राजनीति

भजनी र कैलारीमा माओवादी केन्द्र विजयी

भजनी र कैलारीमा माओवादी केन्द्र विजयी

 

असार - २० । कैलालीको भजनी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का प्रत्यासी विजयी भएका छन् । माओवादी केन्द्रका प्रमुखका प्रत्यासी शेरबहादुर चौधरी पाँच हजार २२८ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत पुरुषोत्तम शर्माले बताए। 

उनका निकटतम प्रतिद्वन्द्वी नेपाल लोकतान्त्रिक फोरमका केबल चौधरीले पाँच हजार २५ मत प्राप्त गरे। यसैगरी उपप्रमुखमा माओवादी केन्द्रकै छाँयादेवी देवकोटाले पाँच हजार आठ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक फोरमकै धनबासी डगौराले चार हजार ३७८ मत प्राप्त गरे।

नगरपालिकाको वडा अध्यक्षमा वडा नं १ र ५ मा एमाले, २, ४, ८, ९ मा माओवादी केन्द्र, ७ मा कांग्रेस, ३ र ६ मा फोरम लोकतान्त्रिकका प्रत्यासी विजयी भएका छन् । यसैगरी कैलारी गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का लाजुराम चौधरी छ हजार २०४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका राजसमझ चौधरीले पाँच हजार ८८६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत रेवतीरमण पोख्रेलले बताए । 

उपाध्यक्षमा पनि माओवादी केन्द्रकै लक्ष्मी सतगौवा छ हजार ६४मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकै अनिता चौधरीले पाँच हजार ४०७ मत प्राप्त गर्नुभएको छ । कैलालीका १३ स्थानीय तहमध्ये आज दिउँसोसम्म भजनी नगरपालिका र कैलारी गापासहित १० तहको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ । धनगढी उपमहानगरपालिका, घोडाघोडी नगरपालिका र लम्की चुहानगरपालिकाको मत गणना जारी छ । 

विशेष