देउवाले अन्तर्घातीलाई ठेगान लाएरै छाड्ने
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गरेरै छाड्ने बताएका छन् । बिहीबारबाट राजधानीमा सुरु भएको प्रदेश २ का नेताको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका देउवाले पहिलो चरण र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा पार्टीकै नेताहरूको अन्तर्घातका कारण धेरै स्थानमा हार बेहोर्नुपरेको भन्दै अन्तर्घातीलाई ठेगान लाएरै छाड्ने बताए । ‘अन्तर्घातीहरूलाई पार्टीबाट निकाल्छु, अन्तर्घातीहरू पार्टीभित्र रहेसम्म पार्टी अघि बढ्न सक्दैन,’ देउवाले भने ।
उनले तेस्रो चरण निर्वाचनमा कांग्रेस पहिलो हुने र अघिल्ला निर्वाचनको समेत क्षति रोकिने बताए । ‘तेस्रो चरण निर्वाचनमा पार्टी एक नम्बरमा आउँछ, अघिल्ला निर्वाचनमा भएको क्षतिसमेत तेस्रो चरणको निर्वाचनबाट रोकिन्छ, तपाईंहरू सबै पार्टीलाई जिताउने गरी लाग्नुस्,’ देउवाले सम्बोधनका क्रममा भने ।
देउवाले सबै आकांक्षीहरूले टिकट नपाउने भन्दै टिकट पाएकालाई जिताउनु पार्टीका लागि लाग्नेहरूको कर्तव्य भएको बताए । उनले टिकट नपाएकाहरूलाई समेत कहीँ न कहीँ व्यवस्थापन गरिने भन्दै पार्टीका लागि जिम्मेवार बन्न सबैमा आग्रहसमेत गरे ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले तेस्रो चरणको निर्वाचनमा उम्मेदवार चयन गर्न स्थानीय स्तरमा नै अधिकार दिनुपर्ने बताए । उनले पार्टीलाई पहिलो बनाउनका लागि र पहिलो तथा दोस्रो चरणकोे निर्वाचनको क्षतिपूर्तिसमेत उठाउनका लागि मधेस र कांग्रेसबीचको सम्बन्ध स्पष्ट पार्नुपर्ने औंल्याए । नेता पौडेलले ठीक उम्मेदवार चयन गर्न संयन्त्रमार्फत छलफल भएर निष्कर्षमा पुग्नुपर्नेमा जोड दिए ।
‘केन्द्रबाट होइन स्थानीय स्तरबाटै राम्रा मान्छे उम्मेदवार बनाऔं, केन्द्रमा आउँदा गल्ती भएको छ, तपाईंहरू जिम्मेवारीबाट नभाग्नुस्, आफ्ना उम्मेदवार आफंै छानेर पठाउनुस्,’ नेता पौडेलले प्रदेश २ बाट आएका नेताहरूलाई भने ।
कांग्रेस प्रदेश २ भेला
यस्तै महामन्त्री डा. शशांक कोइरालाले अन्तर्घातलाई रोक्न कडाइका साथ केन्द्रीय प्रतिनिधिहरू नै स्थानीय तहमा खटाइनुपर्नेमा जोड दिए । उनले तेस्रो चरणको निर्वाचनमा कांग्रेस असफल भए बाँकी निर्वाचनमा समेत त्यसको असर पर्ने भन्दै जिम्मेवार भएर लाग्न नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरे ।
पूर्वमहामन्त्री कृष्ण्रसाद सिटौलाले तल्लो स्तरबाट नै पार्टीलाई एक ढिक्का बनाएर लैजाँदा पार्टी बलियो हुने र निर्वाचनको परिणामसमेत राम्रो आउने बताए । भेलामा नेता विमलेन्द्र निधि र कोषाध्यक्ष सीतादेवी यादवले समेत संविधान संशोधनका विषयमा भइरहेको छलफल र राजपासँगको पछिल्लो वार्ताका विषयमा सहभागी सबैलाई जानकारी गराएका थिए ।
भेलामा आन्दोलनरत राजपाले उठाएका माग र त्यसलाई कतिसम्म सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा समेत सहभागीहरूले नेतृत्वलाई प्रश्न गरेका छन् । भेलामा प्रदेश २ बाट पार्टीमा विजयी भएका केन्द्रीय सदस्य, सांसद, पूर्वसांसद, जिल्ला सभापति, जिल्ला सभापतिका प्रत्यासी र क्षेत्रीय सभापतिहरू सहभागी छन् । एक दिनका लागि डाकिएको भेला जिल्लाबाट आएका नेताहरूले बोल्ने क्रम जारी रहेकाले शुक्रबारसम्म चल्ने भएको छ ।