राजनीति

पर्सा पुगेर मन्त्री साहले भने, 'परियोजनामा ढिलाइ सरकारलाई सह्य छैन'

पर्सा पुगेर मन्त्री साहले भने, 'परियोजनामा ढिलाइ सरकारलाई सह्य छैन'

 

साउन - १३ । शहरी विकासमन्त्री प्रभु साहले पर्सामा भइरहेको विकास निर्माण कार्यको प्रगतिबारे जानकारी लिनुका साथै स्थलगत अनुगमनसमेत गरेका छन् ।

एसियाली विकास बैंक(एडिबी)द्वारा वीरगन्ज महानगरपालिकामा सञ्चालित शहरी वातावरणीय सुधार आयोजना तथा वीरगन्जकै अलौँमा निर्माण भइरहेको एकीकृत सुरक्षा जाँच चौकी (आइसिपी)को मन्त्री साहले आज स्थलगत अनुगमन गरे ।

मन्त्री साहले स्थलगत अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारी कार्यालयको आपसी समन्वयको अभावमा निर्माणमा ढिलाइ भएको बताए । विकास निर्माणका लागि सरकारले पर्याप्त बजेट विनियोजन गरे पनि सरकारी कार्यालयका अधिकारीबीच समन्वयको कमी र ठेकेदारको बदमासीले निर्माण समयमा पूरा हुन नसकेको मन्त्री साहले गुनासो गरे ।

ठेक्का लिने र विभिन्न बहाना बनाई समयमा काम पूरा नगर्ने ठेकेदार तथा कामको निगरानी गर्ने जिम्मा पाएको सरकारी अधिकारीसमेतलाई कारबाहीको दायरामा ल्याउने उनले प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री साहले आइसिपीको निर्माणलाई तीव्रता दिई सन् २०१७ नोभेम्बरभित्र सम्पन्न गर्न ठेकेदारलाई निर्देशन दिइएको जानकारी दिए। जग्गाको मुआब्जा विवादलाई चाँडै हल गरी सडक निर्माणलाई गति दिइने उनको भनाइ थियो ।

विशेष