म नआएको भए साझा प्रकाशन लिलामीमा गइसक्थ्यो (भिडियोसहित)
डोलिन्द्रप्रसाद शर्मा
अध्यक्ष तथा महाप्रबन्धक
साझा प्रकाशन
साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माको कार्यशैलीको अहिले सञ्चारमाध्यममा चौतर्फी आलोचना भइरहेको छ । नेपाली भाषासाहित्यको मानकका रूपमा साझा प्रकाशनलाई व्यक्तिगत तवरबाट सञ्चालन गरिरहेको आरोप पनि उनीमाथि लागिरहेको छ । साझा प्रकाशनलाई ‘साझा’ होइन, निजी स्वार्थ पूरा गर्ने अखडाका रुपमा प्रयोग गरेको लान्छना पनि उनीमाथि लाग्दै आएको छ । यति मात्र होइन, अध्यक्ष तथा महाप्रबन्धक शर्माले १ सय ५ वर्ष पुरानो संस्था साझा प्रकाशनलाई संस्थागत रुपमै बद्नाम गराइरहेको भन्दै चिन्ता प्रकट गर्नेको संख्या पनि उल्लेख्य छ ।
यसका अलावा शर्मामाथि पदको दुरुपयोग गर्दै संस्थालाई एकलौटी सञ्चालन गरेको, व्यक्तिगत फाइदाका लागि संस्थालाई दुरुपयोग गरेको, सञ्चालक समितिको अनुमतिविपरीत निर्णय गरेको, साझाको लोगो राखी साझाको छापाखानाभन्दा बाहिरबाट अवैधरुपमा पुस्तक प्रकाशन गरेको, किर्ते गरेकोलगायत दर्जनांै आरोप लागेका छन् ।
तत्कालीन शिक्षामन्त्री चित्रलेखा यादवले ५ माघ २०७१ मा शर्मालाई साझा प्रकाशनको महाप्रबन्धक नियुक्त गरेकी थिइन् । १० साउन २०७२ मा उनलाई अध्यक्षको पनि जिम्मेवारी दिइयो । उनको दुई बर्से कार्यकाल ४ माघ २०७३ मा सकिँदै थियो । तर पुष्पकमल दाहाल नेतृत्वको सरकारले पुसमै उनलाई थप चार वर्षका लागि अध्यक्ष तथा महाप्रबन्धकमा निरन्तरता दिने निर्णय ग¥यो । सरकारको यो निर्णयअनुसार २०७७ पुस मसान्तसम्म उनी यो जिम्मेवारीमा रहने छन् ।
तर, उनको कार्यशैलीप्रति असन्तुष्टि जनाउनेहरु शर्मालाई पूरै कार्यकाल काम गर्न दिने हो भने साझा प्रकाशनको इतिहास र गरिमा नै ध्वस्त हुनेमा एकमत छन् । कतिपय आलोचक उनलाई अध्यक्ष तथा महाप्रबन्धक दुबै जिम्मेवारीबाट मुक्त गरी साझा प्रकाशनको गौरवमयी इतिहास जोगाउन लाग्नुपर्ने भन्दै लविङमा व्यस्त छन् ।
विशेषगरी अध्यक्ष तथा महाप्रबन्धक शर्मामाथि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले २४ पुसमा उपलब्ध गराएको १० करोड रुपैयाँ अनुदान र २० करोड रुपैयाँ ऋण रकमलाई आफूखुसी प्रयोग गरेको आरोप लागेको छ । त्यो रकम साझाका अधिक कर्मचारीलाई अवकाशपछिको सेवा सुविधा दिन र ऋण तिर्दै स्तरोन्नति गर्नका लागि दिइएको उनीहरुको भनाइ छ । उनीहरुको भनाइ अनुसार, तर अध्यक्ष एवं महाप्रबन्धक शर्माले न कर्मचारीलाई अवकाश दिए, न बैंकमा रहेको ऋण चुक्ता गर्ने काम नै गरे । बरु सरकारले दिएको अनुदान तथा ऋणमध्येको ५० लाख रुपैयाँ आफ्नै नाममा निकासी गरे ।
