राजनीति

देउवाले किन दिए निधीलाई सभापतिको जिम्मेवारी

देउवाले किन दिए निधीलाई सभापतिको जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आफू भारत भ्रमणमा निस्कँदा पार्टीको कार्यभार नेता विमलेन्द्र निधिलाई सुम्पेका छन् । पार्टी बागडोर सम्हालेको डेढ वर्षसम्म पार्टी पदाधिकारीदेखि विभाग गठन गर्न नसकेको भन्दै आलोचना खेपेका देउवाले पार्टीका अन्य गुटको नाडी छाम्न निधिलाई कार्यवाहक दिएको चर्चा चलेको छ ।

निधि देउवाको विश्वासपात्र मानिन्छन् । नेपाल प्रहरीको आइजिपी नियुक्ति विवादमा देउवा र निधिबीच मनमुटाव बढेको विवरण सार्वजनिक भएका थिए । कांग्रेसलाई नजिकबाट नियालिरहेका विश्लेषक पुरञ्जन आचार्य भन्छन्, ‘निधिलाई देउवाले कार्यवाहक दिनु महत्ववपूर्ण कदम हो । पहिला त पार्टी सभापतिले आफ्ना अनुकूलका नेतालाई सेकेन्ड म्यान बनाउने परिपाटी पुरानै हो । दोस्रो २ नम्बर प्रदेशको निर्वाचन पनि हो । देउवाले पार्टीभित्र वरिष्ठ नेता हुँदाहुँदै निधिलाई अगाडि ल्याएर पुस्तान्तरको सन्देश पनि दिन खोजेको देखिन्छ ।

देउवाले बुधबार निधिलाई कार्यवाहक सभापति बनाएको सार्वजनिक भएलगत्तै पौडेल पक्षले असन्तुष्ट जनाएको छ । औपचारिक रूपमा नेताहरूले प्रतिक्रिया नदिए पनि पौडेल समूह देउवाको यो निर्णयबाट रुष्ट छ । पौडेल समूहसहित कांग्रेसका कैयन नेता देउवा आफ्नै समूहका पाका नेता कुलबहादुर गुरुङलाई समेत सम्मान गर्न नसकेको आरोप लगाउँछन् । आफू पछिल्लो समयमा अस्वस्थ रहेकाले पार्टीका गतिविधिबारे कुनै जानकारी नभएको गुरुङले संक्षिप्त प्रतिक्रिया दिए । निधिलाई कार्यवाहक दिएकोप्रति असन्तुष्टि जनाउनुपर्ने औचित्य देख्दैनन् कांग्रेस नेता रमेश रिजाल । देउवाले बुधबारै रिजाललाई अनुशासन समितिको संयोजक बनाएका छन् । उनी भन्छन, ‘पार्टी सभापतिले आफ्नो अनुकूलका मानिसलाई अगाडि नबढाए कसरी काम गर्न सक्छन् ।

रिजालका अनुसार भारत भ्रमणबाट फर्केलगत्तै देउवा पार्टीका बाँकी विभाग पनि गठन गर्ने तयारीमा छन् । ‘यसमा के नौलौ भयो र विगतदेखि जसरी पार्टी चल्दै आएको छ, रिजालले भने । बुधबारै देउवाले ४ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेका छन् । देउवाको मनोनयनमा पर्नेमा हरिप्रसाद नेपाल पाल्पा, राधेचन्द्र यादव बारा, अमृत अर्याल मोरङ र ध्यानगोविन्द रञ्जित काठमाडौं छन्।

अन्नपूर्ण

विशेष