एमालेले परिचानल गर्यो आफ्ना सबै भातृ संगठन
काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेले बाढीपहिरो प्रभावित जिल्लामा तत्काल राहत र उद्धारमा जुट्न पार्टीका भ्रातृ संगठनहरूलाई निर्देशन दिएको छ । एमालेले संगठनहरूलाई जिल्ला तोकेर नै कामको जिम्मेवारीसमेत बाँडफाँड गरेको छ ।
एमाले मोर्चा संगठनको बैठकले सप्तरीमा युवा संघ नेपाल र भूमिहीन सुकुम्बासी संगठन, सिरहामा अनेरास्ववियु, धनुषामा अखिल नेपाल महिला संघ, महोत्तरीमा लोकतान्त्रिक मधेसी संगठन र लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, सर्लाहीमा अखिल नेपाल किसान महासंघलाई जिम्मेवारी दिएको हो ।
त्यस्तै, रौतहटमा नेपाल बुद्धिजीवी परिषद् र मानव अधिकार एलायन्स, बारामा खेलकुद महासंघ, पर्सामा नेपाल ट्रेड युनियन महासंघ जिफन्ट, झापामा जनसांस्कृतिक महासंघ र मुक्ति समाज, मोरङमा पेसागत महासंघ, सुनसरीमा उद्योग व्यवसायी महासंघ र प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन, बर्दियामा भूपू सैनिक संगठन, बाँकेमा मानव अधिकार एलान्यस र कपिलवस्तुमा मुस्लिम इत्तेहाद संगठन र लोकतान्त्रिक अपांग संघलाई समन्वय गर्ने जिम्मेवारी दिइएको एमालेले जनाएको छ । बैठकले प्रभावित जिल्लामा विभिन्न सामाजिक संघसंस्था, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, प्रशासनलगायतसँग समन्वय गरी काम गर्न निर्देशन दिएको छ ।
यस्तै, कोसी बाँधका ढोका खोल्न सरकारले कूटनीतिक पहल नगरेकामा पनि मोर्चा बैठकले आपत्ति जनाएको छ । ढोका नखुल्दा पूर्वी तराईमा विकराल समस्या आएको एमालेको ठहर छ । राज्यको सम्पूर्ण शक्ति पीडितको उद्धार, राहत तथा पुन: व्यवस्थापनमा लगाउन बैठकले सरकारसमक्ष माग गरेको छ ।