रोजगार

विदाइमा म्यादी प्रहरीका आँखा रसाए

विदाइमा म्यादी प्रहरीका आँखा रसाए

 

असार - २१ । विदाइका टीका लगाएर प्रमाणपत्र ग्रहण गर्दैगर्दा म्यादी प्रहरी विनिता खड्काको आँखा रसायो । म्यादी प्रहरीमा रहेर दुई महिना प्रहरी कै भूमिका निर्वाह गरेकी उनी विदाइको क्षण तीतो भएकाले आँसु रोक्नै नसकेको बताइन् ।

आज महानगरीय प्रहरी परिसर भक्तपुरमा आयोजित विदाइ कार्यक्रममा यसैगरी धेरै म्यादी प्रहरीको आँखा आँशुले भरिए ।

म्यादी प्रहरीमा छँदा आफूलाई देशको जिम्मेवार सिपाहीको रुपमा पाएको अनुभव उनले व्यक्त गरिन् । भक्तपुरस्थित चाँगुनारायण नगरपालिका–८ जितपुरका २० वर्षीया विनितासँगै अरु म्यादी प्रहरी पनि भावविह्वल भए ।

स्नातक तह प्रथम वर्षमा अध्ययन गर्दै गरेका विनिताले भनिन् – “म देशको सिपाही भइसकेको थिएँ । प्रहरी मै रहेर देशको सेवा गर्ने चाहना म्यादीमा आएपछि पलायो । अहिले विदाइ भएर जाँदाको क्षण खुशीभन्दा पनि बढी दुःख लागिरहेको छ । सरकारले हामीलाई नै प्रहरीमा भर्ना गर्ने अवसर दिए हुन्थ्यो ।”

सिन्धुपाल्चोक घर भएका व्यञ्जना योञ्जनको चाहना पनि अधूरै रह्यो । पहिलो चरणको चुनावदेखि अहिलेसम्म सुरक्षा फौजी भएर बस्न पाएकामा खुशी लागेपनि अहिले विदाइ भएर जाँदा भने मन निकै दुखेको बताइन्।

भक्तपुर ताथलीका रोजिन गिरीले पनि विदाइ भएर जाँदाको क्षण पीडादायी भएको अनुभव सुनाइन् । “म्यादीमा भर्ना हुन आउँदा छनोटकै क्रममा जति उत्साह भरिएको थियो, विदाइ हुँदा त्यति नै पीडा भएको छ,” उनले भनिन् ।

प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईले भक्तपुरमा रहेका ६०८ म्यादी प्रहरीलाई आज प्रमाणपत्र दिएर विदाइ गरेका थिए ।

विशेष