निर्वाचन आयोगले माग्यो पशुपतिशम्शेरसँग सक्कली हस्ताक्षर यस्तो छ कारण
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विभाजन भएर गठित राप्रपा प्रजातान्त्रिक दर्ताका लागि परेको निवेदनमा निर्वाचन आयोगले आइतबार हस्ताक्षर संकलन गर्ने भएको छ ।
पशुपति शमशेर राणाको नेतृत्वमा नयाँ दल दर्ताका लागि साउन २२ गते निवेदन परेपछि आयोगले हस्ताक्षर संकलन गर्न लागेको हो । आयोगले राणालाई पत्र पठाउँदै निवेदनमा समर्थन जनाउने केन्द्रीय सदस्य र सांसदलाई सक्कल नागरिकतासहित हस्ताक्षरका लागि आयोगमा उपस्थित हुन भनेको छ । पार्टी विभाजनका लागि ४० प्रतिशत केन्द्रीय सदस्य र ४० प्रतिशत सांसद हुनु आवाश्यक छ ।
आयोगले राप्रपाको केन्द्रीय कार्यसमिति १५६ सदस्यीय मानेको छ । नयाँ पार्टीको मान्यता पाउन राप्रपा प्रजातान्त्रिकको पक्षमा कम्तिमा ६२ केन्द्रीय सदस्यले हस्ताक्षर गर्नु आवश्यक छ । यसका अलावा १४ सांसदको हस्ताक्षर आवश्यक भए पनि राप्रपा प्रजातान्त्रिकले आफूसँग १९ सांसद रहेको दाबी गर्दै आएको छ । गत वर्ष राप्रपा र राप्रपा नेपालबीच एकीकरण भएको थियो, त्यसको एक वर्ष बित्न नपाउँदै पार्टी विभाजन भएको हो ।