विचित्र विश्व

यो हो 'भीभीआइपी' पिपलको वृक्ष, रेखदेखका लागि सुरक्षाकर्मीसहित वार्षिक बजेट

यो हो 'भीभीआइपी' पिपलको वृक्ष, रेखदेखका लागि सुरक्षाकर्मीसहित वार्षिक बजेट

असार २९ । ‘भीभीआइपी’ मानिस हुन्छ । तर, भारतमा एउटा त्यस्तो पिपलको वृक्ष छ, जसलाई ‘भीभीआइपी’को दर्जा दिइएको छ ।

यतिमात्रै नभइ उक्त वृक्षलाई २४ सै घन्टा सुरक्षाका लागि ४ जना प्रहरी खटाइएको छ भने रेखदेखका लागि वार्षिक १२ लाख भारु बजेटसमेत छुट्याइएको छ ।

भारतको मध्यप्रदेशस्थित भोपाल र बिदिसा सहरको बीचमा पर्ने सान्ची बौद्ध विश्वविद्यालयको स्वामित्वमा सलामतपुर नाम गरेको पहाडमा रहेको उक्त भीभीआइपी पिपलको वृक्षलाई विशेष सुरक्षासहित हेरचाह गरिन्छ ।

उक्त क्षेत्र युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत सान्ची बौद्धिस्ट कम्प्लेक्सभन्दा केही दूरी पर रहेको छ ।मध्यप्रदेशका उपविभागीय मेजिस्ट्रेट वरुण अवस्थीकाअनुसार उक्त वृक्षको पालन–पोषणका लागि आवश्यक पर्ने पानीको जोहो गर्न ट्यांकर किनिएको छ ।

उनले भने–‘मध्यप्रदेश कृषि विभागबाट एकजना ‘बोटानिस्ट’ नियुक्त गरिएको छ । ‘बोटानिस्ट’ले हरेक हप्ता यहाँ आएर वृक्षको स्वास्थ्य परीक्षण गर्ने गर्दछन् ।’भारतीय सन्चारमाध्यममा जनाइएअनुसार उक्त वृक्षको एउटामात्रै पात सुक्यो भने यसको खबर प्रशासनसम्म पुग्ने गर्दछ र प्रशासनको टाउको दुख्ने गर्दछ । प्रशासनले उक्त ‘भीभीआइपी’ वृक्षलाई विशेष निगरानी गर्नुका कारण भने अर्कै छ ।

पिपलको दानादेखि नै भाग्यमानी मानिएको यस वृक्षलाई दानाकै अवस्थामा श्रीलंकाका पूर्वराष्ट्रपति महेन्द्र राजपाक्षको हातमा एक बौद्ध धर्मगुरुले राखिदिएका थिए । पछि त्यस दानबाट बिरुवा उम्रेपछि भारत भ्रमणकाक्रममा पाँच वर्षअघि राजपाक्षले आफ्नै हातले रोपेकोे बताइन्छ ।

अहिले उक्त पिपलको वृक्ष बौद्धधर्मका अनुयायी र प्रशासनका लागि निकै खास मानिन्छ । भगवान गौतम बुद्धले बोधित्व प्राप्त गरेको रुखको सम्झनामा यस रुखको नाम ‘बोधिवृक्ष’ राखिएको छ ।

‘सान्ची महाबोधि सोसाइसी अफ इन्डिया’का सदस्य भान्टे चन्द्रनाथनले उक्त वृक्षलाई ‘भीभीआइपी’को दर्जा दिनुको अवधारणबारे प्रस्ट पार्दै भने–‘इसापूर्वको तेश्रो शताब्दीमा भगवान बुद्धले ज्ञान प्राप्त गरेको पिपलको वृक्षकै एक अंश श्रीलंकाको अनुराधापुरामा लगिएको थियो । अहिले त्यही वृक्षको अंश फेरि भारतमा हुर्किरहेको छ । यस वृक्षको संरक्षणका लागि भीभीआइपी मानिएको हो ।’

उक्त वृक्षका रेखदेखको लागि वार्षिक १२ लाख भारु बजेट आउने गर्दछ । त्यसबाहेक उक्त वृक्षसम्म पक्कीरोड, तारबार र सुरक्षाका लागि खटिएका प्रहरीको भत्ता छुट्टै आउने बताइएको छ ।

विशेष