राजनीति

प्रेरक व्यक्तित्व नहुँदा काँग्रेसलाई घाटा: वरिष्ठ नेता पौडेल

प्रेरक व्यक्तित्व नहुँदा काँग्रेसलाई घाटा: वरिष्ठ नेता पौडेल

 

असार - २३ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रेरक व्यक्तित्व नहुँदा काँग्रेसलाई घाटा भएको बताएका छन् ।

जिपी कोइराला श्रम प्रतिष्ठानले आज स्व गिरिजाप्रसाद कोइरालाको ९४ जन्मजयन्तीका अवसरमा आयोजना गरेको ‘जिपी र मजदुर आन्दोलन’ विषयक अन्तरक्रियामा नेता पौडेलले गिरिजाप्रसादजस्ता व्यक्तित्वको कमीले काँग्रेसको अहिलेको स्थिति आएको विचार व्यक्त गरे।

उनले शान्ति र क्रान्तिलाई मिलाएर अघि बढाउन सक्ने नायक गिरिजाबाबु मात्र भएको उल्लेख गर्दै दुई विषयलाई मिलाएर जीवनपर्यन्त अनवरत रुपमा पार्टी, प्रजातन्त्र र लोकतन्त्रका लागि काम गरेको स्मरण गरे ।

वरिष्ठ नेता पौडेलले स्थानीय निर्वाचनमा जनताबाट काँग्रेसले सुधार्नुपर्ने सन्देश पाएकाले काँग्रेसलाई सही ट्र्याकमा ल्याउन सबै मिलेर काम नगरेमा ढिला हुने बताए । उनले भने, “अहिले सबै बिपी कोइराला हुन खोजिरहेको देखिन्छ तर उहाँलाई साँच्चिकै बिपी बनाउन सहयोग गर्ने सुर्वण शमशेर र जिपी बन्न कोही नखोज्ने कारणले पार्टीमा समस्या देखिरहेको छ, पार्टी पुनःपहिलेकै अवस्थामा फर्काउन सामूहिक रुपमा लाग्नुपर्छ ।”

सांसद रामहरि खतिवडाले नेपालको राजनीतिमा मजदुरका विषयमा काम गर्ने विषयमा गिरिजाप्रसाद कोइरालाको तुलना गर्ने कोही नभएको बताए।

संसारमा जति आन्दोलन भएका छन् ती सबै मजदुरको योगदानले भएको छ, पार्टीले त्यो बिर्सन हुन्न, बिपी, कृष्णप्रसाद र गिरिजाबाबुको पार्टी आज खस्किँदै छ, पार्टीलाई गोजीबाट चलाउने चेष्टा भइरहेको छ यसको अन्त्य गर्नुपर्छ”– उनले भने ।

नेपाल टे«ड युनियन काँग्रेसका पूर्वअध्यक्ष लक्ष्मणबहादुर बस्नेतले नेता र नीतिबीचमा तालमेल हुनपर्ने भन्दै पार्टीको भविष्य नरहे टे«ड युनियनको भविष्य नरहने बताए। 

विशेष