राजनीति मुख्य समाचार

४० औं प्रधानमन्त्री बन्न लागेका देउवाका यी हुन् सारथी

४० औं प्रधानमन्त्री बन्न लागेका देउवाका यी हुन् सारथी


जेठ २३ । ४० औं प्रधानमन्त्रीमा निर्वाचित हुने पक्का भएका कांग्रेस सभापति शेरबहादुर देउवाले सानो संख्यामा छरितो मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेकाछन् ।

देउवाले आफू प्रधानमन्त्रीमा निर्वाचित भएपछि सपथ लिँदा आफ्ना समर्थनमा रहेका र सरकारमा जान इच्छुक दलबाट १० देखि ११ जनालाई समेटेर पहिलो चरणमा छरितो मन्त्रिमण्डल बनाउन लागेका हुन् ।

देउवाको नेतृत्वमा रहने मन्त्रमिण्डलमा पहिलो चरणमा कांग्रेसबाट थोरै संख्यामा मात्र मन्त्री बन्ने छन् । ज्ञानेन्द्रबहादुर कार्की, महेश आचार्य, गोपालमान श्रेष्ठ र फरमुल्लाह मन्सुर पहिलो चरणमा मन्त्री हुने सम्भावना रहेको स्रोतले बताएको छ । कार्की वा आचार्यमध्ये एकले अर्थ मन्त्रालयको जिम्मेवारी पाउने पक्का छ । यस्तै श्रेष्ठ र मन्सुरको मन्त्रालय कुन हुने भन्ने छलफल भइरहेको छ । श्रेष्ठलाई सम्मानजनक मन्त्रालय दिने पक्षमा देउवा देखिएका छन् । यस्तै वर्तमान मन्त्री परिषदमा रहेर सकरात्मक चर्चा कमाएका केही मन्त्रीलाई समेत कांग्रेसले सरकारमा सहभागी गराउने बुझिएको छ । यसरी दोहोरिने सम्भावना भएकामा रमेश लेखक र गगन थापाको चर्चा छ । तर पहिलो चरणमा नभएर दोस्रो चरणमा मात्र देउवाले उनीहरुलाई मन्त्री बनाउन चाहेका छन् । मीन विश्वकर्मा र भीमसेनदास प्रधानको नाम पनि कांग्रेसबाट मन्त्रीको सूचीमा रहेको उच्च स्रोतले जानकारी दियो ।

यस्तै डीना उपाध्याय, अम्बिका बस्नेत र किरण यादवको नाम समेत चर्चामा छ । २०६४ सालमै काठमाडौंमा चुनाव जितेका ध्यानगोविन्द रञ्जित पनि मन्त्री हुने सम्भावना रहेको छ । सुदूरपश्चिमबाट वीरबहादुर बलायर र बहादुरसिंह थापामध्ये एकजनाले अवसर पाउने बताइन्छ । लुम्बिनी क्षेत्रबाट भरत शाह, चन्द्र भण्डारीको सम्भावना छ भने ध्रुव वाग्लेदेखि भीष्मराज आङदेम्वे, डिकबहादुर लिम्बू र मोहनबहादुर बस्नेत पनि मन्त्रीका लागि चर्चामा छन् । वर्तमान सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रबाट पहिलो चरणको मन्त्री मण्डल विस्तारमा को–को जाने भन्ने सोमबार अबेर रातीसम्म निर्णय गरेको छैन । माओवादीबाट पहिलो चरणको मन्त्रीमण्डल विस्तारमा अहिले उपप्रधान तथा अर्थमन्त्री रहेका कृष्णबहादुर महरा र उर्जामन्त्री रहेका जनार्दनलाई पठाउने गृहकार्य रहेको स्रोत बताउँछ ।

दुवैले गृह मन्त्रालय रोजेकाले कसलाई कुन मन्त्रालयमा पठाउने भन्ने औपचारिक निर्णय भने भएको छैन । माओवादी उच्चस्रोतका अनुसार पार्टीमा नेतृत्व गरेर महरा परराष्ट्रमा जाने र गृहमा शर्मालाई पठाउन सक्ने सम्भावना बढी रहेको छ । माओवादीबाट दोस्रो चरणमा प्रभु साह, गिरिराजमणि पोखरेल, रेखा शर्मा, रामनारायण बिडारी, टेकबहादुर बस्नेत सीता नेपाली जाने चर्चा छ । केपी ओली नेतृत्व सरकारको पालामा सरकारमा सहभागी शक्ति बस्नेत, हरिबोल गजुरेल र अग्नि सापकोटाले पनि आकांक्षा राखेका छन् ।

फोरम लोकतान्त्रिक समेत पहिलो चरणमा नै सरकारमा जाने भएको छ । विजयकुमार गच्छदार आफैं नेतृत्व लिएर हाल सम्हालिरहेकै मन्त्रालय लिने गरी सरकारमा सहभागी हुने लगभग निश्चित भएको स्रोतले बतायो । राप्रपाले भने सरकारलाई समर्थन गर्ने तर सरकारमा जाने नजाने बारे छलफल भइरहेको बताएको छ ।

 

विशेष