राजनीति

भूमाफियाबाट सावधान रहन जनप्रतिनिधिलाई आग्रह

भूमाफियाबाट सावधान रहन जनप्रतिनिधिलाई आग्रह

 

असार - ३० । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रजातान्त्रिक अभ्यास भएको देशमा पनि सामाजिक सञ्जालमार्फत लोकतन्त्रको दुरुपयोग भएको बताएका छन् ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाको प्रथम नगरसभालाई आज सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले भने, “सामाजिक सञ्जाल पक्कै पनि अलिअलि भए पनि पढेलेखेकैले प्रयोग गर्छन् तर उनीहरुको शब्द हेर्दा कुनै पनि हिसाबबाट शिक्षित भन्न मिल्दैन” ।

अर्को प्रसङ्गमा उनले लोकतन्त्रलाई बलियो बनाउन स्थानीय तहबाट नै व्यावहारिक अभ्यासको आवश्यकता रहेको बताए। पुरानो इतिहास बोकेको पनौतीमा जलविद्युत्, पर्यटनलगायत विभिन्न क्षेत्रमा प्रशस्त सम्भाव्यता रहेको र प्राकृतिक दृष्टिकोणले पनि निकै सुन्दर भएकाले यहाँको विकासका लागि नयाँ स्थानीय नेतृत्वले अग्रणी भूमिका खेल्नुपर्ने बताए ।

उनले भूमाफियाबाट सावधान रहन जनप्रतिनिधिलाई आग्रह गर्दै आफ्नो क्षेत्रको विकासका लागि गुरुयोजना तयार गर्नसमेत सुझाव दिए ।

नगरसभामा प्रजिअ शिव सिंखडाले पनौती नगरपालिकामा बजेट खर्चमा समस्या आएमा आफ्नो क्षेत्रबाट साथ दिन सधैँ तत्पर रहेको बताए। पनौती नगरपालिकाका प्रमुख भीम गौतमले पनौती क्षेत्रको पर्यटनलगायत अन्य क्षेत्रको विकासका बारेमा प्रकाश पारे ।

विशेष