राजनीति

नवलपरासीमा पाँच स्थानको नतिजा सार्वजनिक, कहाँ कसले जिते ?

नवलपरासीमा पाँच स्थानको नतिजा सार्वजनिक, कहाँ कसले जिते ?

असार १८ । नवलपरासीमा दुई स्थानमा नेपाली कांग्रेस र एकरएक स्थानमा क्रमशः नेकपा एमाले, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक फोरम विजयी भएका छन् ।

सुनवल नगरपालिका र प्रतापपुर गाउँपालिकामा कांग्रेस, सुस्ता गाउँपालिकामा एमाले, पाल्हीनन्दन गाउँपालिकामा माओवादी केन्द्र र सरावल गाउँपालिकामा फोरम लोकतान्त्रिक विजयी भएका हुन् ।

नवलपरासीमा कुल सातवटा स्थानीय तहमध्ये बर्दघाट र रामग्राम नगरपालिकाबाहेक अन्य सबै स्थानमा मतगणना सम्पन्न भएका छन् ।

पछिल्लोपटक पाल्हीनन्दन र सरावल गाउँपालिकामा मतगणना सम्पन्न भएको हो । पाल्हीनन्दन गाउँपालिकामा माओवादी केन्द्रका बैजुप्रसाद गुप्ता ९दीपक० चार हजार ८६५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजेन्द्रकुमार सहानीले चार हजार ३९४ मत प्राप्त गरेका थिए ।

यसैगरी उपाध्यक्ष पदमा कांग्रेसकी उम्मेदवार पवित्राकुमारी कोहाँर तीन हजार ९१७ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी उम्मेदवार अष्टबुजी चौधरीले तीन हजार ७३५ मत प्राप्त गरेका थिए ।

सरावल गाउँपालिकामा फोरम लोकतान्त्रिकका उम्मेदवार राधेश्याम चौधरी पाँच हजार ४५ मत प्राप्त गरी विजयी भए भने उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार प्रदीपकुमार अग्रहरीले तीन हजार ९१६ मत प्राप्त गरे ।

यसैगरी उपाध्यक्ष पदमा कांग्रेसकी उम्मेदवार उत्तमा कुमारी राय चार हजार ४५८ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी फोरम लोकतान्त्रिकका उम्मेदवार सुनिता हरिजनले चार हजार ३४३ मत प्राप्त गरेकी छन् ।

यता सुनवल नगरपालिकाको प्रमुख पदमा कांग्रेसका उम्मेदवार भीमबहादुर थापा भरत नौ हजार ९०७ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार विमला अर्यालले नौ हजार १८२ मत प्राप्त गरिन् ।

यसैगरी उपप्रमुख पदमा एमालेका उम्मेदवार ददिराम अर्यालले नौ हजार ९१० मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी उम्मेदवार तारादेवी भण्डारीले आठ हजार ५५४ मत प्राप्त गरिन् ।

प्रतापपुर गाउँपालिकामा कांग्रेस र सुस्ता गाउँपालिकामा एमाले विजयी भएका छन् । प्रतापुरमा नेपाल लोकतान्त्रिक फोरमका खेमनारायण चौधरीलाई ७०९ मतले पराजित गर्दै कांग्रेसका राजकुमार शर्मा अध्यक्षमा विजयी भए । शर्माको चार हजार ४३६ र चौधरीको तीन हजार ७२७ मत छ ।

उपाध्यक्षमा पनि कांग्रेस विजयी भएको छ । फोरमकी गुनकुमारी थारुलाई एक हजार ४०५ मतले हराउँदै कांग्रेसकी अञ्जुकुमारी चौधरी विजयी भएकी हुन् । चौधरीको चार हजार ४८६ र थारुको तीन हजार ८१ मत छ ।

यसैगरी सुस्ता गाउँपालिकामा कांग्रेसका हसमुद्दिन शेखलाई ५५३ मतले पराजित गर्दै एमालेका रामप्रसाद पाण्डेय वडाध्यक्षमा विजयी भएका छन् । पाण्डेयको तीन हजार ५११ र शेखको दुई हजार ९५२ मत छ ।

त्यसैगरी उपाध्यक्षमा एमालेकी इन्द्रकुमारी थरुनीले कांग्रेसकी विमला ढुङ्गानालाई ७२९ मतले पराजित गरिन् । थरुनीको तीन हजार ५६५ छ भने ढुङ्गानाको दुई हजार ८३६ मत छ ।

विशेष