राजनीति मुख्य समाचार

मन्त्रिपरिषद् अझै विस्तार हुन्छः देउवा

मन्त्रिपरिषद् अझै विस्तार हुन्छः देउवा

विराटनगर । इतिहासकै सबैभन्दा ठूलो आकारको मन्त्रिमण्डल बनाएको भनेर आलोचना भइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउबाले आवश्यकताअनुसार अझै मन्त्रिमण्डल विस्तार हुन सक्ने बताएका छन् ।

चुनावी कार्यक्रममा सहभागी हुन २ नम्बर प्रदेशका जिल्लामा जाने क्रममा विराटनगर पुगेका प्रधानमन्त्री देउवाले विमानस्थलमा सञ्चारकर्मीहरुसित यस्तो बताएका हुन् । देउवाको नेतृत्वमा रहेको वर्तमान सरकारको मन्त्रिमण्डल ५४ सदस्यीय पुगेको छ । उनले २०५२ सालमा आफैंले बनाएको ४८ सदस्यीय ‘जम्बो मन्त्रिपरिषद्’को रेकर्डलाई तोड्दै छैटौं पटकको विस्तारमा इतिकासकै सबैभन्दा ठूलो आकारको मन्त्रिपरिषद् बनाएका छन् ।

 अनावश्यक संख्या राखेर ठूलो मन्त्रिमण्डल बनाउँदा चौतर्फी आलोचना भइरहेको छ नि भन्ने सञ्चारकर्मीको जिज्ञासमा प्रधानमन्त्री देउवाले भने, ‘यति गर्दा पनि अझै धेरैलाई मन्त्री पुगेको छैन, आवश्यकता परे विस्तार गर्नुपर्ने अवस्था छ ।’

निर्वाचन आयोगले मन्त्रिमण्डल विस्तारको काम निर्वाचन आचारसंहिताविपरीत भयो भनेको सन्दर्भमा ध्यानाकर्षण गराउँदा प्रधानमन्त्री देउवाले विस्तार गरिसकेकाले अब यो निर्णय फिर्ता हुने अवस्था नरहेको बताए । निर्वाचन आयोगले फिर्ता गर्न नभनेको पनि उनले उल्लेख गरे ।

तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेलगत्तै निर्वाचन आयोगले विज्ञप्ति जारी गरी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आचारसंहिताविपरीत सरकार विस्तार भएको जनाएको थियो । आयोगले भदौ १५ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई सात बुँदे निर्देशन दिंदै नेपाल सरकारबाट कुनै पनि सुविधा हुने पद तथा निकायमा राजनीतिक नियुक्ति नगर्न निर्देशन दिएको थियो । आयोगले मन्त्रिपरिषद् विस्तार कार्यले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनमा असर पर्न सक्ने भएकाले त्यस्ता कार्य नगर्न ध्यानाकर्षण गराएको थियो ।

सरकारले निर्वाचन आचारसंहिता उल्लंघन नगरेको दाबी प्रधानमन्त्री देउवाको थियो । सरकारलाई अप्ठेरो परेपछि निर्वाचन आयोगसँग सहमति लिएर काम गर्ने प्रचलन पहिल्यैदेखि रहेको भन्दै उनले आफूले पनि सहमति लिएरै काम गरेको दाबी गरे ।

आयल निगममा भएको भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्नेबारे छानबिन भइरहेको भन्दै प्रधानमन्त्रीले छानबिन प्रतिवेदनका आधारमा सरकारले थप प्रक्रिया अघि बढाउने बताए ।

अर्को प्रसंगमा प्रधानमन्त्रीले संविधान संशोधनको प्रस्ताव संसद्‌मा फेल भए पनि अब चुनावपछि फेरि प्रस्तुत गरिने उल्लेख गरे । सरकारले मधेसी जनताको भावना कदर गर्ने जनाउँदै उनले संविधान लचिलो दस्तावेज भएकाले यसमा जहिले पनि संशोधन गर्न सकिने बताए ।

पार्टीमा उपसभापति नियुक्तिमा ढिलाइबारे कांग्रेस सभापति समेत रहेका देउवाले खासै प्रस्ट जवाफ दिएनन् । काम गर्दै जाँदा ढिलो हुन सक्ने भन्दै उनले भने, ‘अब नियुक्ति छिट्टै हुन्छ ।’ विमलेन्द्र निधिलाई कार्यवाहक अध्यक्ष दिएको विषयमा पार्टीभित्रै विरोध भएकोप्रति ध्यानाकर्षण गराउँदा देउवाले आफूले विधि र प्रक्रिया नमिचेको दाबी गरे ।

स्थानीय तह तेस्रो चरणमा हुने गइरहेको प्रदेश नम्बर २ को निर्वाचनमा कांग्रेस पहिलो स्थानमा आउने दाबी पनि उनले गरे ।

विशेष