राजनीति

संसदीय निर्वाचनमा प्रचण्ड बर्दियाबाट उठ्ने, यसरी हुँदै छ भित्री तयारी !

संसदीय निर्वाचनमा प्रचण्ड बर्दियाबाट उठ्ने, यसरी हुँदै छ भित्री तयारी !

असार १८ । नेपालको राजनीतिमा प्रचण्ड फरक किशिमका ‘स्ट्राइकर’ हुन् । उनले कहाँबाट गोल हान्छन् भन्ने कमैले अनुमान लाउन सक्छन् । ठूला नेताले आफू बिजयी हुनका लागि कम्तिमा पनि कुनै खास क्षेत्रलाई व्यक्तिगत पकड बनाइरहेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाका लागि डडेल्धुरा, एमाले अध्यक्ष केपी ओलीका लागि झापा, एमाले बरिष्ठ नेता झलनाथ खनालका लागि इलाम, अर्का बरिष्ठ नेता माधब नेपालका लागि रौतहट पूर्वघोषित संसदीय क्षेत्र हुन् । नयाँशक्तिका संयोजक बाबुराम भट्टराईलेको पनि निर्वाचन क्षेत्र गोरखा हो । तर, प्रचण्डको खास क्षेत्र छैन । उनी कहाँबाट उम्मेदवार बन्छन् भन्ने आँकलन गर्न पनि कठीन छ किनकी उनी रोल्पाबाट सिधै सिरहा पुगेका थिए । दोस्रो पटक उम्मेदवार हुँदा पराजय भोग्नु परेकोे काठमाडौं १० मा फेरी उम्मेदवारी दिने सम्भावना कम छ ।
प्रचण्डको उम्मेदवारी राजनीतिक हिसावले रणनैतिक देखिन्छ । पहिले उनले माओवादीको उद्गम थलो रोल्पा रोजे । पृथ्वीनारायण शाहलाई खेद्ने कीर्तिपुरमा उम्मेदवारी दिएर उनले ‘सामन्तवाद’का विरुद्ध संसदीय मोर्चामा होमिए । सिरहामा उम्मेदवारी दिएर उनले पछाडि पारिएको भनिएको मधेसीको मनोविज्ञान जित्न चाहे । अब उनले थारु मनोविज्ञानलाई केन्द्रमा राखेर उम्मेदवारी दिने तयारी गरेका छन् ।

संविधान निर्माणका क्रममा सबैभन्दा अन्याय जातिगत हिसावले थारुलाई भएकोमा सायदै दुईमत होला । थारु बहुल जिल्ला कैलालीलाई थारु घनत्व बढी भएको प्रदेश नम्बर ५ मा नराखिएपछि थारुलाई जनसंख्याका दृष्टिले राजनीतिक हानी भएको छ । एकै क्षेत्रमा रहेका जातीय समुदायलाई एउटै प्रदेशमा राख्ने अन्तरिम संविधानको मर्म थियो । यो मर्म सबैभन्दा बढी थारुको हकमा उल्लंघन भएको छ ।

अर्कोतर्फ माओवादी जनयुद्धमा थारु समुदायले माओवादीलाई भरपूर साथ दिएको थियो । राज्यका तर्फबाट सबैभन्दा बढी बेपत्ता बर्दियाली पारिएका थिए र, बर्दियाली मध्येमा अधिकांश थारु थिए । दोस्रो संविधानसभा र स्थानीय निकायको निर्वाचनमा बर्दियाले माओवादीको साख बचाइदिएको छ । अन्यत्र प्रतिकुल परिणाम आउँदा बर्दियामा माओवादीको बर्चश्व जोगिएको छ । पार्टी बिभाजित हुँदा माओवादीलाई अन्यत्र ठूलै भार परे पनि बर्दियामा सो पार्टी एकढिक्का जस्तै छ । यसमा थारु नेतृत्वले सबैभन्दा जबरजस्त भूमिका निर्वाह गरेको छ । दिवंगत आरसी चौधरी, चर्चित नेता बिष्णु थारु, सन्तराम थारुलगायतका स्थापित थारु नेता टसको मस नभइ प्रचण्डलाई साथ दिए । थारुलाई अन्याय भएको भन्दै बाबुराम भट्टराईले निरन्तर आवाज उठाउँदै आएका छन् । भट्टराई नेतृत्वको नयाँशक्तिले कैलालीको थारु समुदायमा तुलनात्मकरुपमा बढी प्रभाव पारेको छ ।

