राजनीति

एउटै टेलिभिजन कार्यक्रमले देउवालाई ‘ड्यामेज’ गर्ने त हैन !

एउटै टेलिभिजन कार्यक्रमले देउवालाई ‘ड्यामेज’ गर्ने त हैन !

असार १९ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार राति कार्यक्रम साझा सवालमा आफ्नो धारणा व्यक्त गरेपछि सामाजिक सञ्जालमा उनीप्रति रोष प्रकट हुन थालेको छ ।

कार्यक्रममा सहभागी भएका एक युवकलाई उनले ‘तपाई बढी बोल्दै हुनुहुन्छ’ भन्दै हप्काएका थिए । त्यस्तै नेपालमा नेपाली जनताको सक्षम प्रधानमन्त्री कहिले बन्छन् भन्ने प्रश्नमा पनि उनी आक्रोशित भएका थिए ।

सहभागीले बेलायतमा अक्सफोर्डमा पढेका सक्षम व्यक्तिहरु प्रधानमन्त्री बन्छन्, हाम्रोमा सक्षम प्रधानमन्त्री कहिले बन्छन् भन्ने प्रश्नमा प्रधानमन्त्री देउवाले भने, ‘नेपालमा अक्सफोर्ड कहाँबाट ल्याउँ ? ’

नेपालमा अक्सफोर्ड कसैले पनि नखोजेको तर कुरा बुझ्न नसकेको भन्दै प्रधानमन्त्री देउवालाई ‘मन्द बुद्धि’ भएका भन्दै आलोचना भइरहेको छ ।
कार्यक्रममा प्रधानमन्त्रीलाई सोधियो ‘सुशीला कार्कीको महाभियोग किन फिर्ता लिएको ? ’ उनले भन्छन् ‘त्यस्तै सहमति भयो ।’

फेरि सोधिन्छ, ‘के सहमति भयो ?’
उनले भन्छन्, ‘भयो नी म भन्दिनँ ’
फेरि सोधिन्छ, ‘अलिकति भनिदिनुस न ।’
उनले भने, ‘के जबर्जस्ती गर्न पाइन्छ ?’

वास्तवमा जनताका प्रधानमन्त्रीले कानुनले गोप्य राख्नु भने बाहेकमा जवाफ दिनु पर्छ । पारदर्शी हुनु पर्छ । तर उनी देखिए अनौठा ।
प्रधानमन्त्री देउवा हुन्छ वा हुँदैन बाहेक उत्तर दिन रुचाउँदैन रहेछन् भन्ने पनि स्पष्ट देखिन्थ्यो ।

भारतमा बनेको ‘नायक’ नामक फिल्ममा एउटै टेलिभिजन अन्तर्वार्ताले एक नेता पात्रको राजनीतिक करिअर समाप्त हुन्छ । प्रधानमन्त्री देउवाको हकमा त्यस्तो त नहोला । तर उनको साझा सवाल कार्यक्रममा देखाएको शैली भने कता कता फिल्मको अन्तर्वार्तासँग मेल खाने जस्तो देखिन्थ्यो ।

किनभने प्रधानमन्त्री देउवा र फिल्मका नेता दुवैले कुरा लुकाउन खोजेको देखिन्छ ।

सुशीला कार्कीको महाभियोग प्रस्ताव फिर्ता लिने सहमति कसरी भयो ? यो प्रश्नको जवाफ जनताले प्रधानमन्त्रीसँग माग्न पाउँछन् । तर प्रधानमन्त्रीले दिन्न भन्न पाउँदैनन् ।

नेपालमा जे पनि ‘चल्ने’ भएकोले यस्ता कुराको कुनै अर्थ राख्ने गरिँदैन ।

विशेष