अन्तरवार्ता

काठमाडौंकाे धुलो सफा गर्ने मेरो काम होइन, गर्दिनँः विद्यासुन्दर शाक्य

काठमाडौंकाे धुलो सफा गर्ने मेरो काम होइन, गर्दिनँः विद्यासुन्दर शाक्य

महानगरको मेयरको कुर्सी कस्तो लाग्यो ?
जनताले जिताएर मेयर बनाएका छन्, मेरो दल र मतदाताको शिर निहुरिन दिन्नँ । महानगरको मेयरका जिम्मेवारी धेरै छन्, ती जिम्मेवारी र जनअपेक्षा पूरा गर्नु छ ।

 

तर, बिहानीले दिनको संकेत गर्छ भनेझैँ तपाईंको सुरुआती दिन सकारात्मक देखिएन नि ?
अहिलेसम्म जे–जति टीका–टिप्पणी, आलोचना र चिन्ता प्रकट गरिएका छन्, ती सबै मप्रतिको माया र सद्भावकै कारणले हो । त्यसलाई सकारात्मक ठानेको छु, ‘टेन्सन’ लिएको छैन ।

 

मोबाइल खरिददेखि, गाडी सुविधा र तलबभत्तासम्बन्धी प्रकरण उत्कर्षमा छ, वास्तविकता के हो ?
निर्वा्चित जनप्रतिनिधि प्रविधिमैत्री होऊन् भनेर मोबाइल सुविधा दिने निर्णय गरिएको हो । आजको जमानामा जनप्रतिनिधिलाई स्मार्ट फोन दिनु ठूलो कुरा थिएन । तर, धेरै आलोचना भएपछि त्यसलाई कार्यान्वयन गरिएन । अहिले फेरि मेयरले महँगो गाडी किन्यो भनिएको छ, जुन सरासर गलत हो । किनभने, नयाँ गाडी किन्ने निर्णय चुनावअघि नै भएको हो । म अहिले पनि कार्यकारी अधिकृतले प्रयोग गर्दै आएको पुरानो गाडी नै चढ्छु । नयाँ गाडीमा नम्बर प्लेट नै राखिएको छैन ।

जनप्रतिनिधि रातदिन काममा हुन्छन्, सामान्य कर्मचारी र श्रमिकले त काम गरेपछि ज्याला पाउँछन् भने जनप्रतिनिधिलाई काम अनुसारको माम दिनु अनियमितता होइन । तर, अहिलेसम्म कानुन र मापदण्ड नभएकाले कसैलाई पनि सेवा–सुविधा दिइएको छैन ।

 

तपाईं त महानगरको रैथाने पनि, हिजो र आजको महानगरमा के फरक छ ? राम्रो भएको छ वा बर्बाद ?
हामी सानो छँदा काठमाडौँका सडकमा फोहोर देखिँदैनथ्यो । पहिला बरू घर फोहोर हुन्थे, सडक सफा र चिल्ला थिए । अहिले ठीक उल्टो भएको छ । अहिले घर सबैका सफा छन्, सडक ज्यादै फोहोर र दुर्ग्न्धित छन् ।

दस वर्षअघि र अहिलेको महानगरमा चाहिँ के फरक देख्नुहुन्छ ?
समय धेरै परिवर्तन भएको छ, त्यस अनुसार महानगर पनि बदलिएको छ । ०६२र६३ को जनआन्दोलनअघि पनि धेरै राम्रो थियो, त्यसपछि घर र जनसंख्या ज्यादै थपियो । सडक, ढल र पानी अपर्याप्त भयो, त्यसले समस्या अरू थप्दै गयो । काठमाडौँका रैथाने मात्रै यहाँ हुने हो भने कुनै पनि समस्या हुने थिएन, पानी पनि पुग्ने थियो, सडक पनि खाली नै हुन्छ । तर, अहिले यहाँका भन्दा बढी बाहिरका मानिसले यो सहर भरिएको छ । त्यसैले सरकारले समेत व्यवस्थापन गर्न नसक्नेजस्तो भएको छ । यहाँको मतदाता संख्या पौने तीन लाख छ । तर, जनसंख्याचाहिँ ५० लाखको हाराहारीमा छ । यति सानो सहरमा यत्रो जनसंख्या व्यवस्थापन गर्न सजिलो छैन ।

साँच्चै भन्ने हो भने मेयरको जिम्मेवारी त पौने तीन लाखको मात्र हो किनभने मतदाता त्यति हो । तर, मैले त्यति जनसंख्याका लागि मात्र योजना बनाएर सफल हुन्नँ ।

जनसंख्याको बढ्दो चाप कसरी व्यवस्थापन गर्ने त ?
काठमाडौँमा उपलब्ध सेवा र पूर्वाधार अरू ठाउँमा पनि विस्तार हुनुपर्छ, जनता जुन उद्देश्यका लागि यहाँ आउँछन्, उनीहरूकै ठाउँमा त्यो उपलब्ध भएपछि यहाँको चाप स्वतस् कम हुन्छ । प्रदेश र स्थानीय सरकारमार्फत शक्ति, सेवा, सुविधा विकेन्द्रित गरेर राजधानीमाथिको दबाब कम गर्नुपर्छ, नत्र अहिलेको दबाब धान्न सकिन्न ।

 

प्रदूषणमुक्त काठमाडौँ, सार्वजनिक यातायात सुधार जस्ता तपाईंका अनगिन्ती सुनौला चुनावी प्रतिबद्धता थिए, ती कहाँ पुगे ?
सार्वजनिक यातायात सुधार सुरु भइसक्यो । साझा यातायातसँग सहकार्य गरेर ठूला बस चलाउन पाँच करोड रुपियाँ निकासा दिइसकियो । अब सयवटा साझा बस थपिन्छ । सरकारलाई कम्तीमा सार्वजनिक सवारीसाधनका लागि अलग्गै लेन छुट्याइदिन भनेको छु । सार्वजनिक यातायात मध्यमवर्ग र सर्वसाधारणका लागि हो, त्यो सहज हुनुपर्छ ।

