गीतकार राजा !
हिमाल , समुद्र, खहरे र मरुभूमिहरुमा प्रेम , आत्मियता र राष्ट्रियता खोज्दै गीत लेख्ने राजा ! हिमालको टाकुरामा स्वाभिमान खोज्ने राजा, भूकम्प पछिका पराकम्पहरु जस्तै राजनीतिक पराकम्पहरु मुलुकमा निरन्तर गईरहदा राजालाई देश दुखेको अनुभूति उहाँकै गीतका उद्गारहरुले बोलेका छन्
“बाँच्नु नै छ यदि भने, बाँच नेपाली भै
बोल्नु नै छ यदि भने, बोल नेपाली नै “.. – जी.शाह
जी. शाह, पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहको साहित्यक नाम होे । नेपाली साहित्यको गीति क्षेत्रका शिखर ब्यक्तित्वका रुपमा उहाँलाई चिनिन्छ । बिशेषत गीत लेखनमा रुची राख्नु हुने जी.शाहका गजल र कविताहरु पनि प्रकाशित छन् ।
२०३१ सालमा ‘हे युवा तिमी हौ देशको शक्ति ’ पहिलो रचना प्रकाशित भएपछि २०४२ साल भदौमा श्री ५ को सरकार संचार मन्त्रालय, सूचना बिभागले “जी. शाहका गीतको पर्यावलोकन“ नामको गीति संग्रह भिम खरेलको सम्पादनमा प्रकाशनमा ल्याएको थियो । तथापि अहिलेको युवा पुस्तासँंग उहाँका रचनाहरु पुग्न सकेका छैनन् ।
‘रोएर जन्मने सब, हाँसेर मर्न सिक
मन लिनेलाई मन , हाँसेर दिन सिक
अनुभवको पथ यो, जिन्दगी छ भन्नु
त्यसमा सदैव दिल, खोलेर बाँच्न सिक’ – जी. शाह
मुलुकमा आएको राजनीतिक परिवर्तन पछि उहाँका अजर अमर गीतहरु विरलै मात्र संचारमाध्यमहरुमा सुनिन्छ ।
उहाँका गीतहरुमा प्रकृति र प्रेमका आत्मिय भावहरु पोखिएका हुनाले जीवनको मर्मलाई औधि राम्रोसँग वर्णन गरेको पाईन्छ । राष्ट्रभक्ति र देश प्रेमको आशक्ति पनि उत्तिकै बेजोड पाईन्छ । गीत लेखनमा साथै संगीतमा समेत विशेष रुचि राख्नु हुने जी. शाहका आफ्नै संगीतमा समेत गीतहरु रेकर्ड भएका छन् ।
सुख र दुःखको समिश्रण नै सिंगो जीवन हो भन्ने भावना राख्नु हुने उहाँको रचनामा निराशामा होईन आशामा बांच्नु पर्छ भन्ने मान्यता पाईन्छ ।
अजर अमर कालजयी गीतहरुका सर्जक जी.शाहका रचनाहरुमा लोक प्रिय गायकहरु योगेश बैद्य , बच्चु कैलाश , पुष्प नेपाली , शिव शंकर, प्रकाश श्रेष्ठ , सत्यनारायण राजवंशी , प्रेमध्वज प्रधान , सूर्य थुलुङ, नातिकाजी , फत्तेमान र उदितनारायण झाले स्वर दिएका छन् भने जी.शाह ,शम्भूजीत बासकोटा , शिव शंकर र दीपक खरेलको संगीत रहेको छ ।
(७१ औं शुभजन्मोत्सवको शुभ अवसरमा सरकारको व्यक्तिगत जीवनको सुख , शान्ति , सुस्वाथ्य तथा दीर्घ जीवनको कामना गर्दै हार्दिक मंगलमय शुभकामना चढाउँदछु । –अस्मिता भण्डारी )
प्रस्तुतिः अस्मिता भण्डारी