२४ घण्टाभित्र देश टुक्रिन्छ भन्ने भट्टराई आफै एक्लिँदै
काठमाडौं । विल्कुलै फरक, नयाँ र वैकल्पिक राजनीतिक दल निर्माण गर्ने उद्देश्यसहित नयाँ शक्तिको निर्माणमा लागेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई दुई वर्षमै एक्लिएका छन् । ३५ वर्षको कम्युनिस्ट राजनीतिबाट एकाएक ‘नयाँ कोर्स’ सुरु गरेका भट्टराई आफ्नो अभियानमा कामयावी हुन सकेनन् ।
अन्ततः उनी अहिले आफैंले सुरु गरेको अभियानमा झन्डै ‘एक्लो दौडाहा’ मा छन् । शुक्रबार मात्रै उनलाई औपचारिक रूपमा रामचन्द्र झा, रामकुमार शर्मालगायत मधेसी नेताले साथ छाडेका छन् । ०४० सालदेखि भट्टराईका हरेक ‘स्टेप’ मा साथ दिँदै आएका नेता देवेन्द्र पौडेललगायतले ‘सम्बन्धविच्छेद’ को अन्तिम तयारी गर्दै छन् ।
भट्टराईले ०७० को चैतदेखि नेपालमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकताका विषयमा बहस चलाउँदै ‘नयाँ शक्ति निर्माण’ को नेतृत्व लिने प्रयास गरेका थिए । तीन दशक बढी समय कम्युनिस्ट पार्टीमा बिताएका उनले ०७२ असोज ९ देखि भने ‘आफैंले योगदान गरेको कम्युनिस्ट पार्टीसँग डिभोर्स’ गर्दै ‘औपचारिक’ रूपमै नयाँ राजनीतिक कोर्स सुरु गरेका थिए ।
तर, उनले बनाउन खोजेजस्तो नयाँ शक्ति दुई वर्षको यो अन्तरालमा बन्न नसकेपछि अहिले उनलाई साथ दिन पुगेका नेता नै धमाधम पार्टीबाट बाहिरन थालेका छन् । उनलाई पार्टी निर्माण अभियानमा सहयोग गर्ने हस्तीहरू देवेन्द्र्र पौडेल, रामचन्द्र झा टाढिएका छन् । रामेश्वर खनाल, मुमाराम खनाललगायत नेता पहिल्यै उनीबाट अलग भइसकेका छन् ।
भट्टराईले नेपालमा वैकल्पिक राजनीतिक पार्टी बनाउने योजनामा तीन लक्ष्य राखेका थिए, (पहिलो, आफूले निर्माण गर्ने वैकल्पिक पार्टी कुनै पनि वाद÷दर्शनमा आधारित नरहने । दोस्रो, विचारधारा पार्टीको भए पनि जातिवाद र क्षेत्रवादबाट मुक्त हुने र तेस्रो, आर्थिक समृद्धि र विकासलाई मूल ध्येय बनाउने । त्यसपछि नै उनले अगाडि सारेका यिनै तीन लक्ष्यमा जोडिन आइपुगे, विभिन्न प्रवृत्तिका शक्तिहरू ।
माओवादीभित्रै रहँदा अन्तरसंघर्षमा साथ दिँदै आएका अधिकांश नेतादेखि गैरराजनीतिक पृष्ठभूमिका व्यक्तिसम्म भट्टराईका नयाँ सारथिका रूपमा अगाडि देखिए । तर, पार्टीमा आएका विविध प्रवृत्तिका नेताको उचित व्यवस्थापनमा चुक्दा भट्टराई अहिले एक्लिन पुगेको विश्लेषण राजनीतिक वृत्तमा छ ।
