खाँडोको बाढीले सप्तरीमा वितण्डा, कोशी ब्यारेजमा हाइ एलर्ट
सप्तरी । दुई दिनको लगातार वर्षापछि खाँडो नदिमा आएको बाढीले सप्तरीका आधा दर्जन गाउँ डुबानमा परेका छन् भने वाढिमा परेर एक जना वेपत्ता भएका छन् ।
खाँडो खोलामा आएको बाढीले भत्काएको बाँध मर्मतका क्रममा नेपाली सेना, प्रहरी र स्थानीयवासीको टोलीसँगै रहेका राजविराज १५ स्थित देउरी भरुवा गाउँका ५५ बर्षिय डोमी यादव वेपत्ता भएका हुन् ।
कवेपत्ता भएका यादव फेला नपरेपछि ईटहरी स्थित नेपाली सेनाको गोताखोर टोली झिकाई खोजी भईरहेको छ । पानी पसेर राजविराज स्थित विरोल र आसपासका गाउँ डुवानमा परेका छन् । खोलाको बाँध भत्किएर विरौल, भेरिया, कोईलाडी तिलाठी, कोईलाडी बसाईन, रम्पुरा मल्हनियाँ, देउँरी भरुवा, सकरपुरा, लौनिया लगायतका गाउँ जलमग्न भएको स्थानीयवासीले जानकारी दिएका छन् ।
बाढीले सयौ विघा धान खेत डुवानमा पार्दा लाखौंको क्षति भएको पिडितहरुले बताए। यसैगरी वाढिकै कारण तिलाठि–राजविराज सडकखण्डको आवागमन वन्द भएको छ ।
यस्तै पूर्वी पहाडी क्षेत्रमा लगातार भएको वर्षाले सप्तकोशी नदीमा पानीको वहाव वढेपछि कोशी ब्यारेजमा खतराको संकेत स्वरुप रातो वत्ति वालिएको छ । कोशीमा १ लाख ५० हजार क्युसेक पानीको बहाव भएपछि रातो झण्डा र रातो बत्तिको प्रयोग गरिन्छ ।
ब्यारेजमा विहिवार प्रतिसेकेण्ड २ लाख ५० हजार ५ सय ९० क्युसेक पानीको बहाव रहेको ब्यारेज स्थित नियन्त्रक शाखाले जनाएको छ । ब्यारेजका ५६ मध्ये ३० वटा ढोका खुल्ला गरिएको छ । पानी पर्ने क्रम जारी रहेकोले कोशी नदीमा प्रत्येक घण्टा पानीको बहावमा बृद्धि भइरहेको छ ।