अभिलेख

विघटनको संघारमा नयाँ शक्ति

भट्टराई आफैले भने, ‘यस्तै हो भने पार्टी विघटन हुन्छ’

विघटनको संघारमा नयाँ शक्ति

साउन २२ । आन्तरिक विवादका कारण नयाँ शक्ति नेपाल पहिलो महाधिवेशन अघि नै विघटन हुने अवस्थामा पुगेको छ । एमालेबाट र माओवादीबाट नयाँ शक्तिमा प्रवेश गरेका नेता कार्यकर्ताहरु अहिले पुरानै घरमा फर्किन भट्टराईसँग निहूँ खोज्न थालेका छन् ।

विशेषगरी स्थानीय तहका दुवै चरणमा नयाँ शक्तिले घोर पराजय व्यहोरेपछि नेता कार्यकर्ताहरुले नयाँ शक्तिमा कुनै भविष्य नहुने भन्दै माओवादी र एमालेमा जान चाहनेहरुको संख्या अधिक छ । यसका लागि अहिले वातावरण निर्माणमा उनीहरु लागेका छन् । केही दिन अघि देवेन्द्र पौडेल, खिमलाल देवकोटा आदिले संयोजक भट्टराईसँग गरेको विवादको चुरो कुरो पनि यहि हो ।

यी मध्ये खिमलाल देवकोटा रिसाउनुको कारण अर्कै छ । देवकोटाले हालै पार्टीको प्रचार विभाग प्रमुख र प्रवक्ताबाट राजीनामा दिएका छन् । पार्टीको संघीय परिषद बैठकमा साउन ११ गते देवकोटाले पदबाट राजीनामा दिएका थिए । राजीनामा पत्रमा उनले छ वटा विषयवस्तु उल्लेख गरेका छन् । जसमा मुख्यतः उनले निर्वाचनमा भएको पराजयपछि पार्टीका संयोजक डा. बाबुराम भट्टराईले राजीनामा दिनु पर्नेमा जोड दिएका छन् । उनको यो बुँदाको फ्ल्यास ब्याक पनि छ । ७० सालको संविधानसभा चुनावमा पहिलो पार्टी माओवादीको शर्मनाक पराजय भएको थियो ।

पार्टी दुई बल्ड्याङ खाएर तेस्रोमा झरेको थियो । त्यो बेला प्रचण्डलाई नैतिकताको आधारमा राजीनामा दिन बाबुराम भट्टराई र उनको समूह खुबै भिडेको थियो । त्यो बेला बाबुराम भट्टराईको तर्क थियो–पार्टीले चुनावमा असफलता पाएपछि अब नेतृत्वले नैतिकताको आधारमा पदबाट राजीनामा दिनु पर्छ । तर प्रचण्डले राजीनामा दिएनन् । त्यही बेलादेखि बाबुरामले नयाँ शक्तिको अवधारणा हुर्काउन थालेका थिए ।

चार वर्षपछि आइपुग्दा प्रचण्डसँग आफैले गरेको दबाब बाबुरामलाई अहिले महंगो पर्ने भएको छ । किनकी अहिले उनलाई पनि पदबाट राजीनामा गर्न देवेन्द्र पौडेल, रामचन्द्र झा, खिमलाल देवकोटालगायतले दबाब दिइरहेका छन् ।

नयाँ शक्तिको यो कचिंगल झिक्नेहरुको पनि आ आफ्नै स्वार्थ छ । खिमलालको असन्तुष्टिको चुरो कुरा भने यो होइन । खासमा नयाँ शक्तिको कार्यालयमा खिमलालको आफ्नै बेग्लै कोठा थियो । ढोकामा नेमप्लेट पनि थियो । कोठामा उनका लागि टेबुल कुर्सी, आगन्तुकहरुकालागि कुर्सी आदि व्यवस्था थियो । तर चार महिना अघि जब देवकोटा अफिस पुगे, त्यहाँ देखे अनौठो दृष्य । आफ्नो कोठा त अर्कैको भइसकेछ । आफ्नो कोठा आफैलाई नसोधी खाली गराउने कसले रहेछ भन्ने खोज्दै जाँदा त्यो काम बाबुरामका सेवक विश्वदीप पाण्डेले गरेका रहेछन् । त्यसपछि धेरै अपमानबोध भएर खिमलाल नयाँ शक्ति पार्टी जान नै छाडिदिए । उनी पार्टी कार्यालय वैशाख यता गएका छैनन् । उनलाई पार्टी कार्यालय देख्दा पनि अपमानित भएको महशुस हुन थालेको नयाँ शक्तिका नेता कार्यकर्ताले कानेखुसी गर्न थालेका छन् ।

यहि अपमानका कारण उनले संघीय परिषद बैठकमा ६ बुँदे प्रस्ताव पेश गरेका छन् । उनले भनेका छन् कि ‘सबैलाई पद नै प्यारो हुने भए मेरो भन्नु केही छैन । मलाई पदको लोभ छैन । मैले पार्टीले दिएको पद त्याग गर्छु । एक साधारण सदस्य मात्रै भएर काम गर्नेछु ।’

