राजनीति

एमालेको चुनावी रणनीतिः लालबाबु काठमाडौँमा, शान्ता पोखरामा उम्मेदवार !

एमालेको चुनावी रणनीतिः लालबाबु काठमाडौँमा, शान्ता पोखरामा उम्मेदवार !

मधेश विरोधीको आरोप खेपिरहेको नेकपा एमालेभित्र तराई मधेशका चर्चित अनुहारलाई राजधानी काठमाडौँ र दोस्रो ठूलो शहर पोखराबाट उम्मेदवार बनाउने बारे छलफल चल्न थालेको छ । मधेश विरोधीको आरोपको जवाफमा एमालेले आफूलाई देश जोड्ने एकमात्र सक्कली शक्ति भएको बताउने गर्दछ । र, त्यही दाबीलाई व्यवहारतः पुष्टि गर्न भन्दै पहाडबाट थारु मधेशीलाई प्रतिनिधित्व गराउने बारेमा एमालेभित्र छलफल चलफल चलेको छ ।

नेपालको राजनीतिमा मधेशबाट पहाडी समुदायका थुप्रैले निर्वाचित हुने अवसर प्राप्त गरेका छन् । काठमाडौँमा पराजित प्रचण्डलाई सिरहाले संसदमात्र बनाएन, दोस्रो पटक प्रधानमन्त्री बन्ने बाटो पनि खुलायो । माधबकुमार नेपाल रौतहटबाट पटक पटक निर्वाचित भएका छन् । यस्ता थुप्रै अनुहार छन् जो खाशमा मधेशी होइनन्, तर मधेश र मधेशीले आफ्नो प्रतिनिधिका रुपमा स्विकार गरेका छन् । अनि पहाडी समुदायबाट कोही मधेशी निर्वाचित भएको छ ? यो प्रश्न पहाडका लागि घनघोर बनेर तेर्सिएको छ । र, जवाफ खोज्न हम्मेहम्मे पर्दछ ।

पञ्चायतकालमा गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंह देशभरीबाट स्नातकका तर्फबाट निर्वाचित भएका थिए । उनले काठमाडौँमा उल्लेख्य मत पाएका थिए । यी र यस्तै छिटपुट उदाहरण मात्र भेटिने गर्दछन् ।

एमालेले यही कुरालाई दृष्टिगत गरी तराई मधेशका चर्चित अनुहारलाई देशका दुई प्रमुख शहरबाट उम्मेदवार बनाउन सक्ने एक केन्द्रीय नेताले बताए । सोका बारेमा नेताहरुका बीचमा चर्चा भइसकेको उनको दाबी छ ।

काठमाडौँबाट लालबाबु पण्डित !

नेकपा एमालेले लालबाबु पण्डितलाई काठमाडौँबाट उम्मेदवार बनाउने सम्भावना छ । सामान्य प्रशासन मन्त्रीका रुपमा अत्याधिक चर्चा र लोकप्रियता बटुलेका पण्डित पहाडी समुदायमा लोकप्रिय रहन सफल मधेशी नेता हुन् । उनलाई काठमाडौँले उम्दा राष्ट्रवादीका रुपमा सम्मान गर्दछ । पण्डितलाई काठमाडौँबाट उठाएर एमालेले इतिहास रच्न चाहेको छ । अर्थात, राजधानीबाट पहिलो मधेशी जनप्रतिनिधि बनाउने पार्टी बन्न चाहन्छ एमाले । काठमाडौँमा मधेशी समुदायको उल्लेख्य बसोबास रहेको तथा पण्डितको लोकप्रियता शहर र पहाडी समुदायमा झन बढी देखिएकाले पण्डितको जित निश्चित रहेको एमाले नेताहरुको दाबी छ । बरिष्ठ नेता माधब नेपालले रौतहट छानेमा साविकको २ नम्बर क्षेत्रबाट पण्डित उम्मेदवार हुन सक्ने बतान्छ । नेपाल काठमाडौँबाट उम्मेदवार बन्न चाहेमा अर्को कुनै अनुकुल क्षेत्रमा पण्डितलाई उम्मेदवार बनाइने स्रोतको भनाइ छ ।

नेता पण्डितले अहिलै आफ्नो निर्वाचन क्षेत्रका बारेमा प्रतिक्रिया दिन हतारो हुने जनाए । पार्टीले दिने जुनसुकै दायित्व आफूले सकेसम्म पूरा गर्दै आएको उनको भनाइ छ । ‘पार्टीले जे गर भन्छ, त्यही गर्ने हो । म देश र पार्टीको सिपाही हुँ ।’ पण्डितले भने ।

पोखराबाट शान्ता !

सक्रिय राजनीति थालेको एक दशकमै राष्ट्रियरुपमा स्थापित हुन सफल पूर्वकम्लहरी शान्ता चौधरीलाई एमालेले पोखरबाट उम्मेदवार बनाउने चर्चा राजनीतिकवृत्तमा छ । थारुको भावना नबुझेको आरोप लागेको एमालेले चौधरी मार्फत थारु समुदायलाई जवाफ दिन चाहेको बताइन्छ । पूर्वकम्हलरीलाई थारु समुदायको बसोबास नै नभएको भने पनि हुने पोखराबाट प्रतिनिधित्व गराएर देखाउने दाउमा एमाले देखिन्छ । पहिलो संविधानसभामा समानुपातिक सभासद रहेकी शान्ता दोस्रो निर्वाचनमा दाङबाट प्रत्याशी भएकी थिइन् । प्रहरी अधिकृतसहित आठ जनाको ज्यान लिने गरी भएको टिकापूर हिंसाको उनले शक्त विरोध गरेकी थिइन् ।

१८ बर्ष कम्लहरी भएकी शान्ता सघर्षकी प्राय मानिन्छिन् ।

स्थानीय निर्वाचनको मत परिणाम हेर्दा काठमाडौँ र पोखरा दुबै शहरमा एमालेको बलियो पकड छ । पार्टी बलियो रहेको पहाडको ठाउँबाटै एमालेले तारइ मधेशका हस्ती नेतालाई उम्मेदवार बनाउने प्रसंगले नेपालको राजनीतिलाई तरंगित पार्ने देखिन्छ ।

शान्ताले आफ्नो उम्मेदवारीका बारेमा कुनै नेतासँग कुरा नभएको प्रष्टाइन् ।  ‘म चुनावमा उठ्छु कि उठ्दिन भन्ने कुरा ठूलो होइन, ठूलो कुरा त देशलाई कसरी भावनात्मकरुपमा एकता बनाउने कुरा हो । यसका लागि पार्टीले दिने हरेका भूमिकामा आफू खरो उत्रन प्रयास गर्नेछु ।’ शान्ताले भनिन् 

Shanta Chaudhary Lalbabu Pandit

विशेष