राजनीति

माओवादी केन्द्रमा फेरि प्रचण्डपद ब्युँत्याउने प्रयास, नारायणकाजी पक्षको चर्काे विरोध

माओवादी केन्द्रमा फेरि प्रचण्डपद ब्युँत्याउने प्रयास, नारायणकाजी पक्षको चर्काे विरोध

साउन ७ । नेकपा माओवादी केन्द्रको सचिवालयको विस्तारित जारी बैठकमा शीर्ष नेताहरूबीच घोचपेच भएको छ । गुटबन्दी र कार्यशैलीलाई लिएर माओवादी नेतृत्वबीच आरोपप्रत्यारोप भएको हो । स्थानीय तहको निर्वाचन समीक्षा र आगामी चुनावी तयारीका विषयमा छलफल गर्न बोलाइएको बैठकमा शीर्ष नेताहरू नै एकअर्काविरुद्ध उत्रिए ।

माओवादी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पार्टीभित्र गुट त्याग्नुपर्ने भन्दै एउटा पक्षले जनयुद्ध लडेर आएको भनेर अरूलाई होच्याउने काम गरेको आरोप लगाए । बैठकमा सहभागी एक नेताका अनुसार श्रेष्ठले बन्दुक बोक्ने मात्र क्रान्तिकारी हुने हो र ? भन्दै प्रश्नसमेत गरेका थिए ।

उनले घुमाउरो तरिकाले प्रचण्डपथ स्वीकार गर्न नसक्ने मत राखेका थिए । ‘योग्य र सक्षम अध्यक्ष (पुष्पकमल दाहाल) हुनुहुन्छ, तर उहाँबाट गल्ती नै हुँदैन भन्ने हुन्न,’ श्रेष्ठले भने, ‘हामीले गल्ती गर्दा बरु ठूलो असर पर्दैन तर अध्यक्षले गर्नुभयो भने ठूलो असर पर्छ, उहाँले केही गल्ती गर्न लाग्नुभयो भने पूर्वसचेत गराउनुपर्छ, जे भयो त्यो सबै ठीक भनेर लाग्यौं भने त अन्धभक्त भइगइयो नि ।’

श्रेष्ठले दाहाललाई देवत्वकरणतिर लैजान नहुने भनेर प्रचण्डपथलाई अस्वीकार गरेका थिए । ‘प्रचण्ड परिवर्तनको लिडर हो, निर्विकल्प उहाँ एक मात्र सक्षम नेतृत्व हुनुहुन्छ, त्यसको विकल्प खोज्नेतिर नलागौं, तर उहाँले जे गर्नुहुन्छ सबै ठीक गर्नुहुन्छ र ठीक हुन्छ भनेर देवत्वकरण पनि गर्न आवश्यक छैन,’ श्रेष्ठले भने ।

त्यस्तै हेडक्वार्टर सदस्य गिरिराजमणि पोखरेलले पनि अहिले प्रचण्डपथ ब्यँुताउन नसकिने मत राखेका थिए । सोमबारदेखि जारी बैठकमा यसअघि अग्नि सापकोटा, हरिबोल गजुरेललगायत नेताले प्रचण्डपथलाई ब्युँताउन माग गरेका थिए । नारायणकाजी समूहका नेताहरूले भने त्यसलाई घुमाउरो तरिकाबाट अस्वीकार गरेका हुन् ।

उपप्रधानमन्त्रीसहित पार्टीबाट सरकारको नेतृत्व गरिरहेका नेता कृष्णबहादुर महराले व्यक्ति लक्षित नगरी पार्टीभित्र अराजकता मौलाएको बताए । उनले संगठन निर्माणका लागि नेतृत्वको रक्षा गर्दै टुक्रे मानसिकता हटाउनुपर्ने बताए । पार्टी संगठन व्यवस्थित नभएको र कामसमेत प्रभावकारी नभएको महराको भनाइ थियो । हेडक्वार्टर सदस्य टोपबहादुर रायमाझीले आफूले बाबुराम गुट छोडेर पार्टी निर्माणका लागि लागिपरेको धारणा राखेका थिए । उनले आफू कुनै गुटमा नभएको प्रस्टोक्ति दिँदै साथीहरू गुटमा रमाएको भनेर व्यंग्य गरे ।

 उनले अध्यक्षका अघिपछि माग्नका लागि मात्रै जाने चलन बढेर गएको टिप्पणी गरे ।हेडक्वार्टर सदस्य मणि थापाले पार्टीभित्रको गुटउपगुट अन्त्य गर्न अध्यक्ष दाहालबाटै पहल हुनुपर्ने भनाइ राखे । उनले अध्यक्षको कार्यशैली नसुध्रिए गुटबन्दी मौलाउँदै जाने र त्यसले अन्ततः पार्टी नै सिध्याउने विचार व्यक्त गरे ।

माओवादी केन्द्रको जारी बैठकमा गुटउपगुटले नै बढी प्राथमिकता पाएको छ । नेताहरू एकअर्काविरुद्ध खनिएपछि हेडक्वार्टर सदस्य टंक राईले विभिन्न पार्टीबीच एकता भएकाले फरकफरक धारणा आउनु स्वाभाविक भएको टिप्पणी गरेका थिए । विभिन्न पृष्ठभूमि र पार्टीबाट एकता गरेर आएकाले त्यसको छाया अलि अलि देखिनुलाई ठूलो मान्न नहुने भन्दै उनले पार्टीभित्र हल गर्दै जानुपर्ने बताए । उनले निर्वाचनबाट माओवादीले सामाजिक मान्यता पाइसकेको र जनतामाझ स्थापित बनिसकेकाले कोही पनि अत्तालिनु पर्ने अवस्था नरहेको उनको भनाइ छ । 

विशेष