कहिल्यै पार्टीमा ‘फस्र्ट म्यान’ भई लिडरसिप नलिएका भट्टराईमा लिडरसिपमा हुनुपर्ने क्वालिटी नदेखिनु र आफ्नो गन्तव्यमा आफैं अलमलिनुले अहिले एक्लिँदै जाने परिस्थिति सिर्जना गरेको बताउँछन्् प्राध्यापक कृष्ण खनाल ।
‘पार्टी भनेको आज बनायो, भोलि नै टुम्पोमा पुग्ने भन्ने त हुँदैन तर बाबुरामजीको पर्सनल बिहेवियर, पर्सनल इन्टेस्ट सबै हेर्दा उहाँमा लिडरसिप गर्ने क्षमताको अभाव देखिन्छ । लिडरसिपका केही क्वालिटी हुन्छन्, त्यसमा उहाँको पुगेको देखिएन,’ खनालले अन्नपूर्णसँग भने, ‘आफूलाई सबैले समर्थन गर्छन् भनेर मान्छेहरूप्रति तत्कालै इम्प्रेसन बनाउने र सुरुदेखि नै आफूले चाल्न खाजेको यात्राका विषयमा कन्फ्युजन पालेर बस्दा उहाँलाई साथ दिनेहरू छुट्दै गए ।’
वैचारिक अस्पष्टता
भट्टराई पार्टी निर्माणको अभियानदेखि नै दुई धारको चेपुवामा परे । माओवादी पृष्ठभूमिबाट गएका नेताहरूका माक्र्सवादी रुझान र गैर(माक्र्सवादी र ब्युरोक्रेसीबाट राजनीति सुरु गर्न खोजेका शक्तिको फरक धारबीचको चेपुवामा भट्टराई सधैँभरि परिरहे ।
त्यसलगत्तै उनले भनिदिए, ‘नयाँ शक्ति कुनै वाद र दर्शनमा आधारित हुने छैन । तर, उनलाई पार्टी निर्माण क्रममा सधैंभरि यही विषयले पिरोलिरह्यो । माओवादी पृष्ठभूमिका नेताले आफूहरूलाई उपेक्षा गरेको तथा ब्युरोक्रेसीबाट आएका अन्यले पार्टीको विभागदेखि अन्य महत्वपूर्ण जिम्मेवारीमा पूर्व माओवादीलाई हाबी गराएको आरोप लागिरह्यो ।
त्यसैलाई चिर्न नसक्नु भट्टराईको मुख्य कमजोरी रहन पुगेको प्राध्यापक कृष्ण खनाल बताउँछन् ।
‘आफ्नो लक्ष्य÷गन्तव्यमा प्रस्टता देखाउन सक्नुपर्छ, राजनीतिमा त्यो भट्टराईले देखाउन सक्नुभएन, त्यसले उहाँलाई अलमल्याइरह्यो,’ खनालले भने, ‘राजनीति र विद्वता फरक विषय हो, बाबुरामको पार्टीमा लागेपछि केही हुन्छ कि भन्ने अवसरवादीको जमात पनि त्यहाँ हाबी हुँदै गयो, यसले पनि उहाँको राजनीतिक यात्रामा असर र्पुयायो ।’
खासगरी भट्टराईले ‘सोसियल पोलिटिक्स’ बुझ्नै नसक्दा अहिलेको अवस्था आइपरेको नयाँ शक्ति निर्माणका क्रममा सँगै रहेका तर अहिले छाडेर विवेकशील साझा पार्टीमा लागेका नेता मुमाराम खनाल बताउँछन् । ‘जुन उद्देश्यसाथ नयाँ पार्टी निर्माण गर्न खोजिएको थियो, त्यसको उल्टो अभियानमा उहाँ (भट्टराई) लाग्नुभयो, जातिवादको प्रवर्तक र माओवादीको आधार छाड्नुभएन, उहाँ असफल हुनुभयो’, खनालले भने ।
पछिल्लो झगडाको बीउ
