साहित्यको मामिलामा पनि ‘कान भर्ने’को विश्वास गर्दा प्रचण्ड विवादमा
साउन ७ । शताब्दी पुरुष डा. सत्यमोहन जोशीसहितको टोलीलाई पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘त्रिमूर्ति सम्मान’ र ‘सत्यमोहन जोशी शताब्दी पदक’ पाउँदा प्रशन्नता व्यक्त गरे, सम्बन्धित संस्थालाई धन्यवाद पनि दिए । तर उनको कान भर्ने संस्थाको सुझावपछि पूर्वप्रधानमन्त्री प्रचण्ड आफ्नो वचनमा अडिरहन नसक्दा विवादमा फसेको चर्चा छ ।
‘राजावादीहरुको संस्थाले दिने पुरस्कार लिन हुँदैन’ भन्ने प्रगतिशील लेखक संघको सुझावपछि प्रचण्डले ती दुई सम्मान नलिने मनस्थिति बनाएको विषय अहिले बाहिरिएको छ । प्रचण्डलाई प्रदान गर्न लागिएको त्रिमूर्ति सम्मान र सत्यमोहन जोशी शताब्दी पुरस्कार दिने संस्था त्रिमूर्ति निकेतन (निकेतनमा सबै ‘वाद’ मान्नेहरु सदस्य छन्) हो । जसको अध्यक्ष इन्दिरा प्रसाई हुन् ।
यो संस्थाले गत बुधबार पूर्वप्रधानमन्त्री दाहाललाई उनकै निवासमा भेटेर सम्मान र पदक ग्रहण गरिदिन आग्रह गरेको थियो । दाहालसँग भेट्न जाने टोलीका एक सदस्य तथा त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले भने, ‘९८ वर्षका शताब्दी पुरुष सत्यमोहन जोशीकै अगाडि सम्मान र पदककालागि पूर्वप्रधानमन्त्री दाहालले धन्यवाद भन्नु भएको छ । शताब्दी पुरुषको हातबाट पदक लिन आफू आउने वचन पनि दिनु भएको छ ।’
नई प्रकाशन र त्रिमूर्ति निकेतनको माग पूरा गर्दै पूर्वप्रधानमन्त्री दाहालले आफ्नो कार्यकालमा सत्यमोहन जोशीलाई ‘वाङमय शताब्दी पुरुष’ उपाधि दिएका थिए ।
राजावादीले दिएको पुरष्कार गणतन्त्रवादीले लिन हुँदैन भनेर सल्लाह दिनेहरुको हकमा सदस्यसचिव प्रसाईले भने, ‘म कमल थापाजस्तै राजावादी हुँ । कमल थापा दाहालकै क्याविनेटमा उपप्रधानमन्त्री बनिसक्नु भएको छ । यति भएपछि विषय गणतन्त्रवादी–राजावादीको होइन ।’
प्रसाईको भनाइअनुशार दाहाललाई कुनै पार्टीको अध्यक्षको हैसियतमा यस्तो सम्मान दिन लागिएको होइन । साहित्यमा गहिरो अभिरुचि राख्ने र आफ्नो प्रधानमन्त्रीकालमा नेपाली भाषा साहित्यको विकासमा योगदान दिएबापत सम्मान गर्न लागिएको हो ।
‘तर तपाईहरुले दिने सम्मान त दाहालले नलिने कुरा बाहिरिएको छ नी ?’ भन्ने जिज्ञासामा प्रसाईले भने, ‘त्यो हामीलाई थाहा छैन । पूर्वप्रधानमन्त्री दाहालसँग हाम्रो जे कुरा भयो, त्यति नै हो हामीलाई थाहा भएको । हामीसँगको कुराकानीमा उहाँले सम्मान र पदक आफूले पाउने खबर थाहा पाउँदा खुसी लागेको भन्दै धन्यवाद दिनु भएको छ ।’
अाफ्नाे साहित्य सेवामा अरूले राजनीतिक रङ लगाएकाे उल्लेख गर्दै प्रसाइले भने, ‘म जेसुकै विचारधाराको भए पनि यदि मैले साहित्यको मन्दिरभित्र कुनै राजनीति विचार प्रस्तुत गरें भने या साहित्यलाई राजनीति रङ लगाउन चाहेको कसैले प्रमाण दिन्छ भने म साहित्यबाटै सन्यास लिन्छु । त्रिमूर्ति निकेतन र नइ प्रकाशन साहित्यका पवित्र मन्दिर हुन् जहाँ जुनसुकै विचारका स्रष्टा पनि अटाउन सक्छन् । तर त्यहाँभित्र प्रवेश गरेर कसैलाई राजनीति गर्ने छुट छैन । यी गैरराजनीतिक संस्था हुन् ।’
पदक र सम्मान पूर्वप्रधानमन्त्री दाहालले लिने नलिने निश्चित नभए पनि समारोहन भने भदौ ३ का लागि तय भएको छ ।
सुझाव दिनेहरुले साहित्यमा राजनीति मिसाइदिएपछि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि असमञ्जस्य भएको बुझिएको छ । त्रिमूर्ति निकेतन र नई प्रकाशन दुवै नेपाली साहित्यको क्षेत्रमा क्रियाशील संस्था हुन् ।