अर्थ मुख्य समाचार देश

पहिरो पीडितलाई पाँच लाख दिने गृहमन्त्रीको घोषणा

पहिरो पीडितलाई पाँच लाख दिने गृहमन्त्रीको घोषणा

साउन २२ । रामेछापको खिम्तीमा गएको पहिरोबाट विस्थापित भएका परिवारलाई स्थायी आवास निर्माणको लागि सरकारले पाँच लाख रुपैया सहयोग गर्ने भएको छ । पहिरो पिडितको अवस्था नाजुक भएको र बस्ने ठाउँको समेत समस्या भएको जनगुनासो बढेपछि शनिबार गृहमन्त्री जर्नादन शर्मा स्थलगत निरिक्षणका लागि आउने क्रममा त्यस्तो घोषणा गरेका हुन ।

निरिक्षणपछि गृहमन्त्री शर्माले बाढी पहिरोले घर बगाएका तीन परिवार तथा बिस्थापित भएका परिवारजनलाई स्थायी आवास निर्माणका लागि आर्थिक सहयोगको घोषणा गरेका हुन । मन्त्री शर्माले पीडित परिवारलाई घडेरी खरिदका लागि दुई लाख र घर निर्माणका लागि तीन लाख गरी पाँच लाखका दरले सहयोग दिने बताए ।

निरिक्षणकै बेला मन्त्री शर्माले बाढी पहिरोमा परी ज्यान गुमाएका परिवारलाई एक लाख तथा अन्य १० बिस्थापित परिवारलाई १० हजारका दरले राहत समेत बितरण गरेका थिए । बाढीवाट घर बगेका र बिस्थापित भएका सवै परिवारलाई तत्कालीन राहत वापत २५ हजारका दरले रकम दिने मन्त्री शर्माले जानकारी दिए ।

असार ३१ गते गोकुलगंगा र लिखु गाउँपालिकाको सिमाना भएर बग्ने छतवनी खोलामा आएको बाढीले तीन घर पुरिदा दुई जनाको मृत्यु हुनाका साथै तीन जना बेपत्ता भएका थिए । बेपत्ता भएकाहरु अहिलेसम्म फेला पर्न सकेको छैन । बेपत्ताभएकाहरु फेला पर्न नसकेपछि स्थानीय प्रशासनले उनीहरुलाई पनि मृतकको सूचीमा राखेको छ ।

गृहमन्त्री शर्माले बाढी पहिरो प्रभावित खिम्तिको स्थलगत अवलोकन गरी असुरक्षित घर र बस्तीलाई सुरक्षित गर्न स्थानीय प्रशासनलाई निर्देशन पनि दिएका छन् ।

मन्त्री शर्माका साथमा रामेछाप क्षेत्र नम्बर २ का साँसद स्यामकुमार श्रेष्ठ, पूर्व सभासद तारानारायण श्रेष्ठ,रामेछापका प्रमुख जिल्ला अधिकारी सुर्यवहादुर खत्री सहितकाअधिकारीहरु खिम्ति पुगेका थिए ।

पहिरो निरिक्षणको लागि खिम्ती पुगेका गृहमन्त्री शर्मालाई पहिरो पिडित कृष्णा तामाङले आफुहरुको जीविकोपार्जनको लागि सहयोग गर्न अनुरोध गरेकी छन् । बाढीले आफ्नो श्रीमान र छोरीलाई बगाउनुको साथै खेती गर्दै आएको खेत समेत बगाएपछि आफुहरु सुकुम्बासी भएको उनले बताइन । आफु विरामी रहेको र घरमा कमाउने मान्छे समेत नभएकोले आफ्ना एक छोरा र दुई छोरीको अवस्था नाजुक भएको गुनासो उनले गरेकी छिन् । टाउँको र पेटको विरामी कृष्णालाई श्रीमानले उपचारको लागि राजधानी लैजाने तयारी गरेका थिए । बाढीले श्रीमानलाई बगाइदिएपछि उनको उपचार हुन सकेको छैन ।

विशेष