राजनीति

मधेसी दलले तराईलाई एमाले मुक्त बनाउने भनेका थिए, झन्डै आफै मुक्त भए

मधेसी दलले तराईलाई एमाले मुक्त बनाउने भनेका थिए, झन्डै आफै मुक्त भए

असार २४ । दोस्रो चरणमा निर्वाचन भएका तराईका १२ जिल्लाका दुईतिहाइभन्दा बढी तह एमाले–कांग्रेसले जितेका छन् । १ सय ३० मध्ये शुक्रबारसम्म १ सय २४ तहको नतिजा सार्वजनिक हुँदा एमाले–कांग्रेसले मात्रै ९५ तहमा प्रमुख जितेका छन् । एमालेले ५६ तह जितेर पहिलो शक्ति बनेको छ भने कांग्रेसले ३९ तह जितेको छ ।

परिणाम आउन बाँकी रहेका ६ तहमध्ये मोरङको विराटनगर महानगरपालिका, धनपाल गाउँपालिका, झापाको मेचीनगर र कैलालीको धनगढी नगरपालिकामा कांग्रेस र झापाको अर्जुनधारा र कञ्चनपुरको पुनर्वासमा एमालेले अग्रता लिइरहेका छन् ।
माओवादी केन्द्रले १२ वटा तह जितेर तराईका जिल्लामा पनि तेस्रो स्थान सुरक्षित बनाएको छ । संघीय फोरम र नयाँ शक्तिको गठबन्धनले ८ तह जितेका छन् भने लोकतान्त्रिक फोरमले ६ तह जितेको छ । राप्रपाले ४ तह, स्वतन्त्र उम्मेदवारले ३ तह जितेका छन् । स्वतन्त्रबाट विजयी निर्वाचन बहिष्कार गरेको राजपाका कार्यकर्ता हुन् ।

कांग्रेस–माओवादीको भन्दा एमालेको बढी
तराईका १२ जिल्लाको नतिजाअनुसार कांग्रेस–माओवादीको भन्दा एमालेले बढी तह जितेको छ । कांग्रेस र माओवादी केन्द्रले स्थानीय तहको प्रमुख जितेको सिट जोड्दा ५१ हुन्छ । तर, एमाले एक्लैले ५६ स्थानमा प्रमुख पद जितेको छ ।

 

प्रदेश नं. १ मा एमाले–कांग्रेसबीच प्रतिस्पर्धा
प्रदेश नम्बर १ का तराईका चार जिल्लामा एमालेले १९, कांग्रेसले १८ तहमा प्रमुख पद जितेका छन् । माओवादी केन्द्रको भने २ तहमा मात्र प्रमुख पदमा जित दर्ता गराएको छ । झापाका १५ तहमध्ये एमालेले ६, कांग्रेसले ४ र राप्रपाले ३ तह जितेका छन् । बाँकी दुईमध्ये कांग्रेस र एमालेले एक–एक तहमा अग्रता लिइरहेका छन् । मोरङका १७ तहमध्ये कांग्रेसले ७, एमालेले ५, माओवादी केन्द्रले १, नयाँ शक्ति र संघीय फोरम गठबन्धनले १ तथा लोकतान्त्रिक फोरमले १ तहको प्रमुख जितेका छन् । मतगणना जारी रहेको विराटनगर महानगरपालिका र धनपाल गाउँपालिकामा कांग्रेसको अग्रता छ ।
नयाँ पत्रिकाबाट

विशेष