हामीले नेपाल आजमा अध्यक्ष तथा महाप्रबन्धक शर्मामाथि लागेको आरोपको वास्तविकता के हो भनेर उनीसँगै बुझ्ने प्रयास गरेका छौं । हामीसँगको भिडियो कुराकानीमा शर्माले भने आफूमाथि लागेको आरोपमा कुनै सत्यता नरहेको पृष्टि गर्न खोजे । बरु उनले आफूले हिलोमा फसेको साझा प्रकाशनलाई त्यहाँबाट निकालेकोमा केही स्वार्थी समुहलाई चित्त नबुझेको र उनीहरु फेरी साझा प्रकाशनलाई हिलोमा गाडेर आफ्नो स्वार्थसिद्ध गर्न खोजेको उल्टै आरोप लगाए । यसमा केही सञ्चार माध्यम पनि वास्तविकता नबुझी ती स्वार्थी समुहको लहैलहैमा लागेको आरोप लगाए ।
अध्यक्ष शर्माले आफूमाथि जस्तोसुकै आरोप लगाए पनि त्यसले आफूलाई केही फरक नपर्ने बताए । ‘वास्तविकता नबुझी ममाथि खनिने काम भइरहेको छ, त्यसले मलाई केही फरक पर्दैन, बरु उनीहरुलाई म साझामा भएसम्म आफ्नो कर्तुत खुल्ने डर छ, त्यसैले मेरो विरोधमा लागेका हुन्, म उनीहरुका कर्तुत पर्दाफास गरेरै छाड्छु ।’
अध्यक्ष शर्माले साझा प्रकाशन सुधारका लागि आफूले २६ बुँदे कार्ययोजना ल्याएको र त्यहीअनुसार काम भइरहेको पनि जिकिर गरे । उनले साझा प्रकाशनमा ११ वर्षदेखि लेखा परीक्षण नभएको, आठ वर्षदेखि साधारणसभा पनि हु्न नसकेको दृष्टान्त पेश गरे । आगामी भदौ महिनाभित्र लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्ने र दसैंपछि २४ औं साधारणसभा गर्नेगरी काम अगाडि बढाइएको पनि उनको भनाइ थियो ।
उनले अहिले आफ्नो विरोधमा लाग्नुको प्रमुख कारण नै लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न लागेकाले भएको पनि बताए । ‘जस्तोसुकै विरोध किन नहोस्, म लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेरै छाड्छु, त्यसपछि को कस्तो भनेर छर्लंगै देखिन्छ, लेखा परीक्षण प्रतिवेदन सार्वजनिक भएपछि मलाई अहलिे गाली गर्ने मान्छे पनि माया गर्न थाल्ने छन् ।’
उनले आफू नआएको भए साझा प्रकाशन लिलामी भइसक्ने पनि बताए । उनले आफूले साझा प्रकाशनलाई लिलामी नगरेकाले सबै आफूमाथि खनिएको आरोप पनि लगाउन भ्याए । उनले आफ्नो विरोध गर्नेहरुसँग आफू एक्लै भिड्न तयार रहेको पनि जनाउ दिए ।
नेपाल आजको जिज्ञासामा उनले आफूले कुनै पनि हालतमा राजिनामा नदिने प्रट पारे । ‘आरोप लाग्दैमा राजिनामा दिनुपर्छ भन्ने छ र ?’ उनको भनाइ थियो, ‘यदि दिनै प¥यो भने पनि लेखा परीक्षण र इन्भेष्टिगेटिभ रिपोर्ट सार्वजनिक भएपछि मात्रै दिन्छु ।’
अध्यक्ष शर्माले सञ्चालक समिति सदस्यहरु पनि दुई जिब्रे भएकोमा आश्चर्य व्यक्त गरे । सञ्चालक समिति सदस्यहरु बैठकमा राम्रै कुरा गर्छन्, बैठकबाट बाहिर गएपछि विरोध पनि गर्छन्, मैले बुझ्न सकेको छैन ।’
उनले अहिले पनि साझामा १० प्रतिशत कर्मचारीहरु आफ्नो विरोधमा रहेको र उनीहरु आफूलाई खेद्न चाहिरहेको पनि बताए ।