रोजगार

वैदेशिक रोजगार विभागको अनलाइन सेवालाई अझै प्रभावकारी बनाइने

वैदेशिक रोजगार विभागको अनलाइन सेवालाई अझै प्रभावकारी बनाइने

 

साउन - २ । श्रम तथा रोजगार मन्त्रालयले श्रम स्वीकृति, गुनासो सुनुवाइलगायत सेवालाई अझ प्रभावकारी बनाउने भएको छ । मन्त्री फरमुल्लाह मन्सुरको उपस्थितिमा सोमबार भएको बैठकमा श्रम स्वीकृतिलगायतमा अनलाइन सेवा गत वर्ष माघ १९ गतेदेखि नै सुरु भए पनि प्रभावकारी नभएको गुनासो बढेको थियो ।

बैठकले वैदेशिक रोजगारीमा गएका र फर्किएका कामदारको तथ्यांक अद्यावधिक गर्ने, ती कामदारको ठगी, शोषण वा घटनालाई न्यूनीकरण गर्दै लैजाने तथा अध्यागमन – राहदानी – कन्सुलर सेवा विभागसँग भएका वैदेशिक रोजगारसँग सम्बन्धित तथ्यांक आवश्यकतानुरुप अनलाइनबाटै लिंक गरी वैदेशिक रोजगार व्यवस्थापन भरपर्दो र व्यवस्थित बनाउने निर्णय गरेको छ ।

बैठकमा सहभागी गृह र परराष्ट्र मन्त्रालयका प्रतिनिधिले अनलाइन पद्धतिबाट गरिने महत्वपूर्ण सेवा प्रवाह प्रणालीलाई विश्वसनीय र सुरक्षित बनाउँदै वैदेशिक रोजगार व्यवस्थापनमा प्रत्यक्ष सम्बन्ध भएका राहदानी र अध्यागमन विभाग तथा विदेशस्थित श्रम गन्तव्य मुलुकमा रहेका नियोगहरुसम्म आबद्धता गरी सेवा प्रवाह गर्न आवश्यक रहेकामा जोड दिँदै आफ्नो निकायबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

बैठकले ती विषयमा सात दिनभित्र प्रतिवेदन पेस गर्न वैदेशिक रोजगारी विभागका प्रमुख तेजराज पाण्डेको संयोजकत्वमा गृह, परराष्ट्र र श्रम मन्त्रालय एवं राहदानी – कन्सुलर सेवा –वैदेशिक रोजगार विभागका सूचना प्रविधि अधिकृत सम्मिलित नौ सदस्यीय समितिसमेत गठन गरेको छ । 

विशेष