विचित्र विश्व

पत्नीलाई जुवामा दाउ ! जित्नेले घरैमा गरे बलात्कार

पत्नीलाई जुवामा दाउ ! जित्नेले घरैमा गरे बलात्कार


असार २९ । भारतमा एउटा अनौठो घटना बाहिर आएको छ । जुवामा नगद गुमाइसकेका एकजनाले पत्नीलाई नै दाउमा राखेर जुवा खेलेको र जित्ने कथित दुई जनाले घर मै गएर महिलालाई सामूहिक बलात्कार गरेको घटना बाहिर आएको हो ।

इन्दौरको राउ निवासी ३८ वर्षीया महिलाले हालै प्रहरीको सार्वजनिक सुनुवाई कार्यक्रममा आफ्नो पीडा सार्वजनिक गरेकी हुन् । १४ वर्षअघि पीथमपुर निवासी किशोर नाम गरेका युवकसँग आफ्नो विवाह भएको र चार सन्तानसमेत रहेको जानकारी दिदैं ती महिलाले पतिले कथित रुपमा जुवामा आफूलाई हारेपछि दुई जनाले सामूहिक बलात्कार गरेको जनाइन् ।

उनका अनुसार ती दुई पुरुष घरमै आएका थिए । त्यतिबेला उनको पति भने घरमा नरहेको बताइन्छ । छोराछोरी भएकै समयमा घरमा आएर उनीहरुले आफूलाई ‘तिम्रो पतिले तिमीलाई जुवामा हारिसकेका छन, तिमी अब हाम्री भयौ’ भन्दै छोराछोरीलाई बाहिर निकालेर बलात्कार गरेको उनले बताइन् ।

सो घटनापछि आफूले घर परिवर्तन गरेको र अलग्गै बस्न थालेको भए पनि पति र ती दुई पुरुषले बारम्बार आफूलाई दुःख दिने र धम्क्याउने गर्दै आएको गुनासो उनले प्रहरीसमक्ष दिएकी छन् । ती महिलाका अनुसार छोरीलाई समेत जुवामा दाउ राख्ने धम्की पतिले दिदैं आएका छन् ।

इन्दौरको प्रहरी उपमहानिरीक्षक कार्यालयमै आयोजित कार्यक्रममा महिले आफ्नो पीडा सुनाएपछि प्रहरीले सो घटनाको छानविन थालेको छ । इन्दौरको पूर्वी क्षेत्रका प्रहरी प्रमुखले सम्बन्धित प्रहरी थानालाई छानविनको जिम्मेवारी दिइएको पत्रकार सम्मेलनमा जनाएका छन् ।

विशेष