राजनीति

एउटै चुनाव चिह्नमा लडेका चार पार्टीलाई हराउँदै एमाले विजयी

एउटै चुनाव चिह्नमा लडेका चार पार्टीलाई हराउँदै एमाले विजयी

 

असार - १७ । खाेटाङको रुपाकोट मझुवागढी नगरपालिका–८, दोर्पाचिउरी डाँडामा गठबन्धनका साथ एउटै चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिएका नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), सङ्घीय समाजवादी पार्टी फोरम र नयाँ शक्ति पार्टी नेपाललाई नेकपा (एमाले)ले पराजित गरेको छ । तालमेल गरेर एउटै चुनाव चिह्न लिई चुनावी मैदानमा उत्रिएका चार पार्टीको संयुक्त समूहलाई एमालेका लीलाकुमार चौहानको एक्लो प्यानलले पराजित गरेको हो । 

मत परिणामअनुसार एमालेका उम्मेदवार चौहान रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरी डाँडाको वडाध्यक्षमा निर्वाचित भए । चार दल एकातिर लाग्दा पनि सो वडामा एमालेका चौहान, बलिरत्न राई, हरि चाम्लिङ, दिलशोभा राई र मसिनी दाहाल सार्कीको समूह विजयी भएको हो । सो वडामा काँग्रेस, माओवादी केन्द्र, सङ्घीय समाजवादी र नयाँ शक्ति काँग्रेसको चुनाव चिह्न रुखबाट चुनाव लडेको थियो । 

माओवादी केन्द्र, सङ्घीय समाजवादी र नयाँ शक्तिले फरक पार्टीको चुनाव चिह्न देखाएर चुनावमा होमिएको विषयलाई चासोका साथ हेरिएको थियो । उम्मेदवार चौहानको घरमा असार ६ गते राति सुतली बम विस्फोट गराइएको थियो । विस्फोटमा चौहानकी बुहारी घाइते भएका थिए । उम्मेदवारको घरमा बम विस्फोट भएपछि जिल्लावासीमा ध्यान झनै चिउरीडाँडामा तानिएको थियो । 

केपिलासगढी गापा प्रमुख र उपप्रमुखमा एमाले विजयी 

केपिलासगढी गाउँपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । एमालेको तर्फबाट प्रमुखका उम्मेदवार कृष्णकुमार राईले एक हजार ८०६ र उपप्रमुख पदमा उम्मेदवार बन्नुभएकी कृष्णकुमारी वनले एक हजार ७७४ मत प्राप्त गरी विजयी भएका हुन् । 

राईको प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार समीर राईले एक हजार ५११ मत प्राप्त गरेका थिए । एक हजार ३६६ मत प्राप्त गर्नुभएका माओवादी केन्द्रका उपप्रमुख रुद्रकुमार राईलाई पछि पार्दै वन उपप्रमुखमा निर्वाचित भएका हुन् । 

सात वडा रहेको उक्त गाउँपालिकाको वडाध्यक्षमा वडा नं १ मा एमालेका वीरबहादुर तामाङ, २ मा काँग्रेसका बलिराज राई, ३ मा एमालेका खगेन्द्र गुरुङ, ४ मा काँग्रेसका गणेश अधिकारी, ५ मा एमालेका खगेन्द्र राई, ६ मा एमालेका अशोककुमार राई र ७ मा माओवादी केन्द्रका तेजकुमार राई विजयी भएका छन् । उक्त गाउँपालिकामा काँग्रेस, एमाले, माओवादी केन्द्र र सङ्घीय समाजवादी पार्टीले प्रतिस्पर्धा गरेको थियो । 

विशेष