चुनावमा कसलाई हराउन नपाइने हो ? –केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुर महानगरपालिकामा सत्तपक्षले बल प्रयोग गरेर प्रायोजित ढंगले काम गरेको बताएका छन् ।
व्यवस्थापिका–संसद्को बैठकमा विशेष समय लिएर सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
“एक चौथाइ मत गणना बाँकी रहँदा एमाले मेयरका उमेदवार देवी ज्ञवालीले ७४४ मतको अग्रता कायम गर्नुभयो । त्यसबेला मतपत्र च्यातियो । त्यसको योजना कहाँ बन्यो, क–कसको संलग्नता रह्यो त्यहाँसम्म जान चाहन्नँ,” उनले भने, “तर त्यहाँ सत्तापक्षकै उमेदवार रेणु दाहालका प्रतिनिधिले उफ्रिएर गएर मतपत्र च्याते । उनीहरुलाई तत्काल प्रहरीले नियन्त्रणमा लियो तर मतगणना सुचारु भएन अत्यन्त प्रायोजित ढंगले अघि बढाउने काम भयो । पुनः मतदान गराउने प्रयास भए । त्यसले नभएको परिस्थिति उत्पन्न भयो भन्ने र केही मतपत्र च्यातिनेवित्तिकै मतगणना केन्द्र कब्जामा गयो भन्ने प्रायोजित कुरा गरियो । त्यो लोकतन्त्रका लागि अत्यन्त डरलाग्दो कुरा हो । सत्तापक्ष हार्न तयारै छैन । को उमेदवार भएको ठाउँमा हारजित हुन नपाइने हो । कसलाई हराउन नपाइने हो प्रतिपक्षलाई पनि बताइदिनुहोला । हामी पनि त्यहीअनुसार माइन्डमेकअप गथ्र्यौं । कसलाई हराउन हुँदैन, कसले हार्न हुँदैन हामीलाई पनि बताइदिनुहोला ।”
उनले त्यहाँ कब्जा नहुँदा पनि जबरजस्ती कब्जा भयो भन्ने पारिएको बताए ।
“मतपत्र कसले च्यात्यो ? सरकारले भनेको छ । सरकारले मुद्दा लगाएको छ । हामीले थाहा पाएको सरकारबाटै हो । सरकारपक्षकै मान्छेले मतपत्र च्यातेको छ,” उनले भने ।
उनले जिल्ला निर्वाचन अधिकृतले नै षडयन्त्र गरेको आरोप लगाए । “मतपत्र च्यातियो भने कानुनअनुसार उपचार हुन सक्थ्यो तर मुख्य निर्वाचन अधिकृतबाटै षडयन्त्र सुरु भएको देखिन्छ,” उनले भने,“घटनाक्रमको गलत मोड मुख्य निर्वाचन अधिकृतबाटै लिएको छ । उहाँले गलत मोडमा सुरुदेखि नै घटनालाई लैजान लागेको देखिन्छ ।”
उनले च्यातिएका मतपत्र एमालेकै भएको मान्छौं भन्दा पनि नभएको बताए ।
“च्यातिएका मतपत्र एमालेका भए पनि हामीले मान्छौं भनेर भन्यौं । कति कति मतपत्र बदर हुन्छन् तर गणना हुन्छ,” उनले भने, “आफु सत्तामा र सरकारमा सहभागी हुने मुख्य बाटो हो मतदान । जनताका फैसला के रहेछ भनेर प्रकट गर्ने कुरा हो । त्यस्तो मतदानलाई र त्यसको रक्षा गर्ने काम जसको हो उसैतिरबाट व्यवधान भएको छ । प्रतिनिधिले गरेको हो मैले गरेको छैन भन्न पाइँछ ? त्यसप्रति उत्तरदायि हुन पर्छ कि पर्दैन ?”
यो कुरा गर्दा सत्तापक्षका माननीयलाई हाँसो लाग्न सक्ने उनको भनाई थियो ।