कमल थापालाई प्रधानमन्त्री देउवाले लोप्पा खुवाइदिए, राप्रपाद्वारा वार्ता समिति भंग
काठमाडौं, ११ साउन । मन्त्रिपरिषद बिस्तारमा आङ्खनो पार्टीलाई नसमेटेको भन्दै राप्रपाका अध्यक्ष कमल थापा सरकारसँग असन्तुष्ट बनेका छन् । मन्त्रिपरिषद विस्तार भएको केही मिनेटमै राप्रपाले विज्ञप्ति नै निकालेर सरकारसँग असन्तुष्टि पोखेको हो । उसले सरकारसँग वार्ता गर्न बनाइएको समिति भंग गरेको घोषणासमेत गरेको छ ।
सरकारमा जाने मनस्थितिमा रहेको राप्रपाले मन्त्रालय बाँडफाँटको विषयमा सरकारसँग छलफल गर्न पार्टी महामन्त्री जयन्त चन्दको नेतृत्वमा तीन सदस्यीय वार्ता समितिसमेत बनाएको थियो । तर, सरकारले आफूखुसी मन्त्रालय बाँडफाँड गरेको भन्दै वार्ता समिति बुधबार नै भंग गरिएको छ ।
राप्रपा अध्यक्ष कमल थापा स्वयं पार्टीबाट सरकारको नेतृत्व गर्ने मानसिकतामा थिए । मुसा प्रवृत्तिका थापाले यसका लागि आफ्नो पार्टीलाई उपप्रधानमन्त्रीसहित शक्तिशाली मन्त्रालय दिनुपर्ने माग गरेका थिए । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले अन्ततः उनलाई लोप्पा ख्वाइदिए । थापाले राप्रपालाई उपप्रधान मन्त्रीसहित पाँच मन्त्रालय मागेकोमा प्रधानमन्त्री देउवाले उपप्रधानबाहेक चार मन्त्रालय दिने बताएको स्रोतको दाबी छ ।
तर, प्रधानमन्त्री देउवाले बुधबार राप्रपाबिनाकै सरकार बिस्तार गरेका छन् । सरकारमा कांग्रेस, माओवादी, फोरम लोकतान्त्रिक र नेकपा संयुक्तबाट १९ मन्त्री थपिएका छन् । यससँगै देउवा नेतृत्वको सरकार २७ सदस्यीय बनेको छ ।