तर, बर्दियाको हकमा सुन्यप्राय छ । यी सबै दृष्टान्तका कारण पनि प्रचण्डले बर्दियालाई नजिकबाट हेरिरहेको माओवादी शीर्ष नेतृत्वले जनाएको छ । लाजिम्पाट निकट स्रोतले पनि प्रचण्डले बर्दियाबाट उम्मेदवारी दिन सक्ने जनाएको छ ।

प्रचण्डलाई जुनसुकै हालतमा जिताउनुपर्ने बाध्यता माओवादी पंक्तिलाई छ । प्रचण्ड नै माओवादी र माओवादी नै प्रचण्डजस्तो रहेको सो पार्टीका लागि प्रचण्डको पराजय समग्र पराजय हुने निश्चित छ । यस्तो स्थितिमा प्रचण्डका लागि सुरक्षित क्षेत्र पनि चाहिएको छ । माओवादीका एक स्थायी समितिका सदस्यका अनुसार यो सबै पृष्ठभूमीका आधारमा प्रचण्डका लागि बर्दिया उपयुक्त देखिएको छ । उनले भने, ‘राजनीतिक बलिदानीका दृष्टिले बर्दिया अध्यक्षको रोजाइमा पर्नु स्वभाविक हुन्छ । अर्कोतर्फ थारु समुदायले माओवादीलाई आफ्नो ठानेको सन्दर्भमा सो पार्टीको अध्यक्षलाई उम्मेदवार बनाउन चाहनु स्वभाविक पनि हो ।’

बर्दियाको कहाँबाट ?
प्रचण्ड उम्मेदवार बनेमा जुनसुकै क्षेत्रबाट पनि अध्याधिक मतले जित्ने माओवादीका जिल्ला नेताहरुको दाबी छ । माओवादीको सबैभन्दा बढी पकड भएको क्षेत्र राजापूर हो । थारुहरुको बहुल क्षेत्र, कैलालीसँग सीमा जोडिएको भूगोल र जनयुद्धमा तुलनात्मकरुपमा धेरै क्षति ब्योहोरेको सो क्षेत्र प्रचण्डका लागि सबैभन्दा बढी अनुकुल हुने माओवादीका एक जिल्ला नेताले बताए ।

प्रचण्डको उम्मेदवारीबाट पूरै जिल्लाले लाभ लिनुपर्ने र जिल्लालाई लालकिल्ला बनाउनु पर्ने गरी उम्मेदवारी दिनुपर्ने अर्कोथरी सुझाव पनि लाजिम्पाटमा पुगेको बताइन्छ । यसका लागि दोस्रो संविधानसभामा माओवादीले विजय हासिल गरेको बनियाभारसहितको क्षेत्रलाई प्रचण्डको उम्मेदवारी क्षेत्रका रुपमा प्रस्ताव गरिएको बताइन्छ । सन्तराम थारुले लगातार बिजय हासिल गरेको सो क्षेत्रमा अबको निर्वाचनमा नयाँ उम्मेदवारलाई मौका दिनुपर्ने आवाज माओवादीभित्र उठेको छ । थारुले जिल्लाका अरु कोहीलाई भन्दा अध्यक्ष प्रचण्डलाई नै उठाउन चाहेको उनी निकट एक नेताले बताए ।
(समाचार टिप्पणी)

विशेष