राजनीति मुख्य समाचार

अन्ततः राजपा चुनावमा जाने नै भयो

अन्ततः राजपा चुनावमा जाने नै भयो

साउन ४ । संविधानप्रति असन्तुष्टि जनाउँदै आएको राष्ट्रिय जनता पार्टी(राजपा) आगामी असोज २ गते हुने प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा सहभागी हुन लचक देखिएको छ ।

सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुसँग आज बालुवाटारमा भएको छलफलमा राजपा निश्चित माग पूरा भए निर्वाचनमा जान सकारात्मक देखिएको हो ।

बैठकमा राजपाले उठाउँदै आएको मधेस आन्दोलनका क्रममा घाइते भएकाहरुको निःशुल्क उपचार, पक्राउ परेका कार्यकर्ता रिहा, मुद्दा फिर्ता र सहिद घोषणा गर्न सत्तारुढ दल तयार भएपछि राजपा पनि निर्वाचनमा जान सकारात्मक देखिएको हो ।

बैठकमा राजपाले संविधान संशोधन पनि तत्काल गर्नुपर्ने माग राखेको थियो । तर सत्तारुढ दलका नेताहरुले तत्काल दुई तिहाई र्पुयाउन सकिने अवस्था नरहेकाले यस विषयमा एमालेलगायतका अन्य दलहरुसँग थप छलफल गरेर टुंगोमा पुग्ने बताएका थिए । राजपाले संविधान संशोधन नगरी निर्वाचनमा जान आफूहरुलाई अप्ठ्यारो हुने जनाएको छ ।

बैठकमा सत्तारुढ दल र राजपाका नेताहरुबीच पुनः छलफल गर्ने सहमति भएको छ । राजपाका केही माग आगामी मन्त्रिपरिषद्को बैठकबाट पूरा गरिने र त्यसपछि थप छलफल गर्ने सहमति भएको नेताहरुले बताएका छन् ।

 

 

विशेष