देउवाको जवाफको त के कुरा ! प्रश्न पनि सफा नियतले सोधिएको थिएन
असार २० । प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यक्रम साझा सवालमा दिएको जवाफबारे आमरुपमा नकारात्मक प्रतिक्रिया आएका छन् । उनको जवाफ मात्रै होइन प्रश्नकर्ताको प्रश्नमै पनि अहिले धेरै शंका उत्पन्न भएका छन् । कतिपयले त एक प्रश्नकर्ता नियोजित रुपमा कार्यक्रममा गएका थिए, साझा सवालले प्रायोजन गरेको प्रश्न उनले सोधका हुन् भन्नेहरु पनि छन् । अर्थात प्रधानमन्त्री देउवाको जवाफ त ध्वस्त छँदै थियो, प्रश्न गर्नेको नियत पनि सफा भने थिएन भनेर टिप्पणी भइरहेको छ ।
एक प्रश्नकर्ताले बेलायतका प्रधानमन्त्रीहरुले अक्सफोर्ड पढेका छन् । नेपालमा सक्षम प्रधानमन्त्री छैनन् भन्ने आशयमा प्रश्न सोध्छन् । ७० वर्ष यता सबै अक्सफोर्डका उत्पादन नै प्रधानमन्त्री भएको उनको दावी छ । तर सत्यता त्यस्तो छैन ।
७० वर्ष यता अर्थात सन् १९४६ यताको हेर्ने हो भने बेलायतमा १४ जना प्रधानमन्त्री भएका छन् । ती मध्ये १९४० देखि १९५५ सम्म गरेर विन्सटन चर्चिल दुई पटक प्रधानमन्त्री भए । चर्चिल अक्सफोर्ड त के कुनै कलेज नै गएनन् । उनले स्कुल मात्रै पढेका थिए । उनको स्कुलको नाम थियो ‘ह्यारो स्कुल ।’
सन् १९७६ देखि ७९ सम्म प्रधानमन्त्री भएका जेम्स कलघनले पनि कलेजमा खुट्टा राखेका थिएनन् । उनले नर्दन सेकेन्डरी स्कुलमा पढेका थिए ।
त्यस्तै १९९० देखि ९७ सम्म प्रधानमन्त्री भएका जोन मेजरले रुट्लिस स्कुल पढे, कलेज पढेनन् । गोर्डन ब्राउन प्रधानमन्त्री भएको पनि धेरै भएको छैन । उनले कलेज त पढे तर अक्सफोर्ड होइन इडेनवर्ग विश्वविद्यालयमा पढेका थिए ।
बेलायतमा सबैभन्दा धेरै प्रधानमन्त्री जन्माउने विश्वविद्यालय भने अक्सफोर्ड नै हो ।
प्रश्नकर्ताको अर्को प्रश्न पनि आग्रहपूर्ण देखिन्छ । उनले भने कि लि क्वान युलाई सिंगापुरलाई ढुंगाबाट हिरामा बदलिदिए । तर तपाईलाई नेपाल अर्थात हिरा दिइएको थियो । तपाईले ढुंगा बनाउनु भयो । अब भन्नुस यसको सजाय कसलाई दिने ?
यो प्रश्न पनि प्रायोजित वा अर्को आशयले भरिएको लाग्छ । किनभने नेपाललाई हिराबाट ढुंगामा शेरबहादुर देउवाले बदलिदिएको प्रश्नकर्ताले प्रश्नमै प्रमाणित गरिदिएका छन् । नेपालको यो हालत हुनुमा देउवा दोषी छन्, तर उनी मात्रै दोषी हुन् ? बाँकी नेता दूधले नुहाएका हुन् त ?
प्रधानमन्त्री देउवा यो सहित चार पटक प्रधानमन्त्री बनेका हुन् । प्रश्नकर्ताले देउवालाई भन्छन् कि तपाई नेपालको राजनीतिबाट कहिले विस्थापित हुने ?
वास्तवमा यो प्रश्न पनि लोकतान्त्रिक मान्यताबाट विमुख लाग्छ । किनभने प्रश्नकर्ताको चाहना बमोजिम देउवा राजनीतिबाट विस्थापित हुन पर्दैन । किनभने जति जतिपटक निर्वाचन हुन्छ, जनताले उनैलाई चुन्छन् । देशभरबाट जनताले चुनेका प्रतिनिधिबाट उनी चुनिएर प्रधानमन्त्री भएका छन् । प्रश्नकर्ताको प्रश्न नै लोतान्त्रिक मूल्य मान्यताबाट केही पर छ । किनभने देउवालाई विस्थापित गर्ने भनेको जनताले मात्रै हो । ७० वर्षदेखि गलत नेताले देशलाई दुःख दिए भनेर मात्रै पुग्दैन अब । ७० वर्षदेखि गलत नेता छान्ने जनता चाहिँ सधै असल नै भइरहने हुन्छ त ?
सिंगापुर, चाइना, अमेरिका बेलायतमा उत्कृष्ट विद्यार्थी नै प्रधानमन्त्री राष्ट्रपति बनेका छन् । नेपालमा भने त्यस्तो भएन भन्ने जिज्ञासा छ । उल्लेख गरिएका देशहरुमा उत्कृष्ट मात्रै प्रधानमन्त्री बनेको केही निश्चितता छैन । अमेरिकाका सर्वाधिक चर्चित राष्ट्रपति अब्राहम लिंकन अमेरिकामा मात्रै होइन मानव सभ्यताका लागि विश्वमै प्रख्यात छन् । उनी उत्कृष्ट विद्यार्थी कहिले मानिएनन् ।
नेपालमा उत्कृष्ट वा पढेलेखेका प्रधानमन्त्री भएनन् भन्ने तर्कमा पनि कुनै सत्यता छैन । किनभने बाबुराम भट्टराई त कुनै बेला एसएलसीमा बोर्डफस्ट नै भएका व्यक्ति हुन् । धेरै पढेकाहरुबाटै राजनीति राम्रो हुने भएको भए आज सबैभन्दा सफल मन्त्रीहरुमा डा. रामशरण महत, डा. मिनेन्द्र रिजाल, डा. नारायण खड्का, डा.प्रकाशशरण महत, डा.रामवरण यादव आदिको नाम आउँथ्यो ।
केही समय अघि काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले जनप्रतिनिधिका लागि विलासी मोबाइल किन्ने निर्णय गर्छन् । सिंगो काठमाडौं खर्लप्पै सडकमा उत्रिउँला झै गर्यो । सबैलाइै पढेलेखेका सक्षम मेयर, प्रधानमन्त्री चाहिएको छ । तर भोट भने बाउबाजेको पालादेखि जसलाई हालेको हो उसैलाई जनताले हाल्छन् । सक्षम र छविमा कुनै दाग नलागेको एसएलसीमा समेत बोर्ड फस्ट भएका किशोर थापा मेयरमा उठेका थिए । उनैलाई जिताएको भए भइहाल्थ्यो । जनताले भोट दिन्छन् ढुंगामा अनि हिराजस्तो चम्कियोस भन्ने अपेक्षा पनि गर्छन् । हिसाब यहिँ बिग्रेको छ ।