राजनीति मुख्य समाचार

राजीनामा दिन हिँडेका रमनलाई देउवाले पख्नुस् भनेपछि..

राजीनामा दिन हिँडेका रमनलाई देउवाले पख्नुस् भनेपछि..


साउन १७ । पदबाट राजीनामा दिन कार्यालयबाट बिदा भएर सोमबार सिंहदरबार पुगेका महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अझै केही समय पर्खन’ भन्दै फर्काएका छन् ।

महान्यायाधिवक्ता श्रेष्ठ दिउँसो ४ बजे राजीनामा दिने भन्दै कार्यालयबाट बाहिरिएका थिए । तर, प्रधानमन्त्री कार्यालयबाट फर्केका श्रेष्ठले पुनः महान्यायाधिवक्ता कार्यालय पुगेर प्रधानमन्त्रीलाई भेटेर मात्र फर्केको जानकारी गराए । ‘मैले राजीनामाको कुरा गर्दा अहिले पर्खनुस् न भन्ने कुरा भयो,’ प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दे श्रेष्ठले भने ।

राजीनामा दिन हिँडेका उनले कार्यालयमै फर्केर राजीनामा नदिएको सुनाएपछि सरकारी वकिल आश्चर्यमा परे । दिउँसोदेखि नै महान्यायाधिवक्ता कार्यालयमा श्रेष्ठको राजीनामाको चर्चासँगै नयाँ आउने व्यक्तिको विषयमा अड्कलबाजी भएको थियो । प्रधानमन्त्रीले श्रेष्ठको राजीनामा बुझ्न किन नचाहेको हो भन्ने विषय प्रस्ट नभए पनि अर्को व्यवस्था नहुन्जेल पद त्याग नगर्न सुझाएको स्रोतले बतायो । ‘अर्को व्यवस्था नहुन्जेल केही समय नछाड्न कुरा भएको हो । अरू केही कारणजस्तो लाग्दैन,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो, ‘दुई जनाबीच भएको गोप्य वार्ता सबैलाई थाहा हुने कुरा पनि भएन ।’

यसअघि ०४६ सालयता नयाँ प्रधानमन्त्री आउनेबित्तिकै आफ्ना विश्वासपात्रलाई महान्यायाधिवक्तामा नियुक्त गर्ने परम्परा थियो । शेरबहादुर देउवाले प्रधानमन्त्रीमा बहाली भएपछि पनि महान्यायाधिवक्तामा श्रेष्ठलाई केही समय पद नछाड्न भनेका थिए । त्यसबेला तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको सल्लाहअनुरूप देउवाले श्रेष्ठलाई पद नछाड्न भनेका थिए । संवैधानिक एवं कानुनी प्रश्नमा सरकारको बचाउमा प्रतिरक्षा गर्ने भएकाले प्रधानमन्त्रीले आफ्ना विश्वासपात्रलाई महान्यायाधिवक्तामा नियुक्त गर्ने प्रचलन छ ।

अन्नपूर्ण

विशेष