देश मुख्य समाचार

गरिबीको डरले तिम्ल्याहा दूधे बालक छोडी आत्महत्या

दीपबहादुर घर्ती

गरिबीको डरले तिम्ल्याहा दूधे बालक छोडी आत्महत्या

साउन – १५ । गरिबीको डर लाग्दो पहाड चढ्न नसकेर रुकुम आठबिसकोट नगरपालिका–९ राडीपाखाकी एक महिलाले आत्महत्याको बाटो रोजेकी छिन् । दुई महिना अघि तीम्ल्याहा बच्चालाई जन्मदिएकी कृष्णा शाहीले साउन ९ गते आत्महत्याको प्रयास गरेकी थिएन् । 

भीरबाट हामफालेर आत्महत्या गर्ने प्रयासपछि गम्भीर घाइते भएकी ३२ वर्षीया शाहीको उपचारका क्रममा मृत्य भएको हो । गम्भीर घाइते भएकी उनलाई स्थानीयले उद्धार गरी अस्पतालमा पुर्याएका थिए । उपचारको क्रममा स्थानीय मेडिकलमा राति ११ बजे उनको मृत्यु भएको थियो ।

बाँकेको खजुरा गाउँपालिका–३ मा जन्मिएकी शाहीले गत जेठ १२ गते नेपालगञ्जस्थित एक अस्पतालमा अप्रेशन गरेर दुई छोरा र एक छोरी जन्म दिएकी थिइन् । शाहीले जन्माएका जेठा छोराको नाम बिवेक शाही, कान्छो छोराको नाम बिकास शाही र छोरीको नाम बिविस शाही राखिएको छ ।

कर्णबहादुर शाहीकी कान्छी श्रीमती हुन कृष्णा । कर्णबहादुरको घरमा जेठी श्रीमतीबाट पनि दुई छोरी र एक छोरा छन् । शाहीकी जेठी श्रीमतीवाट जेठी छोरी १६ बर्षीय कृष्ण शाही हुन भने, कान्छी छोरी १४ बर्षीया बिमला शाही हुन् । छोरा १४ बर्षीय विजय शाही हुन् ।

मृतक शाहीको पारिवारक अवस्था कम्जोर रहेको र तीन वटा बच्चा कसरी हुर्काउने भन्ने तनावले आत्महत्या गरेको हुनसक्ने स्थानीयको भनाइ छ । तर पनि शाहीले आत्महत्या गर्नु पर्ने कारण के हो भन्नेवारे अनुसन्धान गर्नु पर्ने आठबिसकोट नगरपालिका–९ का वडा अध्यक्ष तारक शाहीले बताए ।

शाहीको मृत्यु भएको करिव ६ दिनसम्म दुई महिनाका ती दुई छोरा र एक छोरीको स्वास्थ्य अबस्था सन्तुलित नै रहेको वडा अध्यक्ष शाहीले जानकारी दिए ।

नजिकका आफन्तमार्फत स्यहार भइरहेका ती बच्चाहरुलाई भैँसीको तथा पाउडर दूध खुवाउने गरिएको छ । ती दूधे बालकहरुको लालन–पालन कसरी गर्ने भन्ने बिषयमा निकै कठिनाई पैदा भैरहेको पारिवारीक श्रोतको भनाइ छ ।

दुई महिने दूधे बालबालिकाको लालन–पालनको जिम्मा काठमाडौंको कलंकीस्थित नमुना प्रगतिशिल महिला समाजले लिन चाहेको संस्थाकी अध्यक्ष कोपिला कुँवरले बताइन् । उनी बच्चाको जिम्मा लिनकै लागि काठमाडौंबाट आठबिसकोटको राडीबजार आइपुगेकी छिन् ।

तर, लालन–पालनका लागि राम्रोसँग नबुझेर जो पायो त्यसैसंग बच्चाहरुलाई जिम्मा नदिने महिला तथा बालबालिका कार्यालय, रुकुमले जनाएको छ । कार्यालयले दिएको जानकारी अनुसार प्रगतिशिल महिला समाज केन्द्रको वारेमा स्पष्टसँग बुझेर मात्रै बच्चाहरुलाई लिन दिने वा नदिने भन्ने निर्णय हुने छ ।

विशेष