राजनीति

'एमालेकै कारण देश अनिर्णयको बन्दी'

'एमालेकै कारण देश अनिर्णयको बन्दी'

 

असार - २४ । नेपाली काँगे्रसका केन्द्रीय सदस्य महेन्द्र यादवले संविधान संशोधन गर्न नदिई नेकपा (एमाले)ले मुलुकमा सधैँभरि द्वन्द्व कायम राखी आफ्नो शक्ति मजबुत बनाउने रणनीतिक चाल चालिरहेको बताएका छन् । 

रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उनले संविधान संशोधन गर्न नदिई संविधानलाई सर्वस्वीकार्य बनाउन असहयोग जारी राखेमा ऊ इतिहासमा दोषी हुनुपर्ने बताए। 

नेपाली काँगे्रस र नेकपा (माओवादी केन्द्र) दुई शक्ति मिलेर संविधानलाई मधेसी जनताको पनि अपनत्व गराउने प्रयास गरिरहेको र यसमा प्रधानमन्त्री सफल हुने उनले बताए । 

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य महेन्द्रबहादुर शाहीले संविधान संशोधन, प्रदेश तथा सङ्घको निर्वाचनमा नेकपा (एमाले) बाधक बनिरहेको अारोप लगाउँदै एमालेकै कारण देश अनिर्णयको बन्दी बनिरहेको बताए । उनले संविधानलाई संस्थागत गर्ने जिम्मेवारी सरकारी दलहरुसहित प्रमुख प्रतिपक्षको पनि रहेको चर्चा गरे। 

एमाले प्रदेश नं २ का संयोजक सत्यनारायण मण्डलले मधेसी जनताको समस्या समाधान गर्न एमाले कहिल्यै बाधक नबनेको उल्लेख गर्दै मधेसी समुदायमाथिको विभेद भने अझै समाधान नभएको उल्लेख गरे । उनले सरकारले संविधान संशोधन प्रस्ताव टेबुल गरेपनि पास गर्ने वातावरण तयार नगरेको विचार व्यक्त गरे। 

राष्ट्रिय जनता पार्टीका नेता महेन्द्रराय यादवले राजपाले प्रदेशको सीमाङ्कन निर्धारण गर्ने उच्चस्तरीय आयोगको प्रतिवेदनअनुसार १४ प्रदेश बनाउने तथा पहिचानका आधारमा नामाङ्कन गर्ने आफ्नो माग नत्यागेको बताए । 

आफूहरुको मूल माग संविधान संशोधन रहेको र सरकारसँगको तीनबुँदे सहमतिअनुसार स्थानीय निकायको सङ्ख्या थप, आफ्ना कार्यकर्तामाथिको झुठा मुद्दा खारेजी तथा मृतकलाई शहीद घोषणा नभएसम्म तेस्रो चरणको निर्वाचनमा राजपाले भाग नलिने र एक साताभित्र सरकारलाई दिएको समर्थन फिर्ता लिने बताए ।

विशेष