विषय खिमलालको असन्तुष्टिको कुरा मात्रै होइन । नयाँ शक्तिका लागि अर्का समस्या अहिले देवेन्द्र पौडेल पनि बनेका छन् । पौडेल अहिले माओवादीमा फर्किने सोचमा छन् । यसकैको वातावरण बनाउनका लागि उनले पार्टी संयोजक बाबुराम भट्टराईलाई दबाब दिए । उनले सहसंयोजकको पद मागे । भट्टराईले उनीसहित चारजनालाई सहसंयोजक बनाए पनि । पौडेलले यसो गर्नुको कारण चाहीँ पार्टीमा दोस्रो वरियतामा रहने र माओवादीमा फर्किँदा त्यो पदका आधारमा बार्गेनिङ गर्ने । तर जब सहसंयोजक तोकिएको विषयमा पार्टीभित्र सम्हाल्न नै नसकिने गरी विरोध हुन थाल्यो, अनि पौडेल आफैले फेसबुकमा म पदको भोको छैन, सहसंयोजक चाहिँदैन भनेर लेखे ।

संघीय परिषदको बैठकले महाधिवेशनका लागि आयोजक समिति बनाउने, ९९ भन्दा बढी सदस्य नराख्ने जस्ता म्यान्डेट दिएको थियो । पौडेल समूहको दबाबले नै सो म्यान्डेट विपरीत रामचन्द्र झा, दूर्गा सोब, पर्शुराम खापुङसहितलाई सहसंयोजक तोकिएको थियो ।

उता नेकपा माओवादी केन्द्रको बैठकमा पनि स्थानीय तहको निर्वाचनमा पार्टीको पराजयको कारण फूट हो भन्ने निष्कर्ष निकालिएको थियो । अनि त्यही भएर माओवादीले मोहन बैद्य, नेत्रविक्रम चन्द, बाबुराम भट्टराईको पार्टीहरुसँग एकताका लागि पहल गर्ने औपचारिक निर्णय गरेको थियो । यहि भएर अहिले देवेन्द्र पौडेले माओवादीले समेत एकताकालागि हात बढाएको अवस्थामा एकता गर्नुपर्छ भनेर पार्टीमा दबाब दिन थालेका छन् । पौडेल निकट स्रोतका अनुशार नयाँ शक्ति माओवादीसँग मिले पनि नमिले पनि पौडेल आफू भने केही कार्यकर्ता लिएर माओवादीमा फर्किने तयारीमा छन् । यो मिसनलाई अन्तिम रुप दिन केही दिन अघि पौडेल बाबुराम भट्टराईको विपक्षमा खुलेरै उत्रिएका थिए ।

भट्टराई आफैले भने, ‘यस्तै हो भने पार्टी विघटन हुन्छ’

साउन १९ मा प्रदेशको संयोजक तोक्ने, महाधिवेशन आयोजक समिति बनाउने भनेर बैठक आयोजना गरिएको थियो । तर नेताहरु यसरी तल्लो तहमा उत्रेर बेतुकका तर्क गर्न थाले कि मूल विषय नै ओझेलमा पर्न थाल्यो । विना एजेन्डा, विना कारण नै सबै नेताहरु अन्टसन्ट बोलेर ‘यस्तै हो भने म छाड्छु’ भन्न थाले । एक एक गरेर सबैले सभा हल छाडे । अवस्था यस्तो आयो कि अन्तिममा बाबुरामसँग जम्मा ११ जना मात्रै बाँकी रहे । त्यसपछि बाबुरामले बडो निराश भएर भने, ‘यो पार्टी अब बन्दैन । एक वर्षमा विघटन हुन्छ ।’

नयाँ शक्तिमा कोही माओवादीबाट आएकाहरु छन् कोही एमालेबाट आएकाहरु छन् । एमाले छाडेर आएकाहरु प्रचण्डको योजनाअनशार पार्टीमा भाँडभैलो भएको दाबी गरिरहेका छन् । प्रचण्डसँग पैशा, षडयन्त्रकारी दिमाग, जंगबहादुर शैलीका कार्यकर्ता छन् ।

उनले नयाँ शक्तिमा खेलेको दावी एमालेबाट जानेहरुको निष्कर्ष छ । अहिले खिमलाल देवकोटा, देवेन्द्र पौडेल कुनै पनि बेला माओवादीमा फर्किन सक्छन् भन्ने चर्चा नयाँ शक्ति वृत्तमा छ । रामचन्द्र पौडेललाई भने नेकपा एमालेले नै फर्काउन खोजेको बताइन्छ । रामकुमार शर्मा तमलोपाबाट माओवादीमा प्रवेश गरेका हुन् । उनी पनि माओवादीमा फर्किने सम्भावना बढीरहेको छ । तमलोपा आफै अहिले राजपा नेपाल बनेको छ । राजपाको राजनीतिक भविष्य मोहन बैद्यको जस्तै धरापमा पर्ने आँकलन गरिएको छ । यसकारण पनि उनी माओवादीमा फर्किने अनुमान बलियो देखिन्छ ।

विशेष