“म राजाबादी होईन, तर महेन्द्रको राष्ट्रवाद मलाई मन पर्छ” : डा. देवकोटा (भिडियोसहित)
डा. उपेन्द्र देवकोटा, बरिष्ठ न्यूरोसर्जन, पूर्व स्वास्थ्यमन्त्री
बरिष्ठ न्यूरोसर्जन डा. उपेन्द्र देवकोटा ओपिडीमा बिरामी जाँचिसकेर हँसिलो मुद्रामा आफ्नो कार्यकक्षमा दाखिला भए । अन्तरवार्ताका लागि क्यामेरा सोझ्याएर हामी पहिल्यै त्यहाँ तैनाथ थियौं । क्यामेरालाई एकैछिन पजमा राख्न लगाएर केहीबेर उनी समसामयिक विषयहरुमाथि चर्चा छेड्न थाले ।
बर्तमान सरकारका बारेमा उनको कडा टिप्पणी थियो, “यो राष्ट्रियता नै खल्बल्याउने गरी गरिएको सत्ता परिवर्तन हो । जो खतरनाक मात्रै होईन, घातक पनि छ ।”
गोर्खाको अमर ज्योति जनता हाइ स्कूलमा डा. बाबुराम भट्टराईका सहपाठी डा. देवकोटा बर्तमान सत्ता गठबन्धनसँग मात्रै होईन, सम्पूर्ण गणतान्त्रिक परिवर्तनहरुसँगै असन्तुष्टि ब्यक्त गरिरहेका थिए । मुलुक राजनीतिक रुपमा स्किजोफे्रनिक मात्रै होईन, मेगालोमेनियाग्रस्त भएको उनको डायग्नोसिस् थियो ।
न्यूरो हस्पिटलका संस्थापक उनले भन्न भ्याए, “नेपालमा अन्य ब्यवस्थाहरु तुहिए जस्तै गणतन्त्र पनि अवश्य तुहिनेछ । नेपाल जस्तो देशमा भारतीय संविधानको फोटोकपी लादेर नेताहरुले गर्न खोजेको काम जनताको सर्वोपरी हित बिपरित त छ नै, घातक पनि छ ।”
सन् १९७८ मा भारतको डिब्रुगढ युनिभर्सिटी अन्तर्गत आसाम मेडिकल कलेजबाट मेडिसिन र सर्जरीमा एमबिबिएस गरेपश्चात बेलायतको एटकिन्सन मोर्लि हस्पिटलमा न्यूरोसर्जरीमा बिशिष्टता हासिल गरेका डा. देबकोटाले सन् १९८९ मा स्वदेश फर्किएर नेपालमा नै पहिलो पटक वीर अस्पतालमा न्यूरोसर्जरी ट्रमा युनिटको स्थापना गरेका थिए ।
पूर्वराजा ज्ञानेन्द्रको मन्त्रिपरिषदमा स्वास्थ्य मन्त्रीको हैसियतले सामेल हुँदा निकै आलोचना खेपेका डा. देवकोटाले एक कप चिया पिएर आफूलाई रिफ्रेश गरेपछि अन्तरवार्ताका क्रममा भने, “म राजाबादी होईन । तर महेन्द्रको राष्ट्रवाद मलाई मन पर्छ ।”
गोर्खामा जन्मिएका ६३ वर्षीय उनी राजनीतिमा चासो राख्ने खरो र स्पष्ट वक्ताकाे रुपमा चिनिन्छन् । देशको अस्थिर राजनीति, मौलाइरहेको भ्रष्टाचार, अकर्मण्यता, कालोबजारी जस्ता कुराले अन्त्यतः देश खोक्रिसकेको उनको निष्कर्ष थियो । नेताहरु मुलुकका यस्ता जल्दाबल्दा समस्याहरुलाई समाधान गर्न छाडेर सत्ताको भागबण्डा र लुछाचुँडीमा लाग्नुले देशमा खतराको घण्टी बजेको चेतावनी समेत उनले दिए ।
भारतको नेपालमाथिको इन्टे्रस्ट मधेसको नाउँमा पानी भएको ठहर गर्दै उनी भन्छन्, “भबिष्यमा हाइड्रोपावर भन्दा पनि प्यूँने पानीको हाहाकार हुने हुँदा भारत मधेसमार्फत नेपालका पहाड र हिमालसम्म कब्जा जमाउन चाहन्छ । यसैले ऊ हाम्रो देशमाथी गिद्दे नजर लगाउन छोड्दैन । र, नेपालमा भारतसँग आँखा जुधाएर निडर कुरा राख्न सक्ने नेतै छैनन् । जे छन्, उसैका गुलाम छन् ।”
भारत ब्रिटिसकाे उपनिवेशबाट आजाद भए पनि साठी वर्षसम्म आइ कांग्रेसको गुलामीमा फँसेको र हाल त्योबाट बिस्तारै निस्कदैं गरेको चर्चा गर्दै डा. देवकोटाले भने , “त्यसलाई (आइ कांग्रेस) म काला ब्रिटिसहरूकाे शासन भन्न मन पराउँछु । जसले हाम्रो मुलुकलाई पनि संक्रमित तुल्याएको छ ।”