राजनीति

राजपासँग तालमेल गर्ने एमालेको योजना

राजपासँग तालमेल गर्ने एमालेको योजना

काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेले प्रदेश २ को स्थानीय तह चुनावमा कांग्रेसबाहेक कुनै पनि राजनीतिक शक्तिसंँग तालमेल प्रयास थालेको छ ।

प्रारम्भिक तयारीका लागि त्यस क्षेत्रमा पुगेका केन्द्रीय नेताहरूले स्थानीय आवश्यकताअनुसार सबै दलसँग तालमेलको ढोका खुला गर्नुपर्ने निष्कर्ष निकालेका छन् । सम्बन्ध तिक्त रहेको राष्ट्रिय जनता पार्टीसंँग तालमेल गर्ने एमालेको पहिलो प्राथमिकता छ । त्यहीअनुसार एमाले नेताहरूले सम्बन्ध सुधार्ने प्रयास तीव्र पारेका छन् ।

प्रदेश २ मा पार्टीको स्थिति मजबुत रहेको र पहिलो स्थान नै हासिल गर्ने सम्भावना रहेको ती नेताहरूले केन्द्रलाई रिपोर्टिङ गरेका छन् ।

‘राजपाले चुनावमा आउने-नआउने अझै स्पष्ट गरिसकेको छैन तर उसलाई चुनावमा ल्याउनुपर्छ भनेर हामी पनि लागिरहेका छौं,’ प्रदेश २ को चुनावी माहोल बुझेर फर्केका एमाले सचिव प्रदीप ज्ञवालीले भने, ‘चुनावमा आउने भयो भने स्थानीय आवश्यकताअनुसार राजपासँग पनि तालमेल गरेर जान सकिन्छ ।’

प्रमुख प्रतिस्पर्धी दल भएकाले कांग्रेससँगको तालमेलको सम्भवना नरहेको तर अन्य जुनसुकै दलसँंग मिल्ने सक्ने एमालेको धारणा छ । राजपासंँगको सम्बन्ध सुधारका लागि एमाले नेताहरूले उनीहरूसँग औपचारिक छलफल जारी राखेका छन् ।

कान्तिपुर

विशेष