अनि, धूलोबाट कसरी मुक्त हुने त ?
धूलो सफा गर्ने र सडक बनाउने हाम्रो जिम्मेवारी होइन, सडक विभागको हो । विडम्बना † जे कुरामा पनि मेयरले गाली खानुपरेको छ । मेलम्ची र केयूकेएलले नगरवासीलाई नै पानी खुवाउने प्रयास गर्दा धूलो भएको हो । जसले भत्काएको छ, उसैलाई बनाऊ भन्नुबाहेक हामीले गर्न सक्ने केही छैन । तर, अरूले बिगार्ने, मैले गाली खाने काम भएको छ ।

महानगरको मुहार फेर्ने आत्मविश्वास छ उसो भए ?
महानगर फेरिन्छ । महानगरको पुनस्निर्माणको काम अघि बढेको छ, ऐतिहासिक सम्पदाको पुनस्निर्माण र संरक्षणको काम अघि बढेको छ । पूर्वाधारको विकास र सुधार नयाँ प्रविधिमा गर्ने हो । मोनो रेल र मेट्रो रेल सञ्चालन अर्को योजना हो ।

के हो यो मोनो, मेट्रो रेल, स्मार्ट सिटी भनेको ?
मोनो रेल आकाशमा गुड्ने रेल हो । पोल र प्यानल हुन्छ, त्यसैबाट गुड्छ, मोनो रेल आएपछि सडक चौडा गर्नुपर्दैन । तल सडकमा गाडी गुड्छन्, आकाशमा रेल दौडिन्छ । जमिनमुनिबाट पनि रेल कुदाउन सकिन्छ तर खर्चिलो हुने भएकाले हामीले आकाशमा कुद्ने रेल ल्याउन खोजेका हौँ । खर्च अनुसार यात्रु पाएन भने फेरि मोनो रेल असफल पनि हुन सक्छ । जनसंख्याको आकार अनुसार मोनो रेल सञ्चालन गर्नुपर्छ ।

मेट्रो रेलचाहिँ दुई किसिमको छ, एउटा जमिनमुनिबाट, अर्को जमिनमाथिबाट । हामीले ल्याउने मेट्रो रेल जमिनमाथिबाटै गुड्छ । त्यसको पूर्वसम्भाव्यता अध्ययन भएको छ । तर, डीपीआर तयार हुन बाँकी छ । यी दुवै रेल हाम्रै कार्यकालमा ल्याउँछौँ र चढ्छौँ ।

 

स्मार्ट सिटी नि ?
स्मार्ट सिटी काठमाडौँभित्र बन्दैन । तर, स्मार्ट सिटीमा पाइने सुविधा हामीले उपलब्ध गराउने हो । अलग्गै सहर बनाउन यहाँ ठाउँ छैन, त्यसैले स्मार्ट सिटी बनाउनचाहिँ सकिन्न । त्यसको साटो स्मार्ट सिटीको सुविधा दिन सकिन्छ । बिस्तारै ‘पेपरलेस सोसाइटी’मै जाने भनेका छौँ ।

 

केही समयअघि स्कुले नानी नालीमा डुबेको दुई दिनपछि मात्र तपाईं घटनास्थल पुग्नुभयो, तुरुन्तै किन पुग्नुभएन ?
जनताकै काममा व्यस्त थिएँ । अहिले यो अन्तर्वार्ता दिँदा पनि तीनवटा बैठक छाडेको छु । यस्तै हो, समय एक ठाउँ व्यवस्थापन गर्दा अर्को्तिर क्षति भइरहेको हुन्छ । तैपनि, त्यहाँ मैले प्राविधिक निरीक्षण टोली पठाएको थिएँ । म तत्कालै नपुगे पनि कर्मचारी तुरुन्तै पुग्नु नै मेयरको प्रतिनिधित्व हो ।

 

महानगरको बेथिति र अस्तव्यस्तता समाप्त गर्न सार्थक सुरुआत नहुनुमा तपाईंको योग्यता, कर्मचारीको अकर्मण्यता र स्रोत–साधनमध्ये के कुराले बाधा र्पुयाएको छ ?
देश नै संक्रमणमा चलेको छ । त्यसैले एक–अर्कालाई दोष दिनुभन्दा सबै मिलेर काम गर्नुपर्छ, व्यक्तिगत रूपमा म कसैलाई दोष दिन्नँ । अहिले बाहिर जे बुझिएको छ, भित्र त्यस्तो छैन । हामीले जे गरेका छौँ, सार्वजनिक गरेका छौँ । गल्ती सच्याएका छौँ र सकेसम्म राम्रो गर्न खोजेका छौँ । स्थानीय सरकार चलाउने कानुनको अभाव छ, सरकारको आदेशको भरमा चल्नुपरेको छ । सरकारको आदेशमा जनप्रतिनिधिलाई अधिकार नै छैन, विश्वास गरिएको छैन । जनप्रतिनिधिले बिगार्लान् कि भनेर सबै अधिकार कार्यकारी अधिकृतलाई दिइएको छ, त्यसरी कहाँ हुन्छ ? त्यसैले ऐन आएपछि सबै सहज हुन्छ ।

आलोचना मात्रै हुँदा मेयर पद नै त्यागौँजस्तो लाग्दैन ?
त्यस्तो लागेको छैन ।

– नेपाल साप्ताहिकबाट

विशेष