वैचारिक– राजनीतिक विषयमा भट्टराईको विद्वतामाथि ‘अति विश्वासपात्र’ मानिएकै देवेन्द्र पौडेललगायत नेताले प्रश्न उठाए । पार्टीको विचार, कार्य्दिशा र नेतृत्वमा अलमलमा रहेको प्रश्न पौडेलले उठाएपछि अहिले भट्टराईले पौडेललगायत १५ जनालाई २४ घन्टे प्रस्टीकरण सोधेका छन् । शुक्रबार भट्टराईले यस विषयमा प्रस्ट्याउन पौडेललगायत नेतालाई स्पष्टीकरण सोधेका हुन् ।
पौडेलले भने बिहीबार नै नेता वामदेव क्षत्रीलाई साथमा लिएर भट्टराईसँग आफूहरूले नयाँ राजनीतिक बहस सुरु गर्न लागेको जानकारी दिएका थिए । पौडेल पक्षले आफूहरूलाई कारबाही गरे नयाँ कोर्स सुरु गर्न सजिलो हुने ठानेर २६ साउनमा पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गरेका थिए ।
स्थानीय तह निर्वाचनको परिणाम पार्टीको पक्षमा अनपेक्षित आएपछि पौडेल समूह बृहत् राजनीतिक धु्रवीकरणको पक्षमा उभिएको थियो । यसलाई भट्टराईले सुरुमै नकारात्मक रूपमा लिइदिएपछि पौडेलले नयाँ कदम चाल्न लागेको उनको समूहमा अहिले रहेका एक नेताले भने ।
नयाँ शक्तिभित्र रहेका पूर्वमाओवादी पृष्ठभूमिका नेतालाई अहिले लागेको छ(भट्टराईले विगतमा सँगै उनलाई साथ दिएका नेताहरूलाई भुल्दै गए ।’ नेता कुमार पौडेलले भने, ‘भट्टराईले इतिहास बिर्सन खोज्नुभयो, कार्यकर्ताको दुःख–सुखमा रमाउने भन्दा नयाँ गर्ने नाममा मात्रै रमाइरहनुभयो, यसले पार्टी्भित्र असन्तुष्टि ल्यायो,’ पौडेलले भने ।
नेता खिमलाल देवकोटा पनि पछिल्लो चरणमा भट्टराईले पूर्वमाओवादीबाट आएका नेता–कार्यकर्तालाई टाढै राखेर जान चाहँदा असन्तुष्टि चुलिएको बताउँछन् । ‘पूर्वमाओवादीबाट आएकाबाटै संगठन चलाउन खोज्ने, संगठन निर्माणमा प्रयोग पनि गर्ने तर यसरी जाँदा नयाँ शक्ति बन्दैन कि भन्ने त्रास पनि पाल्दै जान थालेपछि नेताले पार्टी छाड्दै जान थाले,’ देवकोटाले भने ।
अबको विकल्प ?
भट्टराईलाई अहिले पूर्वमाओवादी पृष्ठभूमिका गंगानारायण श्रेष्ठ, देवेन्द्र पराजुली र कल्पना धमलाले मात्र साथ दिइरहेका छन् । त्यसबाहेक फरक धारबाट आएका केशव दाहाल, डम्बर खतिवडालगायतले पनि उनलाई साथ दिएका छन् ।
नयाँ शक्ति निर्माण अभियानपछि उनले एउटा ब्रोसरबाहेक राजनीतिक दस्ताबेज लेखनमा भट्टराईले चासोसमेत दिएनन् । पछिल्लो संघीय परिषद् बैठकमा पेस भएको दस्ताबेजसमेत नेता डम्बर खतिवडाले तयार पारेका थिए । माओवादी पृष्ठभूमिका नेतालाई भट्टराईको यो कदम पनि चित्त बुझेको थिएन । उनीहरू भट्टराईसँग त्यसपछि पनि थप सशंकित थिए । भट्टराईले गैरमाओवादी पृष्ठभूमिका नेतालाई महत्व दिन थालेको नेता देवेन्द्र पौडेललगायतलाई चित्त बुझेको थिएन ।
