन र ठूलो छाति हो । सुदुरपश्चिममा बोलिने भाषिका बोल्दै देउवाकोमा कोही पुगे उ रित्तो हात फर्कदैन भन्ने आम बुझाइ छ । स्नाकोत्तर तह अध्ययन गर्ने सूचना र प्रविधि विषयका विद्यार्थीले आइटी म्यागजिन निकाल्ने तयारी गरे । नेताहरुलाई भेट्ने क्रम चल्यो । सबैजसो नेताहरुले विद्यार्थीसँग आइटीको महत्वका बारेमा संवाद गरे । देउवाले त्यसो गरेनन् । के हो खाश कुरोे भन्दै भेट टुग्याँउन खोजे । विद्यार्थीले मुखामुख गरे । एक सदस्यले डोटेली भाषामा उद्देश्य राख्न थाले । देउवाको मुहार फेरियो । उनले ती बिद्यार्थीलाई बीचमै रोकेर आफ्ना सहयोगीलाई अह्राएः यिनीहरुलाई पाँच दश हजार दिएर पठाउनू ।
देउवा राजनीतिमा कोइराला परिवारको आर्शिवादले उदाएका हुन् । सुदुरपश्चिममा राजनीतिक अनुहार खोजिरहेका थिए विपीले । देउवा विपीको नजरमा परे । २०४६ सालको जनआन्दोलनका बेला बेलायतमा अध्ययन गरिरहेका देउवालाई गिरिजाप्रसादले बोलाएर राजनीतिको केन्द्रीय भूमिकामा राखे । आफ्नो मन्त्रिपरिषद्मा गृहमन्त्री बनाइदिए । २०५१ सालको मध्यावधि निर्वाचनमा नेपाली काँग्रेस एमालेभन्दा सानो बन्यो । बहुमतप्राप्त संसद भंग गरी निर्वाचन गराएर पार्टी दोस्रोमा सीमित भएपछि गिरिजाप्रसाद कोइरालालाई संसदीय दलको नेता बन्न नैतिक संकट पर्यो ।
दोस्रो दलको नेता प्रधानमन्त्री बन्ने अवश्था पनि थिएन । कृष्णप्रसाद भट्टराई संसदीय निर्वाचनमा पराजित भएकाले संसदीय दलको नेता को हुने भन्ने अन्यौल थियो । गिरिजाले अनिच्छा प्रकट गरेपछि पालो नयाँ पुस्तामा सर्दै थियो । रामचन्द्र पौडेल, शेरबहादुर देउवा र शैलजा आचार्यले चाहना व्यक्त गरे । गणेशमान सिंह, कोइराला र भट्टराईको चाहना सहमतिद्वारा दलको नेता छान्ने थियो । आचार्य र पौडेल सहमतिबाटै नेतृत्व चयन गर्नुपर्ने भन्दै पछि हटे । देउवाले प्रतिष्प्रर्धात्मक राजनीतिमा के को सहमति भन्दै उम्मेदवारी दिए, र बाजी मारे । कसैले नचिताउने शैलीमा देउवा कलिलो उमेरमै बुढोखाडो पार्टी काँग्रेसबाट प्रधानमन्त्री पड्काउन सफल भए ।
विपक्षी दलका नेतासमेत गिरिजाप्रसाद कोइरालाका सामू चूँ गर्न नसक्ने बेलामा देउवा गिरिजासँग टक्कर लिन कस्सिए । राजनीति सून्यमा पुग्न सक्ने चुनौतिका बीच देउवा मैदानमा टिकिरहे । कोइरालावृत्तबाट खेदिएका र चिडिएकालाई गोलबन्द गर्दै देउवा काँग्रेसको शक्तिकेन्द्र बने । उनलाई कृष्णप्रसाद भट्टराईले धाप मार्दै गए । राजा ज्ञानेन्द्रको साथ लिएर देउवाले संकटकाल लम्बाए । उनले काँग्रेस विभाजन गर्दै भिन्दै पार्टीसमेत बनाए । राजाको आश र भरमा पार्टीसमेत फुटाएका देउवालाई राजाले प्रधानमन्त्रीबाट अपदस्त गरे । तर, केही समयपछि उनैलाई प्रधानमन्त्री बनाए । देउवाले गोरखाली राजाले न्याय दिएको संक्षिप्त तर बडो अर्थपूर्ण जवाफ फर्काए । तर देउवा पुनः बर्खास्तीमा परे । त्यसपछि देउवा आफ्ना अभिभावक तथा राजनीतिक प्रतिद्वन्द्वी गिरिजाप्रसादसँग सहयात्रा गर्न पुगे । पार्टी एकता गरी निर्वाचित सभापति हुन सके ।
देउवालाई नेपालको राजनीतिमा सबै शक्तिले काँध थापेका छन् । राजा ज्ञानेन्द्रद्वारा प्रधानमन्त्रीमा पुर्नबहाली हुँदा एमालेले उनलाई साथ दिएको थियो । प्रतिगमन आधा सच्चिएको भन्दै एमाले सडकबाट सरकारमा पुगेको बहुचर्चित घटना थियो त्यो । महाकाली सन्धी देउवा प्रधानमन्त्री भएकै बेला भएको थियो । एमाले शुरुमा महाकाली सन्धीको विरोधमा थियो । रातारात एमालेका नेताहरु फेरिएका थिए । केपी ओलीलगायतका नेताहरुको दरिलो साथ लिएर देउवाले सो सन्धी गरेका थिए ।
नेपालको राजनीतिका लागि देउवा पूराना अनुहार हुन् । प्रजातन्त्रको पुर्नबहाली भएपछि सबैभन्दा धेरै प्रधानमन्त्री हुने जिवित पात्र यिनै हुन् । चौथो पटक प्रधानमन्त्री हुन लागेका देउवा सरकार बनाउन र टिकाउन अनेक क्रिया गर्न सक्ने नेता हुन् । सांसदलाई पजेरो किन्न छुट दिने देखि संसद किनबेच गर्ने सन्दर्भमा देउवा विवादित बनेका थिए । सांसदलाई सुविधादेखि सुरासुन्दरीसम्म उपलब्ध गराउने पात्रका रुपमा यिनको छबी धुमिल छ ।
सिंहदरबारको सिंहासन देउवाले पछिल्लो पटक धेरै लामो प्रतीक्षा पछि प्राप्त गर्दैछन् । तेस्रो पटक प्रधानमन्त्री भएको १२ बर्षपछि उनी प्रधानमन्त्री हुँदैछन् । उनी प्रधानमन्त्री हुँदै गर्दा राजनीतिमा जे पनि सम्भव भन्ने उखान चरितार्थ हुँदैछ । देउवालाई ४० बुँदे मागपत्र बझाएर माओवादीले २२ बर्ष अघि उसैका शब्दमा जनयुद्ध थालेको थियो । देउवाले १६ बर्ष अघि प्रचण्डलगायतका नेताहरुको टाउकाको मूल्य तोकेका थिए ।
अहिले प्रचण्डकै प्रस्तावमा प्रधानमन्त्री बन्दैछन् । यस पटक देउवाले खेल्ने भूमिकाले नेपालको राजनीतिलाई धेरै हदसम्म प्रभावित पार्नेछ । संघीय संविधानको कार्यान्वयन गर्ने अन्तिम अवसरका सामू मुलुक छ, र देउवा मुलुकको कमाण्डर बन्दै छन् ।