राजनीति

विद्युत् चुहावट नियन्त्रणमा लाग्न ऊर्जामन्त्रीको निर्देशन

विद्युत् चुहावट नियन्त्रणमा लाग्न ऊर्जामन्त्रीको निर्देशन

 

साउन - १२ । विद्युत्भार कटौती अभियानले सार्थकता पाए जस्तै चुहावट नियन्त्रणमा पनि उल्लेख्य सफलता हासिल हुने गरी कार्ययोजनाको तयारीमा ऊर्जा मन्त्रालय लागिपरेको छ ।

खेर जाने विद्युत्लाई जोगाउनु पनि उत्पादन नै गर्नुसरह हो भन्दै मन्त्रालयले कम्तीमा पनि पाँच प्रतिशत चुहावट हटाउनैपर्ने कार्ययोजना बनाउन मन्त्रालय अघि बढेको ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले जानकारी दिए । नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई आज निर्देशन दिँदै उनले भने “चुहावट नियन्त्रण सरकारको पहिलो प्राथमिकता हो । त्यसका लागि आजैदेखि काम शुरु गर्नुस्, केही दिनभित्रै परिणाम आवश्यक छ ।”

आगामी हिउँदमा पनि नेपाली नागरिक विद्युत्भार कटौतीको समस्यामा नपर्ने र त्यसका लागि हरप्रकारको उपाय अपनाइने बताउँदै प्राधिकरणले थप कार्ययोजनाका साथ काम गर्नुपर्नेमा उनको जोड थियो । प्राधिकरणमा कार्यरत १० हजारभन्दा बढी कर्मचारी चुहावट नियन्त्रणका लागि दिनरात खट्नुपर्ने बताउँदै मन्त्री शाहीले कम्तीमा पनि पाँच प्रतिशत चोरी तथा चुहावट नियन्त्रण हुनुपर्ने औँल्याए।

मन्त्री शाहीले राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो काम गर्नेलाई दण्ड दिने प्रणालीको विकास गरिने स्पष्ट पारे । विद्युत्भार कटौतीको अन्त्यसँगै मुलुकको आर्थिक समृद्धिको मार्गसमेत प्रशस्त भएको छ भन्दै उनले प्राधिकरण मातहतका आयोजनालाई तत्काल सम्पन्न गर्न लाग्नुपर्ने बताए ।

अघिल्लो सरकारले अगाडि बढाएका सकारात्मक र योजनाबद्ध कामलाई अगाडि बढाइने र प्राधिकरणलाई नाफामा लैजान आफ्नातर्फबाट विशेष पहल रहने मन्त्री शाहीको भनाइ छ । ‘चेन अफ कमाण्ड’ तोडेर विधि र प्रक्रिया विपरीत काम नगर्न र नगराउन कर्मचारीलाई उनले निर्देशन दिए।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत्भार कटौतीको अन्त्यपछि प्राधिकरणप्रति बढेको जनविश्वासलाई कायम राख्दै निर्माणाधीन आयोजना समयमा सम्पन्न गर्न र सहायक कम्पनीमार्फत अगाडि बढाइएका परियोजनाको समेत विकास गर्न जोड दिइएको जानकारी दिए ।

विशेष