‘भट्टराईले संगठनात्मक पद्धतिमा जोड दिन सक्नुभएन, नयाँ प्रयोग गर्ने नाममा रमाउन मात्र खोज्नुभयो, इतिहासलाई भुल्दै जान थाल्नुभयो, यसले उहाँलाई एक्लो बनाउँदै लग्यो,’ नेता कुमार पौडेलले भने ।त्यसो हो भने अब भट्टराईका अगाडिका विकल्प के ? विभिन्न कोणबाट बहस सुरु हुन थालेका छन् । विश्लेषकका भनाइमा, अब उनीसँग तीन विकल्प छन् । उनी अहिलेकै नयाँ शक्तिका रूपमा राजनीतिक यात्रामा अडिन नसक्ने खालका टिप्पणी पनि हुन थालेको छ ।
‘जातिवाद र माओवादका दुवै अतिवादी चिन्तन लाखापाखा लागेपछि उहाँले आफूलाई नयाँ ढंगले सोचेर वैकल्पिक शक्तिका रूपमा नयाँ ढंगले नेतृत्व गर्ने सम्भावना एउटा देखिन्छ’, खनाल थप्छन्, ‘त्यो भनेको भट्टराईले नयाँ शक्ति, अहिले आएको विवेकशील साझा पार्टीसम्मको एकीकृत नेतृत्व गर्न सक्छन् ।’
भट्टराईका लागि दोस्रो विकल्प भनेको उनी अहिलेको मूल राजनीतिक शक्तिमै फर्कने विकल्प हो । ‘भट्टराई फेरि पनि अहिले रहेकै मूल स्टेपमा रहेको राजनीतिक शक्तिसँगको सहकार्यमा जान सक्छन्, यो पनि एउटा विकल्प छ,’ खनाल भन्छन, ‘त्यो विकल्पमा जाँदा उनलाई सबैभन्दा सहज भनेकै माओवादीमै फर्कने हुन्छ ।’
तेस्रो विकल्प भनेको भट्टराई स्वतन्त्र भएरै बस्ने हो । उनी एकेडेमिक रूपमा अध्ययन÷अध्यापन गराएर बस्न सक्छन् । ‘यी तीन विकल्प मात्रै भट्टराईसँग बाँकी हुनेछन,’ खनालले भने ।
भट्टराईको राजनीतिक उतारचढाव
– चैत, ०७० मा नयाँ शक्ति निर्माणको बहस प्रारम्भ
– ३ असोज ०७२ मा संविधान जारी भएलगत्तै ९ असोजमा एमाओवादी र संसद् सदस्य पद त्याग ।
– ६ र ७ असोज, ०७२ मा नयाँ शक्ति निर्माण अभियानमा संलग्न हुन चाहने पूर्वएमाओवादीको राष्ट्रिय भेला आह्वान ।
– १० माघ ०७२ मा नयाँ शक्तिको अन्तरिम केन्द्रीय परिषद् घोषणा ।
– ३० जेठ ०७३ मा काठमाडौंको रंगशालाबाट नयाँ शक्ति पार्टी गठनको घोषणा ।
ध्रुवीकरण र एकता
– गंगा चौधरी सत्गौवा नेतृत्वको थरुहट तराई पार्टीसँगको एकता
– देवी ओझा नेतृत्वको लोकतान्त्रिक मञ्चसँगको एकता
– प्रकाश विकल्प नेतृत्वको युवा सुशासन अभियानसँगको एकता
– सुनील खड्का नेतृत्वको मातृभूमिका लागि युवा अभियानसँगको एकता
– दानबहादुर चौधरी नेतृत्वको लोकतान्त्रिक फोरमको समूहसँग एकता
– भीमबहादुर कडायत नेतृत्वको माओवादी केन्द्रको समूहसँग एकता
– प्रगतिशील रूपान्तरण समूहसँगको एकता
अन्नपूर्ण पोस्ट्बाट