राजनीति

कांग्रेसलाई ११, माओवादीलाई ९ मन्त्रालय, कसको भागमा कुन ?

कांग्रेसलाई ११, माओवादीलाई ९ मन्त्रालय, कसको भागमा कुन ?

जेठ २५ । सत्तागठबन्धन दुई दल कांग्रेस–माओवादीले ११ र ९ मन्त्रालय लिने गरी भागबन्डामा लगभग सहमति भएको छ ।

गठबन्धनमा सहभागी लोकतान्त्रिक फोरम, राप्रपा, नेकपा संयुक्तलगायतका साना दललाई भने बाँकी मन्त्रालय दिने सहमति दुई दलबीच छ । 

मन्त्रालय भागबन्डाको टुंगो लगाउन कांग्रेसबाट विमलेन्द्र निधि, रमेश लेखक र माओवादी केन्द्रबाट कृष्णबहादुर महरा, वर्षमान पुन र जनार्दन शर्माले गृहकार्य गरिरहेका छन्। गृहमन्त्री जनार्दन शर्माले ऊर्जा माओवादी, भौतिक पूर्वाधार तथा यातायात र सूचना तथा सञ्चार कांग्रेसले लिने विषयमा दुई दल सहमतिनजिक पुगेको जानकारी दिए ।

‘कांग्रेसलाई ११, माओवादीलाई ९ र बाँकी अन्य दललाई दिने गरी मन्त्रालय भागबन्डामा छलफल छ,’ शर्माले भने, ‘भौतिक र ऊर्जा दुई दलले बाँडेर लिने करिब सहमति छ । भौतिक कांग्रेस र ऊर्जा माओवादीको भागमा पर्ने सम्भावना छ ।’ कांग्रेस–माओवादीबीच ६ मन्त्रालयको भागबन्डा टुंगिएर मन्त्रीसमेत नियुक्त भएका छन् ।

कांग्रेसले अर्थ, शिक्षा र श्रम तथा माओवादी केन्द्रले परराष्ट्र, गृह, लोकतान्त्रिक फोरमले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारी पाइसकेका छन् । माओवादी कोटाका मन्त्री प्रभु साहको मन्त्रालय टुंगो नलाग्दा उनले विनाविभागीयमन्त्रीका रूपमा सपथ लिएका छन् । लोकतान्त्रिक फोरम र राप्रपालाई यसअघिको सरकारमा सम्हाल्दै आएका मन्त्रालयको जिम्मेवारी दिने गरी प्रधानमन्त्रीले छलफल चलाएका छन् ।

राप्रपा र राजपा सरकारमा आउने–नआउने टुंगो लागेपछि कांग्रेस र माओवादी केन्द्रले लिने मन्त्रालयको संख्या थपघट गर्न सकिने विकल्प दुई दलले खुला राखेका छन्। राप्रपामा सरकारमा जाने विषयमा विवाद छ भने राजपाले पनि संविधान संशोधनअघि सरकारमा जाने–नजानेबारे निर्णय गरेको छैन ।

मन्त्रालय भागबन्डाको विषय बिहीबार टुंग्याउने दुवै दलको तयारी छ। शिक्षा र स्वाथ्य, भौतिक र ऊर्जा, कानुन र सामान्य प्रशासन, वाणिज्य र आपूर्तिजस्ता मन्त्रालय एक–एक गरी भागबन्डा लगाउनेमा दुई दलबीच छलफल चलेको छ ।

शिक्षा कांग्रेसले लिएकाले स्वास्थ्यमा माओवादीको दाबी छ । वाणिज्य कांग्रेस र आपूर्ति माओवादीले लिने गरी छलफल चलिरहेको स्रोतको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बुधबार मन्त्रालय भागबन्डा, सरकार सञ्चालन र स्थानीय तहको दोस्रो निर्वाचन गराउने विषयमा छलफल भएको छ ।

शपथग्रहण, पदभार ग्रहण, मन्त्रिपरिषद् बैठक सकेर प्रधानमन्त्री देउवा प्रचण्डलाई भेट्न उनकै निजी निवास लाजिम्पाट पुगेका थिए ।

विशेष