राजनीति भिडियो स्ट्रेट फरवार्ड

पूर्वजर्नेल डा. बस्न्यातको सनसनीपूर्ण खुलासा : सेनाकै कारण राजतन्त्र अन्त्य भएको हो (भिडियोसहित)

पूर्वजर्नेल डा. बस्न्यातको सनसनीपूर्ण खुलासा : सेनाकै कारण राजतन्त्र अन्त्य भएको हो (भिडियोसहित)

 डा. प्रेमसिंह बस्न्यात, पूर्व जर्नेल, नेपाली सेना

काठमाडौं । डा. प्रेमसिंह बस्न्यात नेपाली सेनाका अवकाशप्राप्त सहायक रथी (जर्नेल) हुन् । उनी नेपाली सेनामा प्रवेश गर्दा मुलुकमा पञ्चायती व्यवस्था थियो । अवकाश पाउँदा परिस्थिति भिन्न भइसकेको थियो अर्थात् मुलुकमा गणतन्त्र आइसकेको थियो । उनले पञ्चायत, बहुदलीय र गणतन्त्र तीन ओटै व्यवस्थामा काम गरे । पञ्चायती व्यवस्थाको अन्त्य भई बहुदलीय व्यवस्था सुरु भएको पाँच वर्षपछि तत्कालीन नेकपा माओवादीले सशस्त्र युद्ध सुरु ग¥यो । माओवादी युद्ध अन्त्य गर्नका लागि सरकारले तत्कालीन शाही नेपाली सेना परिचालन गरेपछि उनी पनि निस्के बन्दुक बोकेर ‘फिल्ड’ मा । माओवादी सशस्त्र युद्धका क्रममा धेरै जिल्ला घुमे पनि ।

ओवादी युद्धका क्रममा भैरवनाथ गण अति नै चर्चामा थियो । खासगरी भैरवनाथ गण माओवादी नेता–कार्यकर्ता र आशंकित व्यक्तिलाई हिरासतमा राखिने ठाउँ भनेर चिनिन्थ्यो । सो गणमा यसरी राखिएका आस्थाका बन्दीलाई धेरै नै अमानवीय व्यवहार गरिएको बताइन्छ । डा. बस्न्यात सोही गणमा थिए । तर उनी त्यसबेला आफूहरुले आस्थाका बन्दीहरुलाई अमानवीय व्यवहार नगरेको, बरु सरकारको आदेश पालना गरेको तर्क गर्छन् ।

 

तत्कालीन सरकारको आदेश पालना गर्दा आफूहरुलाई मानवअधिकार हननको आरोप लागेकोमा उनी दुःख व्यक्त गर्छन् । आफूहरुलाई युद्धमा खटाइँदा मानवअधिकारको म पनि थाहा नभएको, त्यसबारे सैनिक नेतृत्वले यसबारे केही पनि ब्रिफिङ नगरेको, तर पछि मानवअधिकार हननको कुरा उठाएर सैनिक अधिकृतहरुलाई दुःख दिने काम गरेको उनको बुझाइ छ । तर यस विषयमा सैनिक नेतृत्वले जे कदम चाल्नु पथ्र्याे, त्यसअनुसार अघि नबढेकोमा भने उनी दुःख व्यक्त गर्छन् ।

 

डा. बस्न्यातको सैनिक सेवाको उत्तराद्र्धमा मुलुकमा दुई सय ४० वर्ष पुरानो राजतन्त्र अन्त्य भयो । राजा नेपाली सेनाको परमाधिपति पनि थिए । राजतन्त्र अन्त्य भएकोमा उनलाई दुःख पनि लाग्यो । तर तत्कालीन राजा ज्ञानेन्द्र शाहको आफ्नै कुबुद्धिका कारण राजतन्त्रको अन्त्य भएको उनको बुझाइ छ । मुलुकको राजा भन्दा पनि व्यापारी मनस्थिति भएका कारण ज्ञानेन्द्रको पालामा राजतन्त्र अन्त्य भएको उनी दाबी गर्छन् ।त्यसो त, राजतन्त्र अन्त्य हुनबाट जोगाउन नेपाली सेनाको तत्कालीन नेतृत्वले चाल्नुपर्ने कदम पनि नचालेको उनको बुझाइ छ । ‘सैनिक नेतृत्वसहित उच्चपदस्थ सैनिक अधिकृतहरुले मुलुकलाई, राजालाई भन्दा आफ्नो स्वार्थलाई हेरे, राजतन्त्र अन्त्य हुँदा उनीहरु टुलुटुलु हेरेर बसे,’ पूर्व जर्नेल बस्न्यात भन्छन् । ‘राजतन्त्रको अवसान हुँदा प्रधानसेनापति रहेका रुक्मांगद कटवालले चाहेको भए राजा ज्ञानेन्द्र हट्दैनथे, उनले राजा जोगाउन नचाहेकै हुन्,’ पूर्व जर्नेल बस्न्यातले भने ।

