विचित्र विश्व

अदृश्य शक्तिले महिलाको कपाल काट्न थालेपछि गाँउ नै आतंकित

अदृश्य शक्तिले महिलाको कपाल काट्न थालेपछि गाँउ नै आतंकित


साउन १९ । भारतका केही स्थानमा महिलाहरु आतंकित छन् ।

बेहोस बनाएर रहस्यमय शक्तिले महिलाको कपाल काटिदिने गरेको घटना एकपछि अर्को थपिदैं गएपछि आतंक मच्चिएको हो ।

हरियाणा र राजस्थानका ५० भन्दा बढी महिलाको कपाल त्यसरी काटिएको हो । पीडित महिलाका अनुसार कसैले उनीहरुलाई बेहोस बनाएर रहस्यमय तरिकाले कपाल काटिदिएको हो ।

प्रहरीले यस विषयमा अनुसन्धान थाले पनि कपाल कसले काटेको हो भन्ने प्रष्ट हुन सकेको छैन । हरियाणा राज्यको गुडगाउँस्थित भीमगढ इलाकामा बस्दै आएकी ५३ वर्षीय सुनिता देवीले भनिन, ‘एक चम्किलो फ्ल्यास लाइटबाट म बेहोस भएँ, एक घण्टापछि मलाई थाहा भयो कि मेरो कपाल कसैले काटिसकेछ ।’
गत शुक्रबार उनीमाथि भएको सो हमलापछि आतंकित भएकी उनले भनिन, ‘त्यो घटनापछि मलाई निन्द्रा लागेको छैन । कुनै काम गर्न मन लाग्दैन । राजस्थानमा यस्तो घटना भएको मैले सुनेकी थिएँ तर यहाँ पनि यस्तो हुन्छ भन्ने मैले सोचेकै थिइनँ ।’

यस्तो ‘काल्पनिक हजाम’ को पहिलो समाचार जुलाइमा राजस्थानबाट आएको थियो । तर यस्ता खबर अब हरियाणा र दिल्लीमा पनि आउन थालेका छन् ।
अर्की एक महिला आशादेवीले पनि गत शुक्रबार नै आफ्नो कपाल गुमाइन् । आशादेवीमाथि भएको सो घटनालगत्तै उनी र परिवारका अन्य महिला सदस्यलाई उत्तर प्रदेशस्थित आफन्तको घरमा पठाइएको छ ।

 

विशेष