संविधानको दोस्रो संशोधन विधेयक आज निर्णयार्थ पेश गरिदैं
काठमाडौं । सरकारले संसदमा संविधानको दोस्रो संशोधन प्रस्ताव आज निर्णयार्थ पेश गर्ने तयारी गरेको छ ।
संविधान जारी भएदेखि नै असन्तुष्ट मधेस केन्द्रित दलहरुका माग सम्बोधन गर्न सरकारले राष्ट्रिय सभाको प्रतिनिधित्व, वैवाहिक अंगीकृत नागरिकता, भाषा र प्रदेश सिमांकन आयोगको क्षेत्राधिकारसहितका विषयमा संशोधन प्रक्रिया अघि बढाएको हो । विधेयक संशोधन दर्ता गराउनेलगायतका सांसदले आइतबार दोस्रो दिन दफाबार छलफलमा भाग लिएका थिए ।
सत्ता पक्षका सांसदले मधेसी दलका माग सम्बोधन गर्न संविधान संशोधनलाई मतदानमा लैजानुको विकल्प नभएको बताएका थिए । एमालेसहितका प्रतिपक्षी दलका सांसदहरुले भने विधेयक अघि बढाउने सरकारी कदमलाई अनावश्यक भनेका छन् ।
आज अपराह्न बस्ने संसद बैठकमा संविधान संशोधन विधेयक निर्णयार्थ पेश गरिने तय भएको छ । विधेयकमाथि परेका ५० वटा संशोधनलाई क्रमैसँग निर्णयार्थ पेश गर्न लागिएको हो ।
संविधान संशोधन विधेयकको पक्षमा सदनमा तत्काल कायम रहेको कूल सदस्य संख्या ५९२ को दुई तिहाई अर्थात् ३ सय ९५ मत नपरे विपक्षमा जतिसुकै कम मत परे पनि संविधान संशोधन प्रस्ताव अस्वीकृत हुन्छ ।