मधेसमा मात्रै किन ? तह नै थप्ने हो भने डोल्पामा पनि थप्नु पर्ला कि ! (भिडियोसहित)
धेरै देशले मान्छे नबस्ने भूगोलको सुरक्षामा अर्बौं डलर खर्च गर्छन्, यहाँ चाहिँ जनसंख्या मात्रै आधार ?
डा.सुनीलकुमार पोख्रेल जातीय पहिचान र स्रोत व्यवस्थापनका विज्ञ हुन् । नेपालमा जातीय पहिचान, स्रोत व्यवस्थापन र स्थानीय चुनावले यसमा ल्याउन सक्ने आधारभूत परिवर्तन तथा प्रभाव, जातीय द्वन्द्व, सिमांकन सुरक्षा र अन्य विविध विषयमा डा. पोख्रेलले नेपाल आजसँग गहन कुराकानी गरेका छन् ।
कुराकानीको क्रममा पोखरेलले यतिबेला विवाद भइरहेको स्थानीय तह थप्ने विषयलाई बढी केन्द्रित गरेका छन् । मधेसमा बढी जनसंख्या भएकाले त्यो जनसंख्यालाई मात्र आधार बनाएर स्थानीय तह थप्नु पर्ने भन्ने मागमा अलमल हट्न नसकेको स्थिति रहेको उनले बताए । उनका अनुसार राजनीतिक पार्टीले ल्याएको भोट र जनसंख्याको आधारमामात्र विकासको संरचना गरियोस् भन्ने बुझाइ गलत छ । संसारमा भूगोललाई छाडेर जनसंख्यालाई मात्रै आधार बनाउन सकिन्न । किनभने भूगोल हरेक राष्ट्रका लागि महत्वपूर्ण हुन्छ ।
जनसंख्याको आधारमा मात्र देश नबन्ने उनको तर्क छ । ‘कतिपय देशमा यस्ता ठाउँहरु छन् जहाँ जनसंख्या छैन । जस्तै, चीन र भारतको कतिपय बोर्डर हिमालय क्षेत्रमा पर्छ जहाँ मानिसको बस्ती छैन । तर पनि त्यहाँका राज्यले सुरक्षाको लागि करोडौँ रुपैयाँ खर्च गरेका छन् ।’ उनी थप्छन्, ‘मानिसको सुरक्षाको लागि होइन, भूगोलको सुरक्षाको लागि । तर, नेपालमा सिमांकनको विषयमा राज्यले उति चासो देखाएको छैन । यो अत्यन्तै दुःखद छ ।’
हाल स्थानीय तह निकाय थप्ने आधारहरुको सम्बन्धमा डा. पोख्रेल असन्तुष्ट छन् । उनले भने, ‘नेपालको सन्दर्भमा हेर्दा स्थानीय तह विकासका लागि नभएर राजनीतिक आधारमा निर्धारण गरिएको छ । जनसंख्याको हिसाबले स्थानीय तह वृद्धि गर्दा बढि पैसा आउँछ ।’ पहिलो झन्डै तीन हजार गाविस घटाएर अहिले साढे सातसय जति गाउँपालिका बनाइएका छन् । यी तहहरुलाई धेरै अधिकार दिइएको छ । सिंहदरबारको अधिकार गाउँमा पुगेको उनको ठहर छ ।
मधेसमा स्थानीत तह थप्ने कुरा गरिरहँदा डोल्पाका मानिस पनि नेपाली नै भएको र त्यहाँका मानिसहरुका लागि पनि राज्य व्यवस्था सुनिश्चित गरिदिनुपर्ने उनले बताएका छन् । उनीसँग गरिएका अन्तर्वाता तलको लिंकमा हेर्न सकिन्छ ।