राजनीति

नेपाल–भारतका सम्पदा जोडेर शिव परिपथको प्रस्ताव

नेपाल–भारतका सम्पदा जोडेर शिव परिपथको प्रस्ताव

 

असार - २३ । नेपालको धार्मिक पर्यटन प्रवद्र्धनका लागि पशुपतिनाथ–चौसठ्ठी शिव लिङ्ग र भारतका विश्वनाथ एवम् केदारनाथलाई जोडेर शिव परिपथ (सर्किट) निर्माणको प्रस्ताव अघि सारिएको छ ।

भूकम्पअघि जीर्ण बनेको र भूकम्पले क्षति पु¥याएका पशुपति क्षेत्रका सम्पदा पुनःनिर्माण गरी पशुपति क्षेत्रमा आज आयोजित हस्तान्तरण कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टण्डनले नेपाल–भारतको समग्र पर्यटन प्रवद्र्धनका लागि शिव परिपथको आवश्यकता औँल्याए।

परिपथ निर्माण गरिए पर्यटनका माध्यमबाट दुवै देशको आर्थिक उन्नतिमा सहयोग पुग्ने भएकाले कोषका तर्फबाट प्रस्ताव गरी प्रक्रिया अघि बढाइने उनको भनाइ थियो ।

चौधरी फाउन्डेसनको सहयोगमा वत्सलेश्वरी मन्दिर, वत्सलेश्वरी पाटी, मङ्गलागौरी, अनन्त आदित्य नारायण र पञ्च गणेश मन्दिर एवम् खानेपानी धारा मर्मत सम्भार गरिएको हो । फाउन्डेसनको आर्थिक सहयोगमा २०७२ मङ्सिरदेखि मर्मत सुरु गरी हालै सम्पन्न गरेर आज कोषलाई हस्तान्तरण गरियो ।

फाउन्डेसनले रु ७७ लाखको लागतमा सम्पदा पुनःनिर्माण गरेको चौधरी ग्रुपका सञ्चार अधिकृत मधुसुदन पौडेलले जानकारी दिए । “दोस्रो चरणमा भष्मेश्वर घाट र आर्यघाट पनि जीर्णोद्धार गर्ने कार्यक्रम रहेको छ, यी दुई सम्पदा पुनःनिर्माणका लागि एक करोड ५४ लाख लाग्ने अनुमान गरिएको छ”– उनले भने ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जिभ सिंह पुरीले धार्मिक, सांस्कृतिक कारणले नै नेपाल–भारतबीच जनस्तरमा सुमधुर सम्बन्ध रहेको चर्चा गरे । पशुपतिनाथमा दर्शन गरी गुरु नानक मठ र निर्मल अखडासमेत पुग्नुभएका राजदूत पुरीले पशुपति क्षेत्र धार्मिक सद्भावको स्थल बनेको अनुभव आफूले गरेको सुनाए।

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले कोषले जग्गा उपलब्ध गराएमा काठमाडौँमै शाश्वत धामको उपत्यका केन्द्र बनाउन फाउन्डेसन तयार रहेको जानकारी गराए । “आमाको अन्त्येष्टिका बेला पशुपति क्षेत्रका धार्मिक, सांस्कृतिक सम्पदा संरक्षणका लागि केही गर्ने इच्छा जागेको हो, लुम्बिनीमा पनि काम गर्ने तयारी गरेका छौँ”– उनले भने ।

सो अवसरमा कोषका सदस्य सचिव टण्डनले कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटारमा रहेको ५३६ रोपनी जग्गामा धाम बनाउन कोष सञ्चालक परिषद्मा प्रस्ताव गरिने प्रतिबद्धता जनाए । विकासका लागि जनसहभागिता कार्यक्रम आह्वान गरेपछि फाउन्डेसनले सम्पदा पुनःनिर्माणको प्रस्ताव गरेको सो अवसरमा जानकारी गराइयो ।

पुरातत्व विभागका पूर्वमहानिर्देशक साफल्य अमात्यले सम्पदा पुनःनिर्माणको काम सरकारले मात्र गर्न नसक्ने भएकाले जनसहभागिता र सामाजिक उत्तरदायित्वका माध्यमबाट समेत काम गर्नुपर्नेमा जोड दिए ।

विशेष