राजनीति

देउवाले यसकारण हाने चौका, समकालिनले किन पाएनन् मौका !

देउवाले यसकारण हाने चौका, समकालिनले किन पाएनन् मौका !


नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा चौथो पटक प्रधानमन्त्री भएका छन् । अत्यन्त सुविधाजनक मतसहित देउवा प्रधानमन्त्री भएका हुन् । यसअघि ३ पटक प्रधानमन्त्री हुँदासमेत देउवाका लागि यति सहज वातावरण थिएन । देउवा २०५२, २०५८ र २०६१ सालमा देउवा प्रधानमन्त्री भएका थिए । २०५२ सालमा काँग्रेसको बहुमत थिएन । गठबन्धन सरकार संचालन गर्नु परेको थियो । पार्टीमा बरिष्ठ नेताहरु हुँदै गर्दा कनिष्ठ देउवाले बाजी मारेका थिए । सभापति गिरिजाप्रसाद कोइरालाका सामू मै हुँ भन्नेहरुसमेत आँखा जुँधाउन नसक्ने समयमा देउवाले सिंहदरबारको लगाम समातेका थिए ।

उनी प्रधानमन्त्री भएकै बेला माओवादीले सशस्त्र संघर्ष थालेको थियो । देउवा दोस्रो पटक प्रधानमन्त्री हुँदा माओवादी फैलिइसकेको थियो । होलेरी प्रकरणमा सेना परिचालन गर्न नपाएको झोकमा गिरिजाप्रसाद कोइरालाले राजीनामा दिएका थिए । त्यसपछि देउवा प्रधानमन्त्री बने । माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने देउवाको प्रयास सफल भएन । माओवादीले उनकै कार्यकालमा सेनामाथि आक्रमण थाल्यो । देशमा संकटकाल लाग्यो ।

आम निर्वाचन गर्न नसकेको आरोपमा देउवा राजा ज्ञानेन्द्रबाट अक्षम घोषणा गरिए । बर्खास्तीमा परे । केही समयपछि देउवा राजाबाटै पुनः प्रधानमन्त्री नियुक्त गरिए । एमाले प्रतिगमन आधा सच्चिएको भन्दै देउवा नेतृत्वको सरकारमा सहभागि भयो । फेरी देउवा बर्खास्त गरिए । माघ १९, २०६१ मा तत्कालीन राजाले प्रत्यक्ष शासन शुरु गरे ।

यतिन्जेल देउवाको राजनीतिक जीबनमा उथलपुथल आइसकेको थियो । राजाको भर परेरै उनले काँग्रेस फुटाएका थिए । गिरिजाप्रसादलाई टक्कर दिँदै काँग्रेस प्रजातान्त्रिक गठन गरेका थिए । निर्वाचन गरेर कोइराला नेतृत्वको काँग्रेसलाई पत्तासाफ पार्ने देउवाको अभिष्ट थियो । तर, राजाबाटै उनले धोका पाए । भ्रष्टाचारको अभियोगमा झण्डै झण्डै जलेसम्मको नियति भोग्नुपर्ने अवश्थामा देउवा पु¥याइए ।

कोइरालाले देउवालाई राजनीतिकरुपमा छोइछिटो गर्दै आएका थिए । आन्दोलनका कार्यक्रममा समेत सहभागी गराइदैनथ्यो । परिश्थिति फेरिन बेर लागेन । काँग्रेस प्रजातान्त्रिक पुनः काँग्रेसमा मिसियो । देउवा बरिष्ठ नेताको हैसियतमा काँग्रेसमा पुुर्नबहाली भए ।

देउवाभन्दा बरिष्ठ शैलजा आचार्य, समकालिन रामचन्द्र पौडेल, बलबहादुर केसी, खुमबहादुर खड्कालगायतका नेताहरु मूल पार्टीमा छँदै थिए । देउवा तीन पटक प्रधानमन्त्री भइसकेका थिए भने अन्य नेताहरुका लागि प्रधानमन्त्री बन्नु सपनाजस्तै थियो । जिवित समकालिनको हकमा अहिले पनि त्यस्तै छ ।

२०५१ सालको मध्यावधि निर्वाचनमा काँग्रेस दोस्रो भयो । बहुमत प्राप्त दललाई निर्वाचनमा धकलेर दोस्रो बनाएको आरोप कोइरालामाथि थियो । दोस्रो दलले प्रधानमन्त्री पाउने सम्भावना पनि थिएन । कृष्णप्रसाद भट्टराई संसद निर्वाचनमा पराजय बेहोरेका थिए । कोइरालालाई नैतिक संकट थियो । संसदीय दलको नेतृत्व दोस्रो पुस्तामा सर्ने देखियो । उम्मेदवारीको दिन तोकियो । शीर्ष नेताले सहमतिका आधारमा दल नेता तय गर्ने बताए । शैलजा आचार्य र रामचन्द्र पौडेलले शीर्ष नेताको निर्देशन पर्खी बसे । देउवाले दल नेताका लागि उम्मेदवारी दिए । राजनीतिमा देउवाले बाजी मारे । त्यसयता देउवा समकालिनभन्दा माथि उक्लिरहे ।

पहिलो संविधानसभामा काँग्रेस दोस्रो पार्टी थियो । देउवाको भूमिका काँग्रेसभित्र निर्णायक थिएन । सभापति सुशील कोइराला थिए । संसदीय दलको नेता रामचन्द्र पौडेल थिए । संविधानसभाको चार बर्षसम्म काँग्रेसले सरकारको नेतृत्व गरेन । यदि गरेको भए, पौडेल प्रधानमन्त्री हुन्थे । तर, उनका लागि मैदान बनाउन अरु काँग्रेसले चाहेनन, पौडेलको बलबुताले भ्याएन । १७ पटकसम्म उम्मेदवारी दोहोराएपनि पौडेलले प्रधानमन्त्री बन्ने मौका पाएनन् ।

दोस्रो संविधानसभाको निर्वाचनसँगै देउवाका लागि वातावरण सहज बन्यो । पार्टीमा उनी सभापतिका रुपमा सबैभन्दा अग्ला नेत ाबने । उनलाई टक्कर दिने अर्को कोही छैन । तरपनि उनका लागि प्रधानमन्त्रीको बाटो सहज थिएन ।

उनले राजनीतिक हिसाव निकाले । प्रचण्डलाई प्रधानमन्त्री पहिले दिए र, अहिले आफू बने । प्रधानमन्त्रीको उम्मेदवारी दिदा समर्थक आफ्नै समकालिन रामचन्द्र पौडेललाई बनाए । पौडेलका लागि सो क्षण कति भारपूर्ण थियो ? आंकलन सहजै गर्न सकिन्छ ।

देउवाभन्दा शीर्ष नेता शैलजा आचार्य दिवंगत भइसकेकी छिन् । चक्र बास्तोला हल न चलको अवश्थामा मृत्युसँग जुधिरहेका छन् । समकालिन रामचन्द्र पौडेल पार्टी पकडमा कमजोर देखिएका छन् । खुमबहादुर खड्का भ्रष्टाचारको आरोपमा जेल परेपछि खुम्चिन बाध्य छन् । बलबहादुर केसीलगायतका केही धेरै पछाडि परिसकेका छन् ।

देउवाका दुई सूत्रले काम गरेको देखिन्छ: जोखिम मोल्ने र राजनीतिमा अरुको पनि चित्त बुझाउने । गिरिजाप्रसादको एकछत्र राज रहेको पार्टीमा देउवा टिम बनाउन सफल भए । परिआए आफ्नाका लागि जेपनि गर्न तयार हुने देउवाको स्वभाव छ । कतिपय कुरामा उनी सहजै आँखा चिम्लिदिन्छन् । अर्को कारणपनि छ । उनी ठकूरी हुन् र उनको वैवाहिक सम्बन्ध राणा परिवारसँग छ । ठकुरी र राणाहरुको शक्तिशाली समुदायको साथ देउवाको राजनीतिका लागि वरदान सावित भएको छ । भलै, देउवा कसैको दयामायाले मात्र नेता भएका होइनन् । उनको क्षमता विपीले चिनेका थिए । समग्र पश्चिम नेपाललाई मूलधारको राजनीतिसँग जोड्ने हेतुले देउवालाई काँग्रेसमा अघि सारेका थिए । पढ्नका लागि बेलायत गएका देउवालाई बोलाएर गिरिजाप्रसादले गृहमन्त्री बनाएका थिए । कोइराला परिवारको राजनीतिक अभिभावकत्व पाएका देउवा कालान्तरमा कोइराला परिवारलाई टक्कर दिने राजनीतिक हस्ती बने ।

विशेष