भरतपुर १९ मा २० गते चुनाव, आजैबाट शून्य समय सुरु
साउन १७ । चितवनको भरतपुर महानगरपालिका वडानम्बर १९ मा यही साउन २० गते पुनः निर्वाचन हुने भएको छ ।
निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार बसेको सर्वदलीय बैठकबाट निर्वाचन मिति तोकिएको हो । निर्वाचनको लागि आजै्बाट शून्य समय सुरु भएको छ । शून्य समयमा चुनाव प्रचार प्रसार गर्न पाइँदैन ।
नेकपा एमालेका प्रतिनिधिहरुले २१ गते चुनाव गराउन प्रस्ताव गरेको थियो । तर, कांग्रेस, माओवादी लगायत दलका नेताहरुको सुझावमा मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले २० गते नै चुनाव गराउने निर्णय भएको जानकारी गराएका छन् ।
पहिलो चरणको स्थानीय चुनावमा वडानम्बर १९ को मतगणना हुँदैगर्दा मतपत्र च्यातिएपछि पुनः चुनाव गर्न लागिएको हो । पुनः चुनाव गराउने यसअघिको निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो । तर, सर्वोच्चले आइतबार सदर आयोगको निर्णयलाई सदर गरेपछि निर्वाचन अधिकृतको कार्यालयले पुनः निर्वाचन गराउन लागेको हो ।
भरतपुर महानगरपालिकाको मेयरमा एमालेका देवी ज्ञवाली र कांग्रेस माओवादी गठबन्धनबाट माओवादी उम्मेदवार रेणु दाहाल प्रतिस्पर्धामा छन् ।
bharatpur