‘दीपकराज गिरीमाथि तेर्सिएको प्रश्न नैतिकताको हो जस्तो लाग्छ’
ए दाजु नसमाउ नारीमा
जान्न म त डिजेलको गाडीमा
हिलो लाग्छ नाइलनको सारीमा ...
यो गीतको शब्द र भाकामा विवाद उत्पन्न भएको छ, यो विवादलाई कसरी हेर्नु भएको छ ?
– डिजेलको गाडीमा चढ्दा सारीमा हिलो त नलाग्नु पर्ने हो । तर साहित्यमा यस्तो चल्छ पनि । बालकृष्ण समले भन्नु हुन्थ्यो – एउटा पंक्ति स्वर्गको हुन्छ, अर्को धर्तीको । यहाँ पनि त्यस्तै छ, डिजेलको गाडीमा चढ्दा हिलो लागेको छ । भाका र शब्दमा मानिसहरुले नाम राखेको भनेर विवाद भएको मैले बुझेको छु ।
के यो लोकभाका हो ?
– हेर्नुस्, मैले त जमानामा सुन्दा यो गीत यस्तो थिएन । ‘ए दाजु नसमाउ नारीमा, जान्न म त मकैको घारीमा, हिलो लाग्छ रेशमी सारीमा’ भन्ने थियो । यस हिसाबले यो भाका र शब्द हालसालै सिर्जना गरिएका हैनन् । पुरानै हुन् ।
कान्छा मगर नेपालीको गीत हो भनेर उनका नातिले दाबी गरेको खबर बाहिरिएको छ नी ?
– हो त, विवाद यहि हो । त्यो भाका र शब्द कान्छा मगर नेपालीको हुन पनि सक्ला । लोकको पनि हुन सक्ला । लोक भाका रै’छ भने कान्छा मगरका सन्तानले दावी गर्न मिल्दैन । किनभने लोक गीत भनेको त लोकको साझा सम्पत्ति हुन्छ । कान्छा मगरको मात्रै हुँदैन ।
स्थायीमा तोडमोड गरेर अन्तरामा नयाँ शब्द थपेर बनाइएको यही गीतको रचनाकार म हुँ भनेर दीपकराज गिरीले आफ्नो नाम राख्नु भएको थाहा पाउनु भयो ?
–यो गीत लोकभाका रहेछ भने, दीपकराज गिरीले तोडमोड गर्नु भएको रहेछ भने उहाँलाई त्यो गर्नबाट कसैले रोक्न सक्दैन । तर लोक गीतको शब्द तोडमोड गरेर आफ्नो नाम राख्नु नैतिक हिसाबले सुहाउने काम होइन । दीपकराज गिरी पनि सर्जक नै हो । यसको मर्म उहाँले बुझ्नु नै हुन्छ होला ।
भाकामा पनि आल्मोडा राना उप्रेतीले आफ्नो नाम राख्नु भएको भनेर विवाद छ नी ?
–त्यो पनि त उस्तै कुरा हो । लोकभाकामा कसैको नाम हुँदैन । त्यहाँ त संकलन गर्नेको नाम हुन्छ । भाका वा संगीत मा कसैको अधिकार हुँदैन । तर संगीत वा भाका संकलकको नाम हुन्छ । त्यो भाकामा जसले गायो उसले नाम राख्न पाउँछ । तर लोकले गाउँदै आएको गीतमा शब्द र संगीत कसरी कसैको हुन सक्छ ?
पुरानो भाकालाई आल्मोडा उप्रेतिले आफ्नो नाम दिनु पनि अनैतिक नै हो ?
म के भन्छु भने, पहिले यो पत्ता लाग्नु पर्छ कि त्यो लोकभाका को कि होइन । हो भने कसैले आफ्नो नाम राख्ने बेइमानी हो । हैन रहेछ भने जसको हो उसको कपी राइट उल्लंघन भएको हो ।