आयोगले सोध्यो उपप्रधानमन्त्री गच्छदार र राज्यमन्त्री पुनसँग २४ घन्टे स्पष्टीकरण
काठमाडौं । निर्वाचन आयोगले उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारसँग निर्वाचन आचारसंहिता उल्लंघनका विषयमा २४ घन्टे स्पष्टीकरण सोधेको छ ।
आयोगको शनिबारको बैठकले उपप्रधानमन्त्री गच्छदारसँगै जलस्रोत राज्यमन्त्री अमरसिंह पुनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । नेपाल लोकतान्त्रिक फोरमका अध्यक्षसमेत रहेका गच्छदारले पर्साको वीरगन्जमा गाडी तथा मोटरसाइकलको र्याली निकालेर निर्वाचन आचारसंहिता उल्लंघन गरेको ठहर आयोगले गरेको हो ।
राज्यमन्त्री पुनले भने बाराको जितपुर–सिमरा उपमहानगरपालिका फत्तेपुरमा नेपाली कांग्रेसका कार्यकर्तालाई सरकारी गाडीमा राखेर निर्वाचन प्रचार–प्रसार गर्दै हिँडेकोमा स्पष्टीकरण सोधिएको हो ।
यसैगरी, आयोगले नेपाल लोकतान्त्रिक फोरमका वीरगन्ज महानगरका मेयरका उम्मेदवार विमल श्रीवास्तवलाई पनि २४ घन्टाभित्र स्पष्टीकरण दिन भनेको छ ।