 

राजतन्त्रको अन्त्यपछि मुलुकमा संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको सुरु भयो । पहिलो राष्ट्रपति बने डा. रामवरण यादव । र, पहिलो प्रधानमन्त्री बने माओवादी सशस्त्र द्वन्द्व हाँकेका ‘सुप्रिम कमान्डर’ पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तर, नेपाली सेना र प्रचण्ड नेतृत्वको सरकारको सम्बन्ध राम्रो हुन सकेन । प्रचण्ड सरकार प्रधानसेनापति कटवाललाई जसरी पनि हटाउन चाहन्थ्यो । तर राष्ट्रपति यादव उभिए कटवालको पक्षमा । राष्ट्रपति यादवकै कारण कटवाल थमौतीमा परे । प्रचण्ड सरकार भने सरकारबाट बाहिरियो ।

 

पूर्व जर्नेल डा. बस्न्यात भने त्यसबेला तत्कालीन प्रधानसेनापति कटवाललाई हटाउन सफल भएको भए नेपाली सेनाको गौरवशाली इतिहास नै मेटिन सक्ने भनाइ राख्छन् । ‘त्यसबेला प्रधानसेनापति कटवालले जे गरे, ठीक गरे, त्यसेबला उनलाई हटाइएको भए मुलुकमा अर्काे दुुर्दशा सुरु हुन्थ्यो,’ उनले भने ।उनी राजतन्त्र अन्त्य गर्न छिमेकी मुलुक भारत, पश्चिमा राष्ट्रहरु सक्रिय भएर लागेको बताउँछन् । स्वार्थै स्वार्थमा नेपालमा राजतन्त्र र हिन्दु राष्ट्रको अन्त्य गरिएको उनको भनाइ छ । ‘अब उनीहरु नेपाली सेनालाई पनि सक्न खोजिरहेका छन्,’ पूर्वजर्नेल बस्न्यातको बुझाइ छ ।

 

डा. बस्न्यातको कुरा सुन्दा लाग्छ, उनी देशलाई अति नै माया गर्छन् । शव्द शव्दमा उनी देशलाई माया गर्छन् । तर देशलाई माया गर्ने राजनेताको जन्म नभएकोमा उनी दुःखसमेत व्यक्त गर्छन् । उनी राष्ट्रले दह्रो राजनेता नपाएकाले मुलुकको दुर्दशा भएको खुलेरै बोल्छन् । ‘यो देशमा राजनेताको जन्म नै भएन, नेताहरु पनि स्वार्थी र भ्रष्ट भए,’ उनी भन्छन्, ‘शेरबहादुर, ओली, प्रचण्ड सबै भ्रष्ट हुन्, उनीहरु सबैले विदेशीका पैसा खाएका छन्,’ डा. बस्न्यात भन्छन् ।

 

डा. बस्न्यात अवकाशपछि पनि लेखन र प्राध्यापनमा सक्रिय छन् । सैनिक इतिहासमा विद्यावारिधि गरेका डा. बस्न्यातको राष्ट्रिय सुरक्षा र सैनिक इतिहाससम्बन्धी १४ ओटा पुस्तक प्रकाशन भइसकेका छन् । तीन ओटा पुस्तक प्रकाशोन्मुख छन् ।

 

उनी चीनको लसान नर्मल युनिभर्सिटीका गेस्ट प्रोफेसर, काठमाडौं स्कुल अफ ल र काठमाडौं युनिभर्सिटीको भिजिटिङ प्रोफेसरसमेत हुन् ।

डा. प्रेमसिंह बस्न्यात स्ट्रेट फरवार्ड राजतन्